पोखरेलीले पिउने मर्दीको पानी प्रशोधन हुने, जापान सरकारको ४ अर्ब ८१ करोड अनुदान सहयोग

पोखरेलीले पिउने मर्दीको पानी प्रशोधन हुने, जापान सरकारको ४ अर्ब ८१ करोड अनुदान सहयोग

Khanepani Muhan (1)

पोखरा । नेपाल खानेपानी संस्थान र निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनबीच पोखराको मर्दी खोलाको पानी शुद्धीकरणका लागि महत्त्वपूर्ण सम्झौता भएको छ ।

संस्थान र हाजमा कम्पनीबीच भएको द्विपक्षीय सम्झौतामा पोखराको मर्दी खोलालाई प्रशोधन गरेर शुद्धीकरण गरिने र पानी पिउनका लागि योग्य बनाइने उल्लेख छ । पोखरा क्षेत्रको खानेपानी सुधारका लागि जापान सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप ४ अर्ब ८१ करोड रुपैयाँ सहयोग गर्ने सम्झौता भएको थियोे ।

यो अनुदान रकम सिभिल ठेक्काको लागि दिइएको संस्थानले जनाएको छ । जापानले दिएको कुल अनुदान रकम मध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियोे । जसमध्ये हाजमा कम्पनीले अनुमानित लागत रकम भन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो ।

संस्थानको तर्फबाट महाप्रबन्धक डा. भुपेन्द्र प्रसाद र कम्पनीको तर्फबाट प्रोजेक्ट म्यानेजर हिदेकी ओइसीले सम्झौता गरे । खानेपानीको क्षेत्रमा यो नै अहिलेसम्मकै ठुलो आर्थिक सहयोग भएको महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले बताए । यति धेरै रकम १३ वर्षको प्रयास पछि पहिलो पटक नेपालले प्राप्त गरेको उनले बताए ।

सम्झौताअनुसार प्रतिदिन ४ करोड १० लाख लिटर पानी प्रशोधन गर्ने प्लान्ट मर्दी खोलामा राखिने भएको छ भने खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने छ । त्यस्तै खानेपानी भण्डारण गर्न ३ वटा पानी पोखरी निर्माण गरिनेछ । पोखरा खानेपानी सुधार तथा विस्तारको लागि याचियो इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले विस्तृत डिजाइन गरेको थियो ।

यस्तो पानी पिउन बाध्य छन् पोखरेली

पोखराका लाखौं उपभोक्ताले दैनिक प्रयोग गर्ने पानीको मुहानमा प्रदुषण बढ्दो छ । खानेपानीको श्रोत मर्दिखोलामा लास जलाउने, नुहाउने, चौपाया आहाल बस्ने र दिसापिसाब गर्ने गरिएका कारण उपभोक्ताको स्वास्थ्य जोखिममा परेको छ ।

पोखराको उत्तरी क्षेत्र लाहाचोक, ल्वाङघलेल र पुरुन्चौरस्थित मर्दिखोला आसपास बस्ती विकास भएसँगै प्रदुषण बढ्दो छ । पत्रकार राजबहादुर गुरुङ फेसबुकमा लेख्छन्: ‘हैन यो खानेपानी संस्थानको काम जनतासंग पैसा मात्र असुल्ने हो की शुद्द खानेपानी खुवाउनेतिर पनि ध्यान दिने हो ??? लौ, जागौं जनता ! यसलाई ब्यबस्थापन गर्न सबैबाट दबाब दिऔं । हैन भने हिलो, मैला पानी खान तयार होऔं ।”

http://gandaknews.com/pokhreli-khanepani/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds