नेपालीको चाहना : विश्वसुन्दरी शृंखला, सर्वाधिक चर्चा यसपटक

नेपालीको चाहना : विश्वसुन्दरी शृंखला, सर्वाधिक चर्चा यसपटक

MISS-WORLD-NEPAL–Shrinkhala_20181123035101

चीनको सान्यामा भइरहेको मिस वल्र्ड प्रतियोगितामा सहभागी मिस नेपाल शृंखला खतिवडाकाे चर्चा यस पटक सर्वाधिक भएकाे छ । सामाजिक सञ्जाल फेसबुकदेखि, इन्स्टाग्रामदेखि टिकटकसम्म शृंखला छाएकी छिन् । उनी अाफै पनि पलपल अपडेटमा छिन् । मिस वर्ल्डमा पहिलाेपल्ट नेपालको बलियो दाबेदारी प्रस्तुत गरिरहेकी छिन्।

विश्वका सञ्चारमाध्यमले अरू देशसँगै नेपाललाई सम्भावित मिस वल्र्डको ‘कन्टेन्डर’का रूपमा चर्चा गरिरहेका छन्। मल्टिमिडिया भोटिङमा सबैभन्दा अगाडि रहेकी शृंखला मिस वल्र्डको इतिहासमा दोस्रो पल्ट सेमिफाइनलमा पुग्ने प्रतियोगी बन्न सफल भएकी हुन्।

नेपालबाट मिस वल्र्डमा प्रतिनिधित्व गर्नेमध्ये सन् २०१३ की मिस नेपाल ईशानी श्रेष्ठले मात्र सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। ईशानी ‘ब्युटी विद पर्पस’को विजेता बन्दै सेमिफाइनलको यात्रा गर्न सफल भएकी थिइन्। तर, ईशानीको यात्रा उत्कृष्ट १० सम्म पुगेर टुंगिएको थियो।

मिस वल्र्डको प्रावधानअनुसार विभिन्न फास्ट ट्र्याक इभेन्टमा विजेता बन्ने प्रतियोगी सीधै सेमिफाइनलमा प्रवेश गर्छन्। ‘वल्र्ड बिच ब्युटी’, ‘ब्युटी विद पर्पस’, ‘स्पोट्र्स च्यालेन्ज’, ‘ट्यालेन्ट’, ‘हेड टू हेड च्यालेन्ज’, ‘मल्टिमिडिया’ र ‘टप मोडल तथा डिजाइन’ गरी सात विधामा विजेता बन्ने सुन्दरी फास्ट ट्र्याकको माध्यमबाट सीधै सेमिफाइनलमा प्रवेश गर्छन्। यी प्रतियोगितामध्ये टप मोडलको परिणाम आइसकेको छ ।

मल्टिमिडिया भोटिङमा भने शृंखला ३६ प्रतिशत भोट ल्याएर विश्वका १ सय २१ प्रतियोगीमध्ये सबैभन्दा अगाडि छिन्। तर, मिस वल्र्डका हरेक इभेन्टमा उनीहरूको प्रस्तुतिले पनि उनीहरूलाई अर्को चरणमा लैजान्छ। शृंखला यसरी नै टप ३० मा पुग्दै सेमिफाइनलमा प्रवेश गरेकी हुन्। अरू केही नभए पनि शृंखलाले मल्टिमिडिया अवार्ड जित्ने लगभग पक्का देखिएको छ।

शृंखलाले  ‘हेड टू हेड’ च्यालेन्जमा दिएको उत्तरलाई पनि धेरैले राम्रो गरेको भन्दै प्रशंसा गरेका छन्। सो विधाको प्रश्नोत्तरमा उनले औसत हुनु कुनै कमजोरी नभएको भन्दै निरन्तरको मेहनत र निष्ठाले चाहेको कुरा प्राप्त गर्न सकिने बताएकी थिइन्।

उनले आफू पनि औसत विद्यार्थी रहेको भन्दै निरन्तरको मेहनतले मिस वल्र्डको उपाधि पनि जित्न सक्ने आत्मविश्वास आफूमा रहेको बताएकी थिइन्। त्यसै गरी, उनले बेरोजगारी नेपालको मुख्य समस्या भएको बताउँदै पर्यटन प्रवद्र्धनले नेपालको गरिबी समाप्त पार्न सक्ने बताएकी थिइन्।

अघिल्ला वर्षहरूमा मिस वल्र्डमा नेपालको सहभागिताले खासै चर्चा पाउने गरेको थिएन। तर, यो साल शृंखलाले सामाजिक सञ्जालमार्फत हरेक इभेन्टको अपडेट दिने गरेकी छिन्। शृंखला यही कारणले मल्टिमिडिया भोटिङमा स्पष्ट अग्रतासहित पहिलो नम्बरमा रहेकोमा शंका छैन तर योबाहेक पनि धेरैले उनलाई समग्र प्रस्तुतिका आधारमा पनि दाबेदारको रूपमा चर्चा गर्ने गरेका छन्।

युट्युब च्यानल, भोटिङ साइट तथा अनलाइन पोर्टलले शृंखलालाई मिस वल्र्ड जित्न सक्ने प्रतियोगीको रूपमा टप १५ भित्र समावेश गर्ने गरेका छन्। शृंखलाको फ्रान्स, भारत, मेक्सिको, चिली, भेनेजुएला, फिलिपिन्स, चीन, अमेरिका आदि देशका प्रतियोगीसँग कडा टक्कर हुने अनुमान गरिएको छ। चीनको सान्यामा भइरहेको प्रतियोगिताको फाइनल डिसेम्बर ८ मा हुँदैछ।

कहाँ छन् अन्य सुन्दरी ?

मिस नेपाल आयोजक हिडन ट्रेजरले गत सालदेखि विश्वका चार ठूला सौन्दर्य प्रतियोगिताका लागि प्रतियोगी पठाउन थालेको छ। मिस वल्र्ड, मिस अर्थर र मिस इन्टरनेसनलका लागि मिस नेपालका विजेता तथा रनर अप पठाउँदै आएको आयोजकले गत वर्षदेखि मिस युनिभर्समा पनि प्रतियोगी पठाउन थालेको हो।

गत साल नगमा श्रेष्ठले मिस युनिभर्समा प्रतिस्पर्धा गरेकी थिइन्। यो साल मनिता देवकोटाले मिस युनिभर्समा सहभागिता जनाउनेछिन्, जसका लागि मनिता बिहीबार थाइल्यान्ड प्रस्थान गर्दै छिन्। उनले १७ डिसेम्बरमा थाइल्यान्डको मुआङथोङमा हुने अन्तिम प्रतियोगितामा सहभागिता जनाउँदै छिन्। मिस वल्र्ड र मिस युनिभर्सबाहेक नेपालले मिस इन्टरनेसनल र मिस अर्थमा समेत प्रतियोगी पठाउँदै आएको छ। यी दुवै प्रतियोगिता सम्पन्न भइसकेका छन्।

जापानमा भएको मिस इन्टरनेसनलमा गएकी रोनाली अमात्य सहभागिता जनाएर देश फर्किसकेकी छिन् भने मिस अर्थमा सहभागी भएकी प्रिया सिग्देलले विभिन्न विधाका तीन अवार्ड जितेकी थिइन्। गत महिना भएको प्रतियोगितामा प्रियाले ट्यालेन्ट राउन्डमा दीपक वज्राचार्यको ‘मन मगन’ गीतमा नृत्य गर्दै सिल्भर अवार्ड जितेकी थिइन् भने उनले मिस डीभी बोएर फार्म एम्बासाड्रेस अवार्ड पनि जितेकी थिइन्।

ट्यालेन्ट राउन्डमा दोस्रो स्थान हासिल गरेकी उनले एक हजार डलर नगद पुरस्कार पाएकी थिइन्। प्रियाले उत्कृष्ट इको भिडियोको पुरस्कार हात पार्दै प्रतियोगितामा ह्याट्रिक गरेकी थिइन्। यही विधामा पुरस्कार जित्दै प्रिया ८६ प्रतियोगीमध्ये टप १८ मा प्रवेश गर्न सफल भएकी थिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds