चौतर्फी आलोचना, पार्टी भित्रबाटै असहयोग हुने र चुनाव हारिने देखेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतम काठमाडौं ७ बाट चुनाव नलड्ने भएका छन् । पार्टीभित्रैको तीव्र विरोध र क्षेत्रका स्थानीय नेता एवं सर्वसाधारणबाट समेत व्यापक आलोचना भएपछि गौतम तत्कालका लागि पछि हटेका हुन् ।
गौतमलाई सांसद बनाउन भन्दै काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले पद छाड्न तयार रहेको पत्र सचिवालयमा बुझाएका थिए । लगतै सांसद मानन्धरले सार्वजनिक रुपमै राजीनामा दिने घोषणा गरे । तर, परामर्श नै नगरी राजीनामा दिने रामवीरको पत्र सचिवालयमा प्रस्तुत भएपछि नेताहरु आश्चर्यमा परे । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका बहुसंख्यक नेता गौतमलाई चुनाव लडाउने पक्षमा देखिएनन् ।
उनले बिहीबार स्थानीय नेताहरूलाई अब आफू तत्कालका लागि सांसद बन्ने योजनाबाट पछि हटेको सन्देश पठाएका छन् । स्थानीय जनमत र पार्टीभित्रको अवस्थालगायतको कारण देखाउँदै उनले तत्काल सांसद बन्ने दिशामा नलाग्ने उल्लेख गरेको स्थानीय नेताले जानकारी दिए ।
चौतर्फी आलोचनापछि पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले बुधबार साँझ सचिवालयका नेताहरुसँग परामर्श गरे । उनले प्रधानमन्त्री एवं अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुसँग छुट्टाछुट्टै सम्वाद गरेका थिए । नेतृत्वबाट सकारात्मक प्रतिक्रिया नपाएपछि गौतम चुनाव नलड्ने निर्णयमा पुगेका छन् । नेकपाको उच्च स्रोतले भन्यो, ‘पार्टी भित्रबाटै असहयोग हुने र चुनाव हारिने देखेपछि गौतम स्वयंमले काठमाडौं ७ बाट चुनाव लडि्दन भन्नु भएको छ ।’
गौतमकै विषयमा बिहीबार काठमाडौंका प्रदेशसभा सदस्यहरूको भेला भएको थियो । भेलामा तत्कालीन एमाले र माओवादी केन्द्रबाट निर्वाचित सबै प्रदेशसभा सदस्य उपस्थित थिए । पूर्वएमाले र माओवादी केन्द्रको बिहीबारै बसेको जिल्ला कमिटीको बैठकले पनि चुनावको अवस्था नरहेको ठहर गरेको थियो । राजीनामा दिने मनस्थिति बनाएका सांसद मानन्धरलाई आफ्नो निर्णय सच्याउन उनीहरूले सुझाव दिए ।
नेता गौतमको चुनावमा उठ्ने कुराको व्यापक विरोध भएको हो । गौतमको चर्चा चलेपछि पार्टीले स्थानीय वस्तुस्थितिको समेत आकलन भयो । स्थानीय नेताहरू नै विपक्षमा उभिएपछि गौतमका लागि अवस्था प्रतिकूल बन्यो ।
पार्टी केन्द्रमा पनि गौतमको विषय विवादित बनेको छ । नेताहरू ईश्वर पोखरेल, भीम रावलमात्र होइन, गौतमसँग निकट मानिएका महासचिव विष्णु पौडेलसमेत यो निर्णयमा सन्तुष्ट छैनन् । पौडेलले बिहीबार सार्वजनिक रूपमै गौतम अब चुनावमा उठ्न नहुने बताएका छन् ।
गौतम काठमाडौं ७ मा मात्र चुनाव नलड्ने हो वा उपचुनावबाटै नआउने हो प्रष्ट भएको छैन । बर्दिया १ मा चुनाव हारेका गौतम त्यसपछि लगातार संसदमा आउने प्रयासमा थिए । सुरुमा उनले डोल्पाका धनबहादुर बुढालाई राजीनामा दिन सहमत पनि गराएका थिए । तर, बुढा पछि हटेपछि गौतमले दैलेख र बाँकेतिर आँखा लगाए । तर, सबैतिर सकारात्मक वातावरण नबनेपछि काठमाडौं ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा दिन सहमत गराएका थिए ।
सम्बन्धित खबर
तेस्रोलिंगीको नेतृत्वमा समाजवादी समावेशी पार्टी दर्ताको निवेदन
प्रमुख सचेतक जिम्मेवारी सम्हालिसकेका सन्तोष परियारले छाडे रास्वपा
मतदाता दर्ताको म्याद ५ दिन थप, अनलाइन सुविधाले सहज तर सर्भर नचलेर हैरान
दल र नेतालाई स्थानहद तोकेर कस्तो चुनाव गर्न खोजेको हो?: ओली
आन्दोलनका जलाइएकी मेरी श्रीमतीको उपचार राज्यको दायित्व होइन भने कसको हो ?: झलनाथ खनाल
मधेसमा सभामुखको पाँच सांसद पदमुक्त गर्ने निर्णय उपसभामुखले गरिन् बदर
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट