यस्तो छ प्रदेश प्रमुखको इतिहास, अनुराधा कोइराला विवादमा !

यस्तो छ प्रदेश प्रमुखको इतिहास, अनुराधा कोइराला विवादमा !

Province-Chief

पोखरा, ३ माघ । सरकारले पार्टीगत सहमति खोजेपनि सहमति हुन नसकेपछि बुधबार प्रदेश राजधानी र प्रदेशप्रमुख तोकेको छ । यसमा नेकपा एमाले र माओबादी केन्द्र बाहिरै छन् । प्रदेशप्रमुख मध्ये ५ जना काँग्रेसको कोटाबाट परेका छन् भने २ जना मधेशकेन्द्रित दलको भागमा परेको छ ।

कांग्रेसको सिफारिसमा पर्नेहरुमा प्रदेश १ का गोविन्द सुब्बा, ३ का अनुराधा कोइराला, ४ का बाबुराम कुँवर, ६ का दुर्गा खनाल र ७ का मोहनराज मल्ल हुन् । संघीय समाजवादी फोरमको सिफारिसमा प्रदेश २ का रत्नेश्वरलाल कायस्थ र राष्ट्रिय जनता पार्टीको सिफारिसमा उमाकान्त झा प्रदेश प्रमुख तोकिएका हुन् ।

प्रदेश प्रमुखको योग्यताका लागि राजनीति नगरेको हुनुपर्ने भनिएपनि दलिय सहानुभूति राख्ने अनुहारहरु नै प्रदेश प्रमुख तोकिएका छन् । प्रदेश १ प्रमुख सुब्बा धनकुटाका स्थायी निवासी र अंग्रेजी विषयका प्राध्यापक हुन् । अखिल राजनीति गरेका उनी पछि कांग्रेस निकट मानिन्छन् । प्रदेश २ का प्रमुख कायस्थ पूर्व सचिव, योजनाका आयोगका पूर्व सदस्य र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका (स्टाफ कलेज)का प्रमुख रहिसकेका व्यक्ति हुन् । प्रदेश ३ कि प्रमुख कोइराला माइती नेपालकी संस्थापक अध्यक्ष हुन् । चेलीवेटी वेचविखन विरुद्धको उनको अभियान र कार्य अन्तर्राष्ट्रियस्तरमा चर्चित छ ।

प्रदेश ४ का प्रमुख कुँवर पूर्व महान्यायाधीवक्ता हुन् । उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता थिए । उनी अर्घाखाँचीका स्थायी निवासी हुन् । प्रदेश ५ का प्रमुख झा पूर्व सचिव र खिलाराज रेग्मीको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री थिए । प्रदेश ६ का प्रमुख खनाल केही समय शिक्षण पेशामा थिए । पछि उनी कांग्रेसको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका थिए । प्रदेश ७ का प्रमुख मल्ल पूर्व राष्ट्रिय पञ्चायत सदस्य र परराष्ट्र सहायक मन्त्री बनेका व्यक्ति हुन् । प्रदेशप्रमुख तोकिएपछि अव प्रदेशका कामकाज तत्कालै सुरु हुने सरकारले जनाएको छ ।

अनुराधा कोइराला विवादमा !

संविधानले केही पदहरुबारे विशिष्ट व्यवस्था गरेको छ । संविधानको धारा २८९ मा विभिन्न १० वटा पदमा निर्वा्चित, मनोनित वा नियुक्त हुन बंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्छ भन्ने प्रष्ट व्यवस्था छ, त्यसमा प्रदेश प्रमुख पनि छ ।

संविधानअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र सुरक्षा निकायका प्रमुखहरुमा अंगीकृत नागरिकहरु नियुक्त हुन सक्दैनन् ।

अनुराधा कोइराला माइती नेपालकी संस्थापक हुन् । माइती नेपालका अनुसार १४ अप्रिल १९४९ कर्नेल प्रतापसिंह र लक्ष्मी गुरुङको कोखबाट अनुराधाको जन्म भएको हो । र, उनले आफ्नो प्रारम्भिक शिक्षा भारतको कालिङपोङमा पूरा गरेकी हुन् ।

माइती नेपालको आधिकारिक वेबसाइटमा अनुराधारको जन्म कहाँ भएको भनेर खुलाइएको छैन । उनको प्रारम्भिक शिक्षाचाहिँ भारतमा भएको खुलाइएको छ । माइती नेपालले अनुराधाको जन्म नेपालमा भएको हो कि भारतमा भन्ने नखुलाएका कारण उनी बंशज नागरिक हुन् या अंगीकृत भन्ने खुल्न थप कठिनाई भएको छ ।

गुरुङ परिवारमा जन्मेकी अनुराधाले कोइरालासँग विवाह गरेपछि अंगिकृत नागरिकता बनाएको भए उनी स्वतः प्रदेश प्रमुख बन्न अयोग्य हुनेछिन् । तर, उनले बंशजकै आधारमा नागरिकता लिएकी हुन् भने चाहिँ उनी कालिङपोङमै जन्मिएकी भए पनि प्रदेश प्रमुख हुन संविधानतः अवरोध हुँदैन ।

विशेष गरी भारतको दार्जी्लिङ, सिक्किम, कालिङपोङ, आसाम लगायतका ठाउँहरुमा बसोबास गर्ने व्यक्तिहरुले नेपालमा आफ्नो पूर्खाहरुको नाता लगाएर बंंशजकै नागरिकता बनाउने गरेका छन् । अनुराधाको विवाह नेपाली नागरिक दिनेशप्रसाद कोइरालासँग भएको थियो । हाल उनीहरुको सम्बन्धविच्छेद भइसकेको छ ।

जहाँसम्म अनुराधाको प्रश्न छ, उनी नेपालमै जन्मिएर बंशज नागरिक बनेकी हुन् या पारिबाट आएर बंशजको नागरिकता लिएकी हुन् भन्ने प्रश्न सतहमा आएको छ । गत १३ पुसमा अनुराधा कोइरालाका भदाहा भारत सिलगढीका ३५ वर्षीय आदित्य गुरुङको गौशलास्थित आमदब्लम होटलमा हत्या भएको थियो । यो घटनाले अनुराधा माइतीहरु भारतीय नागरिक नै भएको संकेत दिन्छ ।

उनी नेपालमै जन्मिएर बंशज नागरिक बनेकी हुन् या पारिबाट आएर बंशजको नागरिकता लिएकी हुन् भन्ने प्रश्न सतहमा आएको छ। माइती नेपालमार्फत् सन् २०१० मा कोइरालाले ‘ग्लोबल सीएनएन हिरो’ को अवार्ड पाइरहँदा भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले भारतीय पूर्व आर्मीकी छोरीले अवार्ड पाएको समाचार लेखेको थियो ।

सो भारतीय पत्रिकाका अनुसार अनुराधा भारतीय सेनाका कर्णेल प्रतापसिंह गुरुङकी छोरी हुन् र उनी भारतको सेन्ट जोसेफ स्कुल, कालेङपोङकी पूर्वछात्रा हुन् । त्यसो त भारतले आफ्ना नागरिकहरुलाई दिने गरेको पद्मश्री पुरस्कार पनि अनुराधा कोइरालालाई प्रदान गरेको छ ।

यद्यपि नेपालस्थित भारतीय दूताबासका अनुसार सन् २०१७ को पदमश्री पुरस्कार पाउने अनुराधा कोइराला एकमात्र विदेशी हुन् । भारतीय दूताबासको यस्तो प्रष्टोक्तिले अनुराधा नेपाली नागरिक हुन् भन्नेमा कुनै शंका छैन । तर, उनको जन्म कहाँ भएको हो र उनी बंशज नागरिक हुन् या अंगीकृत हुन् भन्ने मात्रै प्रश्न उब्जेको छ । यस्तो प्रश्नसँगै कोइरालाको सम्भावित नियुक्ति विवादमा पर्ने देखिएको छ ।

अंगीकृत नेपाली नागरिकले पनि राज्यका महत्वपूर्ण पदहरुमा नियुक्त हुन वा निर्वाचित हुन पाउनुपर्ने माग विशेष गरी सरिता गिरीलगायतका मधेसी समुदायका नेताहरुले उठाउँदै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ