काठमाडौं– दुई चरणमा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहेको छ । मतगणना चल्दै गर्दा विभिन्न दलका हेभिवेट उम्मेदवारहरु पराजित बन्न पुगेका छन् ।
बामदेव गौतम
नेकपा एमालेका प्रभावशाली नेता, पूर्व गृहमन्त्री तथा बाम गठबन्धनका सूत्राधार बामदेव गौतम समेत बर्दिया क्षेत्र नं. १ बाट पराजित भएका छन् ।
उनको यो पराजयलाई अप्रत्याशित रुपमा लिइएको छ । उनी वर्तमान सिंचाई मन्त्री समेत रहेका सञ्जयकुमार गौतमसँग ७ सय ७५ मतले पराजित भएका हुन् । सञ्जयले ४४ हजार ८ सय २९ मत ल्याँउदा गौतमले ४४ हजार ७६ मत ल्याए ।
रामचन्द्र पौडेल
तनहुँ क्षेत्र नंं. १ को प्रतिनिधीसभा निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भएका हुन् । झन्डै ४५ सय मतान्तरले एमालेका उम्मेदवार किसानकुमार श्रेष्ठले पौडेललाई पराजित गरेका हुन् । विजयी भएका श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याएका छन् भने पौडेलले २७ हजार ६ सय ७५ मत ल्याएका छन् । पार्टी सभापति र प्रधानमन्त्रीका आकांक्षी रहेका पौडेलको सपनामा यो चुनावले पूर्णबिराम लगाइदिएको छ ।
आरजु राणा देउवा
कैलाली क्षेत्र नं. ५ बाट प्रधानमन्त्री शेरबहादुर पत्नी आरजु राणा पराजित भएकी छिन् । उम्मेदवारी दिएलगतै धनगढीमा ३ करोडको घर किनेर चुनावी प्रचारमा जुटेकी राणालाई एमालेका उम्मेदवार नारदमुनी रानाले पराजित गरेका हुन् । रानाले २७ हजार २ सय २ मत ल्याए भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत ल्याएकी थिइन् ।
डा. रामशरण महत
पटक पटक अर्थमन्त्री समेत बनेका र नुवाकोटबाट अविछिन्न रुपमा जित हासिल गर्दै आएका नेपाली कांग्रेसका नेता डा. रामशरण महतले यसपटको प्रतिनिधी सभाको निर्वाचनमा हार बेहोर्नु परेको छ । उनले नुवाकोपट क्षेत्र नं. १ बाट माओवादीका हितबहादुर तामाङ सँग ९ हजार मतान्तरले पराजित भएका हुन् । तामाङले ३६ हजार ४ सय ७३ मत ल्याँउदा महतले २७ हजार ९ सय २० मत पाएका हुन् ।
विमलेन्द्र निधि
धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधीसभाको निर्वाचनका लागि प्रतिष्पर्धामा रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता बिमलेन्द्र निधी राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोसँग पराजित भएका हुन् । निधी महतोसँग २९ सय मतान्तरले पराजित भएका हुन् । निधीले २७ हजार ८ सय ४७ मत ल्याँउदा महतोले ३० हजार ७ सय ५० मत ल्याएका थिए ।
दमननाथ ढुङ्गाना
भक्तपुर क्षेत्र नं.२ मा बाम गठबन्धनका उम्मेदवार महेश बस्नेतले नेपाली कांग्रेसका पूराना नेता दमननाथ ढुङ्गानालाई भारी मतले पराजित गरेका छन् । एमालेका यूवा नेता बस्नेतले ३६ हजार ४ सय १३ मत ल्याएर बिजयी भएका हुन् । पराजित भएका ढुङ्गानाले १८ हजार ६ सय ३५ मत ल्याएका छन् ।
कमल थापा
मकवानपुर क्षेत्र नं. १ बाट राप्रपा अध्यक्ष कमल थापा पराजित भएका छन् । एमालेका कृष्ण दाहालले ४० हजार ६ सय ३१ मत ल्याँउदा थापाले ३४ हजार ६ सय ५८ मत ल्याएर पराजय भोगेका हुन् ।
कृष्णप्रसाद सिटौला
झापा क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री समेत कृष्णप्रसाद सिटौला राप्रपाका उम्मेदवार राजेन्द्र लिङदेनबाट पराजित भएका छन् । बाम गठबन्धनबाट सहयोग पाएका लिङदेनसँग सिटौला एक्लै चुनाव लडेका थिए । आइतबार सम्पन्न मत परिणाम अनुसार लिङदेनले ४४ हजार ६ सय १४ मत ल्याएका थिए भने सिटौलाले ३१ हजार १ सय ५६ मत ल्याएर पराजि त भएका थिए ।
विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका चर्चित यूवा नेता विश्वप्रकाश शर्मा झापा क्षेत्र नं. १ बाट पराजित भएका छन् । माओवादीका नेता राम कार्कीसँग उनले पराजय भोगेका हुन् । कार्कीले ३६ हजार १ सय ७३ मत ल्याउर जितको झन्डा गाडेका थिए भने शर्माले ३३ हजार ३ सय १० मत ल्याएर पराजित भएका थिए ।
अर्जुन नरसिंह केसी
नुवाकोट क्षेत्र नं. २ मा बाम गठबन्धनका उम्मेदवार एमालेका नेता नारायण खतिवडासँग नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी पराजित भएका छन् । उनी १० हजार मतान्तरले पराजित भएका हुन् । खतिवडाले ३६ हजार ८ सय ९२ मत पाँउदा केसीले २६ हजार ३ सय ३५ मत पाएका थिए ।
खगराज भट्ट
डडेल्धुराबाट प्रतिनिधीसभाको निर्वाचनमा माओवादी केन्द्रका नेता खगराज भट्ट पराजित भएका हुन् । उनी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग झन्डै ७ हजार हाराहारी मतले हार्न पुगेका हुन् । देउवा २८ हजार ४४ मत पाएर विजयी भए भने भट्टले २१ हजार १ सय १५ मत ल्याएका छन् । यो क्षेत्रमा देउवाले २०४८ सालदेखि निरन्तर रुपमा विजयी हुँदै आइरहेका छन् ।
दीपकुमार उपाध्याय
भारतका लागि पूर्व राजदुत समेत रहेका नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय कपिलबस्तु क्षेत्र नं. १ बाट पराजित भएका छन् । बाम गठबन्धनबाट प्रतिष्पर्धामा रहेका माओवादी केन्द्रका नेता चक्रपाणी खनाल बलदेवसँग उपाध्याय पराजित भएका हुन् । खनालले २९ हजार ७ सय ९९ मत ल्याएका छन् भने उपाध्यायले २८ हजार ८ सय ५३ मत ल्याएका छन् ।

सम्बन्धित खबर
प्रधानमन्त्रीले शुभकामना दिँदै फेसबुकमा लेखे : सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्
नयाँ वर्षको शुभकामना दिँदै रविले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ
सुरक्षित र समृद्ध नेपालका लागि पाको अनुभव र नवयुवाको ऊर्जाबीच सहकार्य आवश्यक: ओली
भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्ले लगायो ताला
पार्टी सदस्यता कुनै नेताको आवेग, लहडमा भाषणमार्फत् खारेज गर्ने विषय होइन : खड्का
नयाँ वर्षमा पूर्वराजा ज्ञानेन्द्रको शुभकामना सन्देश, बालेन्द्र साह सरकारप्रति नरम
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी