एसईई दिन डेरा बसेकी छात्राको रहस्यमय मृत्यु प्रकरण : प्रहरी नै पक्राउ, यौन सम्बन्ध राखेको खुल्यो

एसईई दिन डेरा बसेकी छात्राको रहस्यमय मृत्यु प्रकरण : प्रहरी नै पक्राउ, यौन सम्बन्ध राखेको खुल्यो

Capture-74

सुर्खेत, १४ चैत– अन्यायमा परेको व्यक्ति सबैभन्दा पहिले न्याय पाउने आशमा प्रहरीकहाँ पुग्छ । जाहेरी दिन्छ र न्याय नपाए अदालतको ढोका ढकढकाउन पुग्छ ।

तर सुर्खेतको पञ्चपुरी नगरपालिका बाबियाचौरमा एसइई परीक्षा दिइरहेकी छात्रा गोरीकला रोकायाको हकमा त्यसको ठीक विपरित भयो । उनले सुरक्षित हुने महसुस गरे पनि प्रहरीका कर्मचारी नै उनको मृत्युको कारक बनेका छन् ।

एसईई परीक्षा दिन डेरामा बसेकी किशोरीको रहस्यमय मृत्यु प्रकरणमा ‘यौन’ मुख्य कारण देखिएको छ। मंगलबार एक किशोरी आफ्नै डेरामा मृत फेला परेकी थिइन्। तर, मृत्यु स्वभाविक नभई किशोरीमाथि यौनजन्य अपराध गरेर हत्या गरिएको प्रहरीले जनाएको छ।

पञ्चपुरी नगरपालिकास्थित चौर घर भएकी १८ वर्षीया गोरीकला रोकाय एसईई परीक्षा दिन बाबियाचौरमा डेरा लिएर बस्दै आएकी थिइन्। मंगलबार बिहान उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।

शरीरमा चोट लागेको र कानबाट रगत बगेको अवस्थामा उनको शव फेला परेको थियो। यही घटनामा किशोरीमाथि यौनजन्य अपराध गरेर हत्या गरेको आशंकामा एकजना ट्राफिक प्रहरीसहित तीनजना पक्राउ परेका छन्।

मध्यरातमा किशोरीलाई मोटरसाइकलमा राखेर डेरादेखि टाढा चौरमा लिएर यौनजन्य अपराध गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्नता देखिएको भन्दै प्रहरीले अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत प्रहरी जवान हरि कोइरालासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरी जवान कोइराला बाबियाचौर एक साताअघि मात्र पुगेका थिए। सोमबार मध्यरात साढे १२ बजे प्रहरी जवान कोइरालाले गोरीकलालाई डेराबाट इलाका प्रहरी कार्यालय बाबियाचौर भन्दा करिब दुई सय मिटर टाढाको चौरमा लगेर यौनजन्य अपराध गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

किशोरीलाई डेराबाट झिकेर प्रहरी जवान कोइरालाको जिम्मा लगाउने स्थानीय माझिगाउँका २० वर्षीय लक्ष्मी बास्तोला र उनका दाइ २८ वर्षका खुमप्रसाद बास्तोलालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका बास्तोलाले ट्राफिक प्रहरी कोइरालाको आग्रहमा आफूले गोरीकलालाई लिएर भेट गराइदिएको बयान प्रहरीलाई दिएका छन्। प्रहरीका अनुसार गोरीकला र प्रहरी जवान कोइराला मध्यरात चौरमा बसेको र सोही क्रममा यौनजन्य क्रियाकलाप भएको प्रहरीको अनुमान छ।

राति करिब १ बजेतिर आफू गोरीकलालाई मोटरसाइकलमा डेरामा पुर्‍याउन गएको र सोहीक्रममा दुर्घटना हुँदा गोरीकला घाइते भएको बयान लक्ष्मी बास्तोलाले प्रहरीलाई दिएका छन्।

घाइते अवस्थामा रहेकी गोरीकलालाई डेरामा लैजान नसकेपछि लक्ष्मीले आफ्ना दाइ खुमप्रसादलाई बोलाएका थिए। दुई मिलेर गोरीकलालाई बेहोस अवस्थामा डेरामा छोडेको लक्ष्मीले बताएको सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदीले बताए।

यद्यपी गोरीकलाका आफन्तले भने बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। एसपी उमाप्रसाद चतुर्वेदीले भने, ‘किशोरीको हत्या भएको देखिन्छ, बाहिर हत्या गरेर नै कोठामा छोडेको पाइयो।’ घटनाको अनुसन्धान भइरहको र दोषिलाई कानुनी कारबाही हुने प्रहरीले जनाएको छ। सूर्यप्रकाश मावि पलैटेकी छात्रा रोकायले विद्याज्योति मावि बाबियाचारैबाट एसईई परीक्षा दिइरहेकी थिइन्। सोही क्रममा उनी मंगलबार बिहान डेरामै मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनाको अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बलात्कारपछि हत्या वा दुर्घटना भन्ने एकिन हुने प्रहरीको भनाइ छ। प्रहरीले घटनामा प्रयोग भएको भे ६ प ३४५१ नम्बरको मोटरसाइकल र मोबाइल बरामद गरेको छ।

गौरीकला किन गइन् मोटरसाइकलमा ?

प्रहरी जवान कोइरालाले आफूलाई ‘केटी मिलाइदिन’ भनेकाले आफूले गौरीकलालाई बोलाएर भेट्टाई दिएको लक्ष्मी बास्तोलाले बयान दिएका छन् । गौरीकलाको मोबाइलको कल रेकर्डबाट प्रहरीले लक्ष्मीप्रसाद बास्तोलालाई पक्राउ गरेको थियो ।

लक्ष्मीप्रसादले गौरीकलालाई दिउसो नै कोइरालासँग भेट्टाई दिएका थिए । उनीहरु ३ जनाले दिउँसो नै जंगलमा गएर खाजा पनि खाएका थिए । लक्ष्मी बास्कोटा र प्रहरी जवान हरिप्रसाद कोइरालाले रक्सी पनि पिएका थिए ।

त्यसपछि गौरीकला पढ्न भनेर कोठा फर्किन् । लक्ष्मी र हरिप्रसाद साथी भाइसँगै खानपिन गरेर बसे ।

राति १२ बजेतिर लक्ष्मीले पञ्चपुरी नगरपालिका –५ कै बाबियाचौरमा डेरा लिएर बसेकी गौरीकलालाई फोन गरेर बाहिर बोलाए । लक्ष्मी मोटरसाइकल लिएर उनको डेरा बाहिर पुगेका थिए । त्यसपछि गौरीकलालाई मोटरसाइकलको बीचमा राखेर राति साढे १२ बजेतिर लक्ष्मी र हरिप्रसाद खेल मैदानसँगैको जंगलतिर लगे । मैदानको छेउमा बाइक रोकियो, कोइराला गौरीकलालाई लिएर मैदानछेउको झाडीमा गए । लक्ष्मी मैदानकै छेउमा बाइक रोकेर उनीहरुको पर्खाईमा बसे ।

हरिप्रसाद र गौरीकला फर्केपछि जसरी गएका थिए त्यसैगरी उनीहरु तीनै जना एउटै मोटरसाइकलमा फर्किए । इलाका प्रहरी कार्यालय आएपछि कोइराला ओर्लिए । लक्ष्मीले गौरीकलालाई उनको कोठामा पु¥याउँदै थिए । गौरीकला मोटरसाइकलबाट खसिन् । उनी बेहोस भइन् । लक्ष्मीले दाजु खुमप्रसादलाई बोलाए । दुई जनाले मिलेर गौरीकलालाई बेहोसी अवस्थामा उनको कोठामा लगेर सुताई दिए, र ढोका तानेर आफूहरु घर गएको बयान उनीहरुले दिएको प्रहरीले जनाएको छ ।

‘मोटरसाइकलबाट खसेर नै उनको ज्यान गएको आशंका छ’ पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रमुख उमाप्रसाद चुर्तर्वेदीले भन्नुभयो, ‘हामीले अहिले नै केही भन्न सक्ने अवस्था छैन । पोष्टमार्टमको रिर्पोट आइसकेपछि र थप अनुसन्धानपछि थप कुरा खुल्दै जान्छन् ।’ प्रहरीले राति एक बजेपछि गौरीकलाको ज्यान गएको हुन सक्ने अनुमान गरेको छ ।

गौरीकलाको रगत लागेको लक्ष्मी बास्तोलाको सर्ट बरामद
प्रहरीले गौरीकलाको रगत लागेको लक्ष्मी बास्तालोको सर्ट पनि वरामत गरेको छ । यस्तै मोटरसाइकल लाइसेन्स, आरोपीहरुले प्रयोग गरेको मोबाइल सेटहरु नियन्त्रणमा लिएको छ । कर्तव्य ज्यान मुद्दामा जाहेरी परेकाले आवश्यक अनुसन्धान अघि बढाएको प्रमुख चतुर्वेदीले जानकारी दिनुभयो ।

उहाँले पोष्टमार्टमको विस्तृतत विवरण आउन ढिलाई हुने भएकाले थप अनुसन्धान भइरहेको बताउनुभयो । मृतकको पोष्टमार्टमपछि परिवारलाई शव बुुझाइएको उहाँले जानकारी दिनुभयो ।

परीक्षा दिन जाने बेलासम्म नउठेपछि …

पञ्चपुरी नगरपालिकाको विद्याज्योति माध्यमिक विद्यालय पञ्चपुरी – ५, बावियाचौर केन्द्रबाट एसईईको परीक्षा दिइरहेकी गौरीकला मंगलबार बिहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । एसईईको परीक्षामा सहभागी हुन गौरीकला पञ्चपुरी नगरपालिका –५ कै बाबियाचौरमा डेरा लिएर बसेकी थिइन् ।

बिहान परीक्षा दिन जाने क्रममा अबेरसम्म उनी नउठेपछि कोठामा गएर हेर्दा उनी मृत अवस्थामा भेटिएकी थिइन् । उनी सूर्यप्रकाश मावि पलैटे सालकोटमा अध्ययरत थिइन् ।

-अन्नपूर्ण पोस्ट, उज्यालो र लोकान्तरको सहयोगमा

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ