वीरगन्जको सुपर ग्यास उद्योगमा भीषण आगलागी, २ अग्नीनियन्त्रक मृत्यु, दमकल नै जल्यो [भिडियाे]

वीरगन्जको सुपर ग्यास उद्योगमा भीषण आगलागी, २ अग्नीनियन्त्रक मृत्यु, दमकल नै जल्यो [भिडियाे]

fire-2-20122017092402

पुस ५ / वीरगन्ज महानगरपालिका–२२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा भीषण आगो लागेको छ ।

आगलागीमा परी दुईजना अग्नि नियन्त्रकको मृत्यु भएको छ । जलेर गम्भीर घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ । ग्यास उद्योग नजिक रहेको बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

उद्योगमा ग्यास लिक भएर बुधबार बिहान सवा ६ बजेतिर आगलागी भएको हो । आगलागीमा परी दुई जना अग्नि नियन्त्रकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए । उनीहरुको पहिचान खुलेको छैन ।

https://www.facebook.com/kantipuronline/videos/1295021817311308/

आगलागी हुँदाखेरि उद्योगभित्र कति मानिस थिए भन्ने एकिन भएको छैन । आगो नियन्त्रणका लागि गएको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । दमकल जल्दा त्यसका फायर म्यान सविन नेपाल घाइते भएका छन् ।

ग्यास सिलिण्डरहरु र ग्यास प्लान्ट पड्किरहेकाले अग्नि नियन्त्रकहरु नजिक जान सकेका छैनन् । नेपाली सेना, नेपाल प्रहरीहरु पनि करिब पाँच सय मिटर परै रोकिएका छन् । स्थानीयबासीलाई पनि नजिक जान दिइएको छैन ।

ग्यास लिक भएको खबर पाउनासाथ दमकल उद्योगमा पुगेको र पानी फाल्न मेशिन स्टार्ट गर्नासाथ आगो लागेको प्रहरी हबल्दार ब्रहृमनारायण जैसवालले बताए ।

आगलागी फैलने जोखिम बढेपछि ग्यास उद्योगभन्दा करिब ५ सय मिटर टाढा रहेको बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । वरपर रहेका अन्य उद्योगहरुमा पनि सतर्कता अपनाइएको छ । जनधनको क्षति हुन नदिनका लागि प्रहरीले माइकिङ गरेर वरिपरीको बस्तीलाई खाली गराइरहेको छ ।

बिहान ६ बजेदेखि आगलागी भएपनि यो नियन्त्रणमा आएको छैन । आगो निभाउन गएको दमकल आफैं आगोको चपेटामा परी जलेको छ ।  आगलागी भएसँगै त्यहाँ पुगेको विरगन्ज महानगरपालिकाको एउटा दमकलले आगो निभाउने प्रयास गरेको थियो तर आगो निभाउन गएका २ जना दमकलका कर्मचारीहरु मधुसुदन मिश्र, यादवप्रसाद अधिकारी सम्पर्कविहीन रहेका छन् भने चालक अरुणकुमार महतो र फायरम्यान सञ्जीवकुमार नेपाल घाइते छन् ।

उनीहरुको उपचार भइरहेको छ । दमकलका निमित्त इन्चार्ज शेरबहादुर कार्कीले २ जना अग्नीनियन्त्रक सम्पर्कविहिन रहेको पुष्टी गरेका छन् । पर्साका एसपी गणेश रेग्मीका अनुसार बुलेटबाट ग्यास लिक भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागी नियन्त्रण गर्नका लागि वीरगन्जमा रहेको भारतीय महावाणीज्य दूतावासको कार्यालयको समन्वयमा भारतको रक्सौलस्थित भारतीय आयल कर्पोरेसन (आइओसी)को डिपोबाट पेट्रोलियम पदार्थमा लागेको आगो निभाउने उपकरण तथा केमिकलहरु ल्याइँदै छ । यस्तै बाराको सिमरामा रहेको विमानस्थलबाट पनि वरुणयन्त्र मगाइएको छ ।

अहिले त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली त्यहाँ पुगेको छ । प्रत्यक्षदर्शीहरुका अनुसार त्यहाँ नजिकै जान सक्ने अवस्था छैन र समय समयमा विष्फोट पनि भइरहेको छ ।

त्यहाँ परिचालित सुरक्षाकर्मीका अनुसार अागलागीको समयमा त्यहाँ कतिजना कामदार र कर्मचारी थिए भन्ने यकिन भएको छैन । यस्तै समय समयमा त्यहाँ राखिएकाे सिलिन्डर विष्फोट भइरहेकोले नजिक गएर उद्दार गर्न सकिने अवस्था पनि छैन।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ