को हुन् ४ नम्बर प्रदेश प्रमुख बाबुराम कुवँर ?

को हुन् ४ नम्बर प्रदेश प्रमुख बाबुराम कुवँर ?

Basanta Kunwar

पोखरा, ३ माघ । प्रदेश नं ४ को पहिलो प्रदेश प्रमुख बाबुराम कुँबर । अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा १ थुमकोटमा बुबा भिमबहादुर कुँवर र आमा देवकी कुँवर सन्तानका रुपमा २०१७ साउन १० गते जन्मिएका हुन् कुवँर। एमए, एलएलएमसम्मको अध्ययन पुरा गरेका कुँबर सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्याधिवक्तामा नियुक्त समेत भएका थिए।

२०३३ सालमा अर्घाखाँचीकै जनज्योती ब्यवसायीक मावि सन्धीखर्कबाट एसएलसी पास गरेका उनी २०३४ सालमा पिएन क्याम्पसमा कानुन बिषय बिषय पढ्नका लागि भर्ना भए । उनी पिएन क्याम्पसको कानुन बिषयमा पहिलो ब्याच समेत हुन् । २०३४ सालमा काठमाण्डौं हानिएपछि कुवँरले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर कानुनमा एलएलएम पास गरे । नेपालमा पहिलो पटक एलएलएम सुरु हुँदा उनी पहिलो विद्यार्थी थिए ।

काठमाण्डौंको छाउनीमा बस्दै आएका उनी सिनियर एडभोकेटको रुपमा अहिले पनि कार्यरत छन् । उनले संवैधानिक विवाद्सम्बन्धी मुद्दामा लामो समयदेखि बहस गर्दै आएका छन् । फौजदारी कानुनका विषयमा जानकार कुँवरले अन्य मुद्दामा पनि दख्खल राख्छन् । हाल उनी नेपाली काँग्रेसको कोटाबाट ४ नम्बर प्रदेश प्रमुखको रुपमा नियुक्त भएका छन् ।

‘असल अभिभावक बन्नेछु’

कानुन ब्यवसायी संगठन डेमोक्रेटिक लयर्स एसोसियसनका पूर्वअध्यक्ष समेत रहेका कुँवरले अब राजनीतिभन्दा माथि रहेर समग्र प्रदेशको वृहत्तर विकासका लागि अभिभावकको रुपमा भूमिका खेल्ने बताए।

आफ्नो क्षेत्रमा निरन्तर कर्तब्य निष्ठ भएर काम गरिरहँदा सरकारले प्रदेश प्रमुखको रुपमा योग्य ठानेर गरेको मूल्यांकनलाई आत्मसात गर्दै प्रदेश ४ को वृहत्तर विकास र समृद्धिका लागि आफ्नो भूमिकामा दत्तचित्त भएर लाग्ने उनले बताए।

हाल काठमाडौं महानगरपालिका वडा १५ छाउनीमा बस्दै आएका कुँवरले यसअघि सर्वोच्च अदालतको न्यायाधीश हुने अफर लगायत अन्य अवसर आए पनि आफू इच्छुक नभएको बताए।

संघीय नेपालको पहिलो प्रदेश प्रमुखको नियुक्तिलाई एउटा ऐतिहासिक अवसरको रुपमा ग्रहण गरेको उल्लेख गर्दै उनले भने, ‘यो अवसरसँगै चुनौती पनि हो। नयाँ संरचनामा देखिने असहज परिस्थितिलाई सामना गर्न तयार छु।’ एउटा कानुनको क्षेत्रबाट यो स्थानसम्म आइपुगेको भन्दै ब्यक्तिको नभई विधिको शासनबाट मात्र आफू चल्ने उनले बताए।

आफू जन्मेको अर्घाखाँचिी संघीयता बाँडफाँडमा प्रदेश ५ मा परेपनि यस अघि पश्चिमाञ्चलभित्रै रहेकाले आफू जन्मेको, हुर्केको, खेलेको र शिक्षा आर्जन गरेको एउटा पवित्र भूमिका रुपमा यस क्षेत्रलाई लिएको उनले बताए।

उनले यस क्षेत्रको विकास र समृद्धिका लागि प्रदेश कार्यपालिकासँग नजिक असल अभिभावककोे भुमिकामा कर्तब्यनिष्ठ भएर काम गर्ने बताए। उनले भने, ‘विधिको शासन भनेको नै लोकतान्त्रिक पद्धतिको मेरुदण्ड हो, म संविधान प्रदत्त क्षेत्राधिकारभित्र रहेर नागरिकको पक्षमा आफ्नो भूमिकालाई सशक्त बनाउनेछु।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ