प्रधानमन्त्री देउवा राष्ट्रको नाममा सम्बोधन गरी राजिनामा दिँदै, आजै ओली प्रधानमन्त्री

प्रधानमन्त्री देउवा राष्ट्रको नाममा सम्बोधन गरी राजिनामा दिँदै, आजै ओली प्रधानमन्त्री

Untitled

काठमाडौं, ३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम बुधबार अबेर राष्ट्रपतिलाई बुझाएको छ । यससँगै केन्द्रमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।

निर्वाचन आयोगका पदाधिकारीहरुले बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन परिणाम बुझाएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।

बुधबार नै आयोगले अन्तिम नतिजा बुझाउने र लगत्तै केपी ओलीले प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्ने कार्यक्रम थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बुधबार नै राष्ट्रका नाममा सम्वोधन गरेर राजीनामा दिने तयारी गरेका थिए ।

तर, आयोगले चुनावको नतिजा शीतलनिवास पठाउन ढिलाइ गरेकाले देउवा सरकारको आयु एक रात लम्बिएको हो । तर, अब नयाँ सरकार गठनको प्रतिक्षा केही घण्टापछि सकिने निश्चित भएको छ ।

मंसिर १० र २१ गते गरी दुई चरणमा प्रतिनिधिसभाको चुनाव भएको थियो । तर, राष्ट्रियसभा निर्वाचन नहुँदा लामो समयसम्म प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट तोकिएन ।

४ माघमा राष्ट्रियसभा निर्वाचन भएसँगै समानुपातिक सांसद छनोट प्रक्रिया सुरु भएको थियो । समानुपातिकमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा र फोरमले ६-६ सिट पाएका छन् । त्यसमा विजयी सांसदहरुको नाम टुंगो लगाउँदै आयोगले बुधबार राष्ट्रपतिलाई प्रतिवेदन बुझाएको छ ।

देउवाको राजीनामा र ओलीको नियुक्ति एकै दिन

चुनावी जनमत वाम गठबन्धनको पक्षमा आएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले अझैसम्म राजीनामा दिएका छैनन् । एमाले र माओवादीले राजीनामा मागेपनि राष्ट्रियसभा निर्वाचन र निर्वाचन आयोगले औपचारिक रुपमा चुनावी परिणाम नबुझाएको भन्दै देउवाले टारे ।

आयोगले बुधबार परीणाम बुझाउने भएपछि देउवाले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका थिए । तर, ढिला भएको भन्दै सारिएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘९ बजे मन्त्रिपरिषदको अन्तिम बैठक छ, त्यसपछि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुहुनेछ ।’

यता एमाले र माओवादीले भने भोलि नै केपी ओलीको नेतृत्वमा सरकार गठनको दाबी गर्ने भएका छन् । एमालेले औपचारिक रुपमै ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । बुधबार नै समयले भ्याएको भए राष्ट्रपति कहाँ जाने तयारी थियो । तर, आयोगले निर्वाचन परीणाम बुझाउन समय लागेपछि यो सरेको हो ।

राष्ट्रपति कार्यालय स्रोतले दलहरु बहुमतसहित दाबी गर्न आए आजै प्रधानमन्त्री नियुक्त हुन सक्ने बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ