कांग्रेसले प्रधानमन्त्री बन्न प्रचण्डलाई प्रस्ताव गरेको चर्चाका माझ राजपा पनि सहमत !

कांग्रेसले प्रधानमन्त्री बन्न प्रचण्डलाई प्रस्ताव गरेको चर्चाका माझ राजपा पनि सहमत !

KP Prachanda

११ पुस । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलका एक सदस्यले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भावी सरकारको नेतृत्व गर्न अग्रसर भएमा उनलाई सघाउन तयार रहेको बताएका छन्।

वामपन्थी गठबन्धनभित्र खिचलो बढिरहेको र नेपाली कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बन्न आग्रह गरेको भन्ने समाचारका माझ उनको त्यस्तो धारणा आएको छ। पार्टी एकीकरण गर्ने लक्ष्यका साथ गठबन्धन बनाएका नेकपा एमाले र माओवादी केन्द्रका नेताबाट शक्ति बाँडफाँटबारे फरक-फरक मत आइरहेका बेला भावी सरकार गठनबारे अन्योल बढेको देखिन्छ।

वामपन्थी गठबन्धन फुट्ने र फुटाउने प्रयासबारे पनि चर्चा जारी छ। तर एमाले बाहेकको सरकारको नेतृत्व गर्न प्रचण्ड तयार भएमा कांग्रेससँगै तराई केन्द्रित दलहरुको पनि समर्थन अनिवार्य हुनेछ।

राजपा अध्यक्ष मण्डलका एकजना सदस्य अनिल झाले भने, “विगतमा विभिन्न कारणले प्रचण्डसँग सम्बन्ध रहने-टुट्ने गरेको छ। तर यो देशमा पहाडी समुदायका सबै राष्ट्रिय नेताभन्दा मधेशी, आदिवासी-जनजाति, दलित, समावेशी र संघीयताको निम्ति उहाँ उदार नेता हो। उहाँलाई हामीले सहयोग गर्नुपर्छ।”

संघीय समाजवादी फोरम नेपालको सहयोग पनि अनिवार्य हुनेछ। उसले वामगठबन्धन टुट्ने सम्भावना कमजोर देखेको छ। त्यस्तो चर्चाका माझ फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीबीच शनिवार भेटवार्ता भएको थियो।

भेटमा ओलीले आफ्नो नेतृत्वको भावी सरकारमा समर्थन खोजेको फोरम नेपालको बुझाइ पाइन्छ। तर विगतमा एमालेले अस्वीकार गर्दै आएका कतिपय विषय उसको शर्त छ।

फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ भन्छन्, “नयाँ प्रदेश निर्माण र प्रदेश सीमाङ्कन हेरफेर गर्न सकिने गरी संविधान संशोधन गर्न तयार हुने शक्तिसँग सहकार्य गर्न र सरकारमा सहभागी हुन हामी तयार छौं।”

कतियले फोरमसँगको ओलीको संवादलाई नयाँ सत्ता समीकरण रोक्ने प्रयासको रुपमा लिएको पाइन्छ। माओवादी केन्द्रका नेताले भने उक्त भेटलाई आफूसँग सहकार्य हुन नसके पनि सरकार गठन गर्ने एमालेको अग्रसरताको रुपमा लिएको खबर प्रकाशमा आएको थियो।

तर त्यस्तो शंका गरेका भनिएका प्रचण्डले तत्काल त्यसको खण्डन गरेका छन्। उनी निकट नेता हरिबोल गजुरेलले वामपन्थी गठबन्धनभन्दा बाहिरबाट समर्थन लिएर प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना अस्वीकार गरेका छन्।

BBC

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ