१७ वर्षीय किशोर, जसले सहसचिव स्तरको राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको ‘अध्यक्ष’ भन्दै हिँडे । ठाउँ ठाउँमा प्रहरी, सिडिओ र जनप्रतिनिधिलाई नै उल्लु बनाए । अनुसन्धानको जिम्मेवारी पाएको प्रहरी आफै उल्लु बने । होटलवालाले पैसा नपाएपछि उजुरी गरेपछि मात्र आफै एस्कर्टिङ गरेको व्यक्ति ठग भनेको थाहा पाए ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार संरक्षण समितिको कार्यालय सिंहदरबार, काठमाडौंको कार्ड भिरेर उनले प्रहरी र जनप्रतिनिधिलाई नै ठगे । जनप्रतिनिधिमार्फत तेल हालेर नक्कली सेतो नम्बर प्लेटवाला गाडी भाडामा लिएर चालक नै राखेर जिल्ला दौडाहामा निस्के । इलामका सन्देश रम्तेल । इलाम नगरपालिकाको पूर्वनगर स्तरीय बाल सञ्जालका अध्यक्ष पनि भएकाले सामाजिक सञ्जालमा उनलाई परिचय दिन सजिलो भयो । श्रोतका अनुसार उनले कारबाही समेत भोगिसकेका छन् । त्यसपछि विभिन्न संस्थाको नाम लिएर देश विदेशका कार्यक्रमहरुमा उपस्थिति जनाउथे ।
रम्तेलले प्रहरीको स्कर्टिकङसमेत लिएर सरकारी नम्बरप्लेटको गाडीमा तनहुँदेखि मुस्ताङसम्म यात्रा गरेको बयान दिएका छन् । उनले वीरगञ्जमै नक्कली कार्ड बनाएको बताएका छन् । मुस्ताङदेखि पोखरा फर्केर लेकसाइडको तेन्जिङ हिलारी होटलमा बसेका उनले जब खाना खाएको पैसा तिरेनन्, अनि वास्तविकता बाहिर आयो ।
होटलमा खाएको ३५ हजार रुपैयाँ सन्देशले नतिरेपछि उनको उजुरी प्रहरीकहाँ पुग्यो र उनी सोमबार प्रक्राउ परे । रम्तेलले बा २ झ १६६३ नम्बर सेतो नम्बर प्लेटको स्कारपियो प्रयोग गरेका थिए । रातो नम्बर प्लेटको गाडी भाडामा लिएर उनले नक्कली सेतो नम्बर प्लेट टाँसेको पाइएको छ ।
पोखराबाट प्रकाशित हुने समाधान दैनिकले त यस विषयमा सम्पादकीय नै लेखेको छ ।
कुरीकुरी प्रहरी
१७ वर्षे सन्देश रम्तेलले आफू नेपाल सरकारको सहसचिव हुँ भन्दै प्रहरीलाई छक्याए । त्यो पनि १ हैन २ हैन अनेकौ ठाउँमा । तनहुँ प्रहरीले त उनलाई राजमार्गमा स्कर्टिङसहितको सुरक्षा नै प्रदान गर्यो । तनहुँ प्रहरीको बुद्धि भुटेपछि उनी हौसिए । जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम, जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय कार्यालय मुस्ताङले पनि तनहुँकै सिको गर्दै रम्तेलको सुरक्षामा चासो दियो । २० वर्ष पनि उमेर नकटेको युवाले प्रहरी मात्र हैन जनप्रतिनिधिलाई समेत छक्याउन सफल भए । पोखरा महानगरपालिकाकी उपमेयरको तोकमा उनले १० लिटर इन्धनको कुपन नै हात पारे । गण्डकी प्रदेशका विभिन्न मन्त्रालयमा समेत सरकारी नम्बर प्लेटको गाडीसहित प्रवेश गरी सहसचिवकै हैसियतमा बातचित गर्न उनले भ्याए ।
झापाका रम्तेल कस्तो पारिवारिक पृष्ठभूमिका हुन्, अध्ययन कति छ त्यो त अनुसन्धानकै क्रममा छ । तर सन्देशले जुन तरिकाले सुरक्षा निकाय र सरकारी कार्यालयका अधिकारीलाई गुमराहमा पार्न सफल भए यसले उनी हाइप्रोफाइलकै संगतका व्यक्ति हुन भन्ने अनुमान गर्न सकिन्छ । उनले जीवन जीउन ठगीलाई नै अवलम्बन गरे । आखिर किन रोजे त उनले यस्तो बाटो ? यो अनुसन्धानपछि खुल्ने नै छ । यति सानो उमेरको व्यक्तिले भनेकै आधारमा पत्याइदिने हाम्रो प्रहरी प्रशासनको क्षमतामाथिको ठूलो प्रश्न चिह्न हो यो । प्रहरी प्रशासनले कुनै व्यक्तिलाई सुरक्षा प्रदान गर्नु अघि कुनै आधार चाहिँदैन ? जो पायो त्यहीले फोन गरेको आधारमा स्कर्टिङमा गाडी खटाउने कतिसम्मको कमजोरी गर्न सकेको ? यसबाटै प्रस्ट हुन्छ कि नेपालको सुरक्षा निकाय कति जिम्मेवार छ भन्ने । गोप्य सूचना लिनका लागि नेपाल प्रहरीले ठाउँठाउँमा घुमुवा डुलाएको हुन्छ । ती घुमुवा प्रहरी जिम्मेवारी वहन गर्न भन्दा पनि बार्गेनिङमै बढी समय बिताउँछन् । अनि हाकिमलाई जुन घुमुवाले ठूलो रकम बुझाउन सक्छ उसैलाई प्रोत्साहन गरिन्छ । अनि यस्तै सूचना प्रणालीको फाइदा लुट्छन् सन्देश रम्तेलहरु ।
नेपाल सरकारको सहसचिवस्तरमा पुगेको व्यक्तिको उमेर हेरेरै पनि हाम्रा सरकारी अधिकारीले अनुमान पनि लगाउन सक्नुपर्छ नि । अनि सहयोग माग्न आउनेबित्तिकै सही गरेर कुपन प्रदान गर्न निर्वाचित जनप्रतिनिधिलाई कति हतार भएको होला । हो उनले पोखरा महानगरबाट ठूलो परिणामको सहयोग लिएका होइनन् । तर महानगरले हावाकै भरमा इन्धन बाँड्छ भन्ने तथ्यलाई त यसले जबरजस्त पुष्टि गरिदियो नि । नेपाल प्रहरीको चुस्त अनुसन्धान र सूचना प्रणाली बनाएर जिम्मेवार ढंगले काम नगरेसम्म सन्देश रम्तेलहरुले प्रहरीलाई यसरी नै प्रयोग गरिरहनेछन् । संगठनको शाख जोगाउन पनि अब चुस्त रुपमा काम गर्नुको विकल्प छैन । केबल चर्चामा आउने एकाध घटनाका बारेमा जानकारी गराउने उद्देश्यले आफू नजिकका पत्रकार बोलाएर पत्रकार सम्मेलन गरेर मात्र प्रहरीको दायित्व पूरा हुँदैन । यस्ता कमजोरी दोहोरिरहने हो भने नागरिकले नेपाल प्रहरीलाई कुरीकुरी गर्नेछन् ।
सम्बन्धित खबर
सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कारबाट बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मी सम्मानित
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
सापकोटाको बहुआयामिक कविता संग्रह ‘युगान्तर’ प्रकाशित
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !