परासी, १२ चैत । फुटबल खेलाडी बिमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको हत्या आरोपित आशिष भनिने रुद्रनारायण चौधरीले सफाइ पाएका छन् ।
साथै,मनिषाको मृत्युको कारण ह्याङ्गिङ भएको पुष्टि भएको छ । २०७३ साल जेठ १३ गते बिहान मनिषा आफ्नै घर बर्दघाट–८ मा मृत्त अवस्थामा भेटिएपछि उनकै प्रेमी आशिषले उनको हत्या गरेको भन्दै नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
नवलपरासी जिल्ला अदालतले यही चैत ५ गते गरेको फैसलामा दोषी भनिएका आशिषलाई सफाइ दिईएको छ भने मनिषाको मृत्युको कारण ह्याङ्गिङ भएको उल्लेख छ । मनिषाको पोस्टमार्टम रिपोर्टमा पनि चिकित्सकहरुले उनको ह्याङ्गिङका कारण मृत्यु भएको बताएका थिए ।
मनिषा हत्यामा आशिष नै संलग्न भएको भन्दै नवलपरासी प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आशिषविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरी जन्मकैदको सजाय माग गरेको थियो ।

मनिषाको मृत्यु भएपछि पक्राउ परेका आशिषसँग २१ दिन लामो अनुसन्धानपश्चात घटनास्थलमा फेला परेका प्रमाणका आधारमा नवलपरासी प्रहरी आशिषले नै मनिषाको हत्या गरेको निश्कर्ष निकालेको थियो ।
प्रेम सम्बन्धका कारण चौधरीले मनिषाको हत्या गरेको प्रहरी अनुसन्धानमा बताइएको थियो । मनिषा र आशिषबीच मोबाइलमा भएको कुराकानीको कल रेकर्ड र मोबाइल म्यासेजमार्फत भएको कुराकानी लगायतका विषयमा अनुसन्धान गर्दा उनीहरुबीच प्रेम सम्बन्धको विषयलाई लिएर झगडा भएको प्रहरीले बताएको थियो । तर, जिल्ला अदालत नवलपरासीका जिल्ला न्यायाधीश रीतेन्द्र थापाको ईजलासले गरेको फैसलामा आशिषमाथि लगाइएको हत्याको आरोप प्रमाणित हुन नसकेको र मनिषाको मृत्युको कारण ह्याङ्गिङ भएको उल्लेख गरिएको छ । अदालतले पुर्पक्षका लागि कारगारमा रहेका आशिषलाई थुनामुक्त गर्न आदेश समेत दिएको छ ।
नवलपरासी जिल्ला अदालतले गरेको फैसलामा भनिएको छ–‘लाश जाँच प्रकृति मुचुल्का र शव परिक्षण प्रतिवेदनबाट देखिएका घाउ चोटहरु सामान्य प्रकृतिका भन्दा मर्ने सम्मको कारण हुने वा प्रतिकार गर्न नै नसक्ने अवस्थामा पुराइने खालको गम्भीर प्रकृतिको नदेखिनुका अतिरिक्त मृतकलाई प्रतिकार गर्न नसक्ने गरी अशक्त अवस्थामा पुराउने पदार्थ प्रयोग भएको तथ्य समेत स्थापित हुन नआएको अवस्थामा ह्याङ्गिङको सार्वभौमिक मान्यता अनुरुप अन्यथा प्रमाणित भएको देखिन आएन ।’
आरोपित आशिषले मनिषालाई कुटपिट गरी आफ्नै सलले झुण्ड्याउने कर्तव्य गरी मारेको भनि दावी गरिएको अभियोग पनि पुष्टि हुन नसकेकोले आशिषलाई सफाइ दिईएको फैसलामा उल्लेख छ । आशिषले पनि घटना भएको राति मनिषासँग आफ्नो झगडा भएको तर, हत्या नगरेको दाबी गरेका थिए ।
त्यसबखत आशिषलाई प्रहरीले नियन्त्रणमा लिई उनको पोलिग्राफ टेष्टसमेत गरेको थियो । पोलिग्राफ टेष्टमा चौधरीले आफूले मनिषाको हत्या नगरेको बताएका थिए । उक्त जवाफ पोलिग्राफ जाँच गरी हेर्दा साँचो बोलेको देखिएको थियो ।
– दैनिक नेपालबाट
सम्बन्धित खबर
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु