बागलुङमा बलेवा विमानस्थल चैत पहिलो सातादेखि सञ्चालन होला ? प्राविधिक अध्ययन गरियो

बागलुङमा बलेवा विमानस्थल चैत पहिलो सातादेखि सञ्चालन होला ? प्राविधिक अध्ययन गरियो

Balewa Airport

file Photo

बागलुङ, १२ माघ: बागलुङको बलेवा विमानस्थलमा चैत पहिलो साता विमान सञ्चालन गर्ने गरि तयारी थालिएको छ ।

पोखरा–बागलुङ राजमार्ग सञ्चालनमा आएपछि २०४८ सालदेखि बलेवा विमानस्थल बन्द भएको थियो । २०२४ सालदेखि सञ्चालनमा आएको विमानस्थलबाट काठमाडौं, पोखरा, भैरहवा र जोमसोम लगायतमा क्षेत्रमा उडान हुने गरेको – भएपनि लामो समयसम्म बन्द भएपछि विमानस्थल अहिले गौचरण र युवाहरुको खेल मैदान बनेको छ ।

बागलुङ नगरपालिकाको विशेष पहलमा चैत महिनाको पहिलो साता बागलुङ कालिका भगवती मन्दिरमा लाग्ने मेलाका अवसरमा पहिलो विमान अवतरण गराउने गरी तयारी अघि बढाइएको हो ।

त्यसका लागि नागरिक उड्ययन प्राधिकरणले तत्काल विमानस्थल सञ्चालनका लागि प्रारम्भिक अध्ययन समेत शुरु गरिएको जनाएको छ । बुधबार नागरिक उड्ययन प्राधिकरणका प्रवन्धक इन्द्रराज अधिकारी नेतृत्वको इञ्जिनियर सहितको टोलीले तत्काल विमानस्थल सञ्चालन गर्ने गरी सम्भाव्य अध्ययन गरेको छ ।

२ दशक अघि बन्द भएको बलेवा विमानस्थल सञ्चालनका लागि सामान्य मर्मत सुधार गरिए विमानस्थल सञ्चालनमा प्राविधिक जटिलता नरहेको स्थलगत अध्ययनमा आएका नागरिक उड्ययन कार्यालय पोखराका सिभिल इञ्जिनियर मीनराज वझाले बताए ।

‘ट्वीनेटर जहाजका लागि उत्तर र दक्षिण तर्फका रुखहरु काट्नुपर्ने देखिएको छ,’ इञ्जिनियर वझाले भने, ‘टर्मिनल टावर पनि मर्मत, विमानस्थल सरसफाई, सुरक्षा व्यवस्थापन लगायतका बिषयमा सामान्य सुधार र ध्यान दिए तत्काल विमान सञ्चालन हुन सक्छ ।’

नागरिक उड्ययन प्राधिकरणका प्रवन्धक इन्द्रराज अधिकारीले विमानस्थल सञ्चालनको सम्भावनामा ठुलो समस्या नदेखिएको बताए । ‘स्थानीय स्तरबाट पहल गरेर विमानस्थल परिसरमा रहेका व्यक्तिगत र सामुदायिक बनका अग्ला सल्लाका रुखहरु काटेर जिल्ला सदरमुकामदेखी विमानस्थल सम्मको कच्ची सडकको स्तरोन्नति गरे नियमित रुपमा विमान सञ्चालन हुने प्रवल सम्भावना छ,’ प्रवन्धक अधिकारीले भने, ‘हामीले यहाँकाले प्रारम्भिक स्थलगत अध्ययन रिपोर्ट जस्ताको तस्तै आगामी आइतवार सम्ममा बुझाउछौ, त्यसपछि अरु प्रगति भए पनि एयरलाइन्सले पनि स्थलगत अध्ययन गरेर सबै व्यवस्थापन भएपछि विमान सञ्चालन हुनेछ ।’

नगरपालिकाले आगामी चैत सम्ममा विमानस्थल सञ्चालनका लागि आवश्यक पहल र भूमिकामा कुनै कसर बाँकी नराख्ने मेयर जनकराज पौडेलले बताए ।

‘स्थानीय स्तरबाट गर्नुपर्ने सबै काम र व्यवस्थापन नागरिक उड्ययन प्राधिकरण र विमान कम्पनीहरुको सुझाव र निर्देश अनुसार गर्न तयार छौं,’ बागलुङ नगरपालिकाका मेयर पौडेलले भने, ‘बरु प्राधिकरणका तर्फबाट अघि बढाउनु पर्ने प्रक्रिया र व्यवस्थापनका विषयलाई तत्काल अघि बढाइदिनुस् भनेर अनुरोध गरेका छौ ।’ ‘कहिलेकाही यात्रु नहुने समस्याको बागलुङ नगरपालिकाले आर्थिक सुनिश्चिता गरेकाले अब अरु बिषयमा संकोच र समस्या हुँदैन,’ उनले भने, ‘हामी यसलाई तत्काल सञ्चालन र त्यसको नियमितताका लागि स्थानीय सरकारका तर्फबाट आवश्यक भूमिका खेल्न दृढ छौं ।’

बागलुङ नगरपालिका–१४ मा रहेको २०४८ सालदेखि बन्द विमानस्थल सञ्चालनका लागि यसअघि पनि पटक पटक सञ्चालनको पहल र प्रयास भए पनि सफल हुन सकेको छैन । त्यसैले यस क्षेत्रका नागरिक अझै विश्वस्त हुन सकिरहेका छैनन् । यद्यपि बागलुङ नगरपालिकाको विशेष पहलमा यात्रु अभाव हुँदाको खर्च बेहोर्ने सुनिश्चितता सहितको निर्णयले विमानस्थल सञ्चालनको सम्भावना बलियो बनेको छ ।

केही साता अघि मात्र नगरपालिकाको पहलमा नेपाल नागरिक उडड्यन प्राधिकरण बबरमहलमा भएको छलफलपछि बलेवा विमानस्थल सञ्चालनका लागि तीन बुँदे सहमति भएको थियो ।

जसमा प्राधिकरणले एयरपोर्टको मर्मत संभार र उपकरण सहितको आवश्यक भौतिक व्यवस्था र कर्मचारीको खटाउने, नेपाल वायुसेवा निगम र तारा एयरले हप्ताको एकपटक नियमित उडान भर्ने, यात्रुको सुनिश्चितता र व्यवसाय विस्तारमा बागलुङ नगरपालिकाले सहयोग गर्ने उल्लेख छ । उक्त सहमतिकै आधारमा विमानस्थल सञ्चालनका लागि अध्ययन थालिएको प्राधिकरणले जनाएको छ ।

जिल्लाको नारायणस्थान गाविसमा रहेको बलेवा विमानस्थल सञ्चालन नहुँदा यहाँ रहेका भौतिक पूर्वाधार समेत बिग्रदै गएका छन् ।

दिल शिरीष

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ