सातै प्रदेश हाँक्ने यी हुन् भावी मुख्यमन्त्री

सातै प्रदेश हाँक्ने यी हुन् भावी मुख्यमन्त्री

Mukhyamantri

काठमाडौं / सातवटै प्रदेशमा मुख्यमन्त्री को बन्ने भन्ने लगभग टुंगो लागेको छ । सबै प्रदेशमा सरकार गठनको गृहकार्य पनि अघि बढिरहेको छ ।

बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री छान्ने संवैधानिक व्यवस्था छ । कुनै पनि दलको बहुमत नरहेको अवस्थामा बहुमत जुटाउन सक्ने प्रदेश सांसद मुख्यमन्त्री बन्नेछन् ।

दुई नम्बरबाहे सबै प्रदेशमा एमाले–माओवादी गठबन्धनको सरकार बन्दैछ । कांग्रेसले भने कुनै पनि प्रदेशमा सरकार गठनको अवसर नपाउने भएको छ ।

प्रदेश नम्बर १, ३, ४ र ५ मा एमाले तथा प्रदेश नम्बर ६ र ७ मा माओवादीको नेतृत्वमा वाम सरकार बन्दैछ । प्रदेश २ मा संघीय समाजवादी फोरमले नेतृत्व गर्ने मधेसी गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । प्रदेश सरकारको नेतृत्व गर्ने तयारीमा सहेका दलहरुले सम्बन्धित प्रदेशमा पार्टी संसदीय दलका नेता चयन गरिसकेका छन् । तिनै संसदीय दलका नेता भावी मुख्यमन्त्री बन्नेछन् ।

कुन प्रदेशमा को ?

प्रदेश १ मा शेरधन

प्रदेश नम्बर एकको मुख्यमन्त्री शेरधन राई बन्ने भएका छन् । नेकपा एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका राईले शुक्रवार सम्पन्न एमाले संसदीय दलको चुनावमा पार्टी सचिव एवम् प्रदेश संयोजक भीम आचार्यलाई पराजित गरे । पूर्वसञ्चारमन्त्रीसमेत रहेका राई अब प्रदेश १ का भावी मुख्यमन्त्री हुन् ।

९३ सदस्यीय प्रदेशसभामा एमालेको बहुमत छ । एमालेसँग ५१ सांसद छन् भने माओवादीसँग १६ सांसद रहेका छन्, माओवादीले उपसभामुख पाएको छ ।

प्रदेश २ मा लालबाबु राउत

प्रदेश नम्बर दुईमा संघीय समाजवादी फोरम र राजपा नेपालले सरकार बनाउने तयारी गरेका छन् । दुई दलबीच फोरमले मुख्यमन्त्री पाउने सहमति जुटेको छ । फोरम नेपालले आफ्नो दलको भागमा परेको मुख्यमन्त्री चयन अन्तर्वार्ताबाट गरेर वाहीवाही कमाएको थियो ।

फोरमले प्रदेशको संसदीय दलको नेतामा लालबाबु राउत छानिएका छन् । उनीलगायत आकांक्षीसँग पार्टीले अन्तरवार्ता लिएको थियो । राउत पर्साबाट निर्वाचित प्रदेश सांसद् हुन् । उनी मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्छन् ।

प्रदेश ३ मा डोरमणि

डोरमणि पौडेल प्रदेश नम्बर तीनको मुख्यमन्त्री बन्ने भएका छन् । वाम गठवन्धनअन्तर्गत एमालेको भागमा परेको ३ नम्बर प्रदेशमा एमाले एक्लैको बहुमत छ ।

एमालेले संसदीय दलको नेता चुनाव गरेरै पौडेललाई चयन गरेको छ । निर्वाचनमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पराजित भइन् । ७ प्रदेशमध्ये अष्टलक्ष्मी मात्र मुख्यमन्त्रीको सम्भावित महिला उम्मेदवार थिइन्, जो पौडेलसँग पराजित भइन् ।

प्रदेश ४ मा पृथ्वीसुब्बा

चार नम्बर प्रदेशमा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्ने भएका छन् । नेकपा एमालेले गुरुङलाई सहमतिमै पार्टी संसदीय दलको नेता चयन गरेको छ ।

यो प्रदेशमा एमाले एक्लैसँग बहुमत नभए पनि गठबन्धन सहयात्री माओवादी केन्द्रले सघाउने पक्का भइसकेको छ । यस प्रदेशमा पोलिव्यूरो सदस्य किरण गुरुङ पनि मुख्यमन्त्रीको आकांक्षी थिए, उनले अन्तिम समयमा सहमतिका लागि बाटो छाडिदिए ।

प्रदेश ५ मा निर्विकल्प शंकर

प्रदेश नम्बर पाँचमा मुख्यमन्त्री शंकर पोखरेल बन्ने भएका छन् । उनले आइतवार नै आफ्नो दाबीसहितको पत्र प्रदेश प्रमुखसमक्ष पेश गरिसकेका छन् । माओवादीको समर्थनसहित उनले मुख्यमन्त्री र सरकार गठनको लागि पत्र पेश गरेका हुन् । ८७ सदस्यीय प्रदेश नम्बर ५ मा एमालेका ४१ र माओवादी केन्द्रका २० सांसद छन् ।

प्रदेश ६ मा माओवादीका शाही

वाम गठबन्धनमा माओवादीको भागमा परेको प्रदेश नम्बर ६ को मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुने भएका छन् । शाही पूर्व उर्जा मन्त्रीसमेत हुन् । माओवादी केन्द्रको ६ नम्बर प्रदेशको संसदीय दलको नेतामा शाही छानिएका छन् ।

प्रदेश ७ मा भट्ट

वाम गठवन्धनको तर्फबाट प्रदश ७ मा सरकारको नेतृत्व गर्ने जिम्मा पाएको माओवादी केन्द्रले मुख्यमन्त्रीका लागि पोलिटव्यूरो सदस्य एवं डोटी प्रदेश सभा ‘ख’ बाट निर्वाचित सांसद त्रिलोचन भट्टलाई छानेको छ ।

मुख्यमन्त्रीका लागि माओवादीमा वीरमान चौधरी, झपट बोहरालगायतले आकांक्षा राखेपनि भट्टले पहिलो मुख्यमन्त्री बन्ने सौभाग्य पाउन लागेका हुन् ।

सात नम्बर प्रदेशमा माओवादी एमालेको वाम गठवन्धनसँग बहुमत छ । ५३ सदस्यीय प्रदेश सभामा एमालेका २५ र माओवादी केन्द्रका १४ सांसद छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ