दोस्रो हस्पिटालिटी नेपाल कन्टेस्ट: पहिलो अडिसन पोखरामा सम्पन्न

दोस्रो हस्पिटालिटी नेपाल कन्टेस्ट: पहिलो अडिसन पोखरामा सम्पन्न

hospitality nepal contest audition

गण्डक न्युज पोखरा, ६ माघ । दोस्रो सिजनको हस्पिटालिटी नेपाल कन्टेस्टको पहिलो अडिसन पोखरामा भएको छ । शनिबार पोखरामा भएको अडिसनमा कुल २८ जनाले सहभागिता जनाएका थिए । पोखरामा अर्कोपटक पनि अडिसन हुने आयोजक कम्पनी एपी इन्टरटेनमेन्टले जनाएको छ ।

अडिसनमा सहभागी जनाउनेहरुमध्ये पोखराबाट कुल २० जना प्रतिस्पर्धीहरुलाई कन्टेस्टका लागि फाइनल गरिने आयोजक कम्पनीका रबिन केसीले जानकारी दिए । पोखरामा भएको पहिलो चरणको अडिसनबाट छनौट हुने प्रतिस्पर्धीहरुको नाम भने एक साता पछि सार्वजनिक गरिने आयोजकले बताएको छ ।

आगामी साता बुटवलमा हुने अडिसनमा पोखरामा छनौट भएकाहरुको नामावली सार्वजनिक गरिने कम्पनीका निर्देशक सृष्टि आचार्यले बताईन् । त्यस लगत्तै काठमाण्डौमा पनि यो कन्टेस्टका लागि अडिसन आह्वान गर्ने तयारी आयोजक एपी इन्टरटेनमेन्टले गरेको जनाएको छ । अडिसन लगत्तै आयोजकले प्रतिस्पर्धीहरुका लागि बन्द प्रशिक्षण दिने तम्तयारी गरिसकेको छ ।

नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित ‘हस्पिटालिटी सेक्टर’का व्यक्तिहरुले यो ‘कन्टेस्ट’मा सहभागिता जनाउन पाउने आयोजकले बताएको छ । ‘अतिथी सत्कारको लागि पर्यटकीय होटल, रेस्टुरेन्ट तथा अन्य क्षेत्रहरु बढि सम्बन्धित छन् । र, यो कन्टेस्टमा सोहि क्षेत्रसँग आबद्ध रहेका सबै उमेर समूहका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन् ।’ आयोजक एपी इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले भने–‘हस्पिटालिटी क्षेत्रमा आबद्ध हुनेहरुको लागि यो एउटा विशेष मञ्चको रुपमा हामीले अगाडि सारेका छौँ ।’

‘कन्टेस्ट’मा सहभागी हुने प्रतिस्पर्धीका लागि वारिष्टा ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिप तथा सेल्फ मार्केटिङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगाएतका तालिमहरु आयोजकले व्यवस्था गरेको छ । कन्टेस्टमा सहभागी भई विजेता बन्नेका लागि दुबई र थाइल्याण्डको भ्रमण अवसरका साथै विभिन्न तारे होटलहरुमा जागिरको व्यवस्था गरिने आयोजकले बताएको छ ।

त्यो सँगै भिडियो तथा फोटोसुटसँगै विभिन्न कम्पनीको विज्ञापनमा अवसर प्रदान गरिने उसले जानकारी दिएको छ । त्यस्तै विभिन्न फेशन शो, म्यूजिक भिडियो र म्यागजिनको कभरमा विजेताहरुलाई ‘स्पेस’ दिईने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ