रारामा पर्यटन वर्ष शुभारम्भ तयारी, प्रधानमन्त्रीबाट नयाँ वर्षकै दिन देशबासीको नाममा सम्बोधन

रारामा पर्यटन वर्ष शुभारम्भ तयारी, प्रधानमन्त्रीबाट नयाँ वर्षकै दिन देशबासीको नाममा सम्बोधन

rara mantri

कर्णाली–रारा पर्यटन वर्ष २०७५ शुभारम्भको तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेश सरकारको आयोजनामा सुरु हुन लागेको पर्यटन वर्षको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।

पर्यटन वर्ष शुभारम्भ कार्यक्रममा सहभागी हुन पर्यटन मन्त्री रविन्द्र अधिकारी, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश प्रमुख, प्रदेश तथा संघीय सांसदहरु, प्रदेश मन्त्रालयका कर्मचारीहरु, सञ्चारकर्मीहरु रारा पुगेका छन् । अतिथि व्यवस्थापन, स्वागत गेट, मञ्च व्यवस्थापन लगायतका तयारीहरु अन्तिम चरणमा पुगेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले जानकारी दिए ।

नया वर्षसंगै प्रदेश सरकारको निमन्त्रणमा यहा“ आउने आगन्तुकहरुलाई आवास व्यवस्थापन गर्न टेन्ट बनाइएको छ । करिब डेढ सय टेन्ट छन् । पर्यटन वर्षकै सुरु दिनमा पाहुनाहरुलाई खाना, बस्नको दुःख नहोस् अस्थायी होटल सञ्चालनमा ल्याइएको छ ।

प्रधानमन्त्रीसहित विशिष्ट पाहुनाहरुका लागि निकुञ्ज सुरक्षार्थ श्रीदल गुल्मले खाना तथा आवास व्यवस्थापनको जिम्मा लिएको छ भने प्रदेश मन्त्रीहरुलाई निकुञ्जभित्र रहेको भिलेज हेरिटेज रिर्सोटमा बस्ने व्यवस्था मिलाइएको छ । सांसदहरु, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगायतलाई टेन्टमा बसाल्ने तयारी छ ।

जिल्ला मूल समारोह समितिका संयोजक पूर्णबहादुर रोकायाले पर्यटन वर्ष उद्घाटनको सबै तयारी अन्तिम चरणमा पुगेको जनाए । त्यस्तै, पर्यटन वर्ष उद्घाटनका लागि वल्डलिंकले इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । कार्यक्रमका लागि नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालित छन् ।

प्रदेश सरकारको पहिलो बैठकले नया वर्षका अवसरमा प्रमुख पर्यटकीय स्थल मुगुको राराताललाई केन्द्रमा राखेर ‘पर्यटन वर्ष’ मनाउने निर्णय गरेको थियो । ‘कर्णाली सम्वृद्धिको आधार ः पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका साथ पर्यटन वर्ष मनाउन लागिएको हो ।

प्रधानमन्त्री ओली शुक्रबार रारा आइपुग्ने कार्यक्रम छ । प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा प्रदेश सरकारको मन्त्रीपरिषद बैठक बस्नेछ । बैठकमा मुगुको तिब्बत नाका नाक्चेनाङ्गलालाई राष्ट्रिय प्राथमिकतामा पार्न प्रधानमन्त्रीसमक्ष अनुरोध गर्ने तयारी भएको प्रदेश सरकारका एक मन्त्रीले बताए ।

प्रधानमन्त्रीले शनिबार बिहान ८ बजे राराबाट देशबासीका नाउमा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीका पे्रस संयोजक चेतन अधिकारीका अनुसार सम्बोधन लगत्तै प्रधानमन्त्री हुम्लाको हिल्सा नाका पुगेर ११ बजे पुनः रारा फर्किनेछन् । रारामा प्रधानमन्त्रीले बोटिङसमेत गर्ने कार्यतालिका छ ।

१२ बजे पर्यटन वर्ष उद्घाटन सकेर २ बजे जुम्ला प्रस्थान गर्दैछन् । जुम्लामा उनकै अध्यक्षतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक बस्नेछ । मुगुमा रहदा प्रधानमन्त्री ओलीले स्थानीय जनप्रतिनिधिसंग भेटघाट गर्नुका साथै विद्यालय भर्ना अभियानको प्रारम्भ गर्ने कार्यक्रम छ । आज साझ कर्णालीको रारामा प्रधानमन्त्रिको प्रमुख आतिथ्यमा कर्णाली प्रदेशको पहिलो बैठक बसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ