छिमेकीसँग लम्पसार पर्दैनौं, नाराबाजी पनि गर्दैनौंः एमाले महासचिव पोखरेल

छिमेकीसँग लम्पसार पर्दैनौं, नाराबाजी पनि गर्दैनौंः एमाले महासचिव पोखरेल

20180202_170429

गण्डक न्युज पोखरा, २० माघ / नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नेकपा एमालेले भारत र चीनलाई समदुरीमा सम्बन्ध राख्ने बताएका छन् । भारतीय विदेशमन्त्री सहितको टोली नेपाल आएको सन्दर्भमा उनले पार्टीको विदेशनीति फरक नरहेको स्पष्ट पारे ।

नेपाल राष्ट्रिय वाणिज्य संघको पोखरामा आयोजित दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले छिमेकीसँग लम्पसार पर्ने र नाराबाजी गर्ने पक्षमा आफूहरु नरहेको बताए । उनले सन्तुलित सम्बन्ध स्थापित गर्दै आँखा जुधाएर कुरा गर्ने तर आँखाबाट हटेपछि नाराबाजी गर्दै नहिँड्ने उल्लेख गरेका हुन् । राष्ट्रिय हितका सवालमा कहिल्यै कोहिसँग पनि सम्झौता नहुने उनको दाबी छ ।

प्रतिनिधिसभाको समानुपातिक परिणाम अनुचित तबरले रोकेरा राखेकोमा आपत्ति जनाउँदै उनले अब केहि सातामै एमालेको नेतृत्वमा सरकार गठन हुने बताए । संविधान संशोधनका विषय औचित्य पुष्टि भएको खण्डमा लचिलो रहन तयार रहेको उनको भनाई छ ।

बाम गठबन्धन हुँदै एकताको प्रक्रियामा रहेको भन्दै उनले सबै मिलाउँदै एक ढिक्का हुने गरी एकता गर्न लागेकाले सुस्त भएको बताए । एमाले र नेकपा (माओवादी केन्द्र)बीच सिद्धान्त र विचारका आधारमा एकीकरण हुन लागेको उनको भनाई छ ।

उनले एकीकरण सुव्यवस्थित बनाउँदै लैजानका लागि विचार र संगठनको व्यवस्थापन गर्न छुट्टाछुट्टै कार्यदल बनाएर अघि बढ्ने बताए । अब बन्ने सरकारले प्राथमिकताका आधारमा के के गर्ने भन्ने सम्बन्धमा पनि कार्यदलमार्फत योजना बनाइने तयारी भएको बताउदै उनले सरकार गठन र एकीकरणका प्रक्रिया सँगसँगै बढ्दै जाने जानकारी दिए । एकै पार्टी भएपछि आलोपालो, प्रधानमन्त्री र अध्यक्ष पद छुट्टाछुट्टै भन्ने सवाल अनावश्यक रहेको उनको तर्क छ । जनता, कार्यकर्ताको भावना अनुरुप देशकै समृद्धिको लागि एकता आवश्यक रहेकाले अब पछि हट्ने ठाउँ नरहेको उनको भनाई थियो ।

जबज एमालेको मात्र नभएकाले माओवादीले नस्विकार्ने भन्ने कुरा नहुने उनको भनाई थियो । उनले नेपाली कम्युनिष्ट सुहाउँदो जनताको बहुदलीय जनबादको अस्तित्व कहिल्यै नसकिने समेत ठोकुवा गरे । वाणिज्य संघलाई पार्टीको बलियो संगठनका रुपमा हेर्न चाहेको पोखरेलले बताए ।

सो अवसरमा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले दक्ष जनशक्ति स्वदेशमा नै तयार गरी उनीहरूको उपयोग गरिनुपर्ने उल्लेख गरे । एमाले प्रदेश नं ४ का संयोजक किरण गुरुङले प्राकृतिक, सांस्कृतिक रुपमा समृद्ध प्रदेश नं ४ मा विकासका पर्याप्त सम्भावना रहेको बताए ।

वाणिज्य संघका अध्यक्ष धनराज आचार्यले कर तिर्ने व्यवसायीको योगदानको उचित कदर हुनुपर्नेमा जोड दिए । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले व्यवसायीले बाहिरबाट ल्याएको सामान बेच्ने मात्र नभै मुलुकभित्रै उत्पादन गरी बेच्न सक्ने गरी तयारी गर्नुपर्ने औंल्याए ।

कार्यक्रममा एमाले स्थायी कमिटीका सदस्य एवम् राष्ट्रिय व्यवसायी महासंघका इञ्चार्ज मुकुन्द न्यौपाने, वरिष्ठ उपाध्यक्ष मोति ज्ञवाली, संघका कास्की अध्यक्ष सञ्जीवबहादुर कोइरालालगायतले आर्थिक विकासमा योगदान गर्ने व्यवसायी राज्यको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए। सो अवसरमा वाणिज्य संघमा आबद्ध भई स्थानीय, प्रदेश एवम् संघमा नवनिर्वा्चित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो भने सांस्कृतिक प्रस्तुति समेत देखाईएको थियो । दुईदिने महाधिवेशनमा देशका ६८ जिल्लाका ४०० प्रतिनिधिको सहभागिता छ । आईतबार नयाँ नेतृत्व चुन्दै महाधिवेशन समापन महासचिव सुमन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds