अश्विन दानी, गोरखा । धन कमाउन साउदी अरब पुगेका गोरखाका एक जनाको मृत्यु भएको छ । केही समय अघि साउदी पुगेका शहिद लखन गाउँपालिका ४ स्थित तीनमानेका कृष्ण थापाको गत शनिबार कामबाट फर्कँदै गर्दा सवारीले ठक्कर दिँदा मृत्यु भएको जानकारी आएको उनका भाई काजी थापाले जानकारी दिए ।
‘मलाई फोन गर्ने मान्छेको नाम याद भएन’ काजीले आँखा भरी आँसु पार्दै भने ‘कहिल्यै नचिनेको नम्बरबाट फोन आयो । दाईकै फोन जस्तै लागेर उठाएको थिएँ । त्यहि नयाँ नम्बरबाट फोन गर्ने मान्छेले एक्कासी दाईको दुर्घटनामा परि मृत्यु भयो भन्ने खबर सुनाए ।’ त्यो खबर सुनेपछि केही समय आफुलाई समाल्नै नसकेको उनले बताए । कृष्णको मृत्यु भएको खबरले उनको परिवार अहिले स्तब्ध छ । २०६८ साल देखि विदेश आउजाउ गरेका कृष्ण डेढ/दुई बर्षको बिचमा छुट्टि मिलाएर नेपाल आईराख्ने गरेको भाई काजीले जानकारी दिए ।
करिब सात बर्ष अघि युनाईटेट प्यालेसमेन्ट नामक म्यानपावर मार्फत उनी साउदी अरबको एक होटलमा काम गर्नका लागि गएका थिए । ‘दाईको मृत्यु भएको पनि आज (बिहीबार) पाँच दिन बितिसक्यो’ काजी भन्छन् ‘शव नेपालमा कहिले आईपुग्ने हो थाहा छैन । अर्काको ठाउँमा पुगेर ज्यान गुमाउनु भयो । मर्ने बेला देख्न नपाएपनि अन्तिम संस्कार गर्नपाए उहाँको आत्माले शान्ति पाउँथ्यो ।’ कृष्णका श्रीमती, दुई छोरी र एक छोरा छन् । घटनाको बारे छोरीहरुलाई खबर भएपनि छोरालाई खबर गरिएको छैन । कृष्णका छोरा हालसालै नेपाली सेनामा भर्ति भएका छन् ।
कृष्णका भाई काजी र अन्य परिवारका सदस्यलाई उनको शव नेपाल कसरी ल्याउने भन्ने अर्काे पिरलो थपिएको छ । ‘शव कहिले आईपुग्ने हो थाहा छैन्’ विक्रम रानाले ‘सानो बुबा गुमाउनुको पिडा बोक्दै कहिले म्यानपावर जान्छु त कहिले परराष्ट्र मन्त्रालय । तर, जता गएपनि प्रोसेसिङ हुँदै छ भन्दै फर्काउछन् ।’
कृष्ण आफ्नो कम्पनीबाट साउदी गएको दुईबर्ष पछि कम्पनीको सम्पर्कबाट बाहिर रहेको युनाईटेट प्यालेसमेन्ट सर्भिसका डिकबिक खड्काले जानकारी दिए । ‘उहाँ २०६८ सालमा हाम्रो कम्पनीबाट साउदी जानु भएको हो’ खड्काले भने ‘बिदेश जानुभएको दुईबर्ष पछिबाट हाम्रो सम्पर्कमा आउनु भएको थिएन । उहाँको परिवारले घटनाको बारे जानकारी दिएपछि एम्बेसीमा सम्पर्क गरी उनको शव सक्दो छिटो नेपाल ल्याउने प्रयास गरिरहेका छौँ ।’ घटना कसरी भयो भन्ने बारे बिस्तृत जानकारी नआएको उनले बताए ।
सम्बन्धित खबर
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्तिः प्रदेश प्रमुख भट्ट
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु