वर्षको पहिलो दिन नै दुःखदः लुक्लामा भुई नछाडेको प्लेनले दुई हेलिकोप्टरलाई ठक्कर दिँदा मानवीय क्षति (तस्विर र भिडियो)

वर्षको पहिलो दिन नै दुःखदः लुक्लामा भुई नछाडेको प्लेनले दुई हेलिकोप्टरलाई ठक्कर दिँदा मानवीय क्षति (तस्विर र भिडियो)

Lukla Plane (7)

वर्ष २०७६ को पहिलो दिन नै मुलुकले ठूलो दुर्घटना ब्यहोरेको छ । २०७५ सालमा भिभिआईपी गुमाउन बाध्य बनेको नेपालीले नयाँवर्ष सुरुवातीसँगै फेरि दुःखद दुर्घटनाको सामना गर्नुपरेको छ । संसारकै जोखिमपूर्ण विमानस्थलका रुपमा चिनिने लुक्ला विमानस्थलमा भुईं समेत नछाडेको जहाज दुर्घटनामा पर्दा मानवीय क्षति व्यहोर्नुपरेको छ ।

सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको जहाज दुर्घटनामा अहिले पूर्वान्ह ११ बजेसम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार सोलुखुम्बुको लुक्लाबाट रामेछाप उड्न लागेको समिट एयरको ९ एन एमएच कलसाइनको उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर मनाङ र श्री एयरलाइन्सको हेलिकोप्टरमा ठोक्किएर दुर्घटनामा परेको हो । मृत्यु हुनेमा समिट एयरका को पाईलट र दुई प्रहरी सहायक निरीक्षक रहेका छन् । पाइलट सहित अरु दुई जना घाईते भएका छन् । चालक दलका सदस्य बाहेक कुनै पनि यात्रु नरहेकाले धेरै मानवीय क्षतिबाट जोगिएको छ ।

https://www.facebook.com/gandaknews/videos/411322276098810/

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार जहाजका कोपाइलट सुदीप ढुंगाना र विमानस्थलमा कार्यरत पर्यटक प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो । यस्तै, विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठलाई काठमाण्डौ ल्याएर ग्राण्डी हस्पिटल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरे ।

दुर्घटनामा समिट जहाजका पाइलट रवीन्द्र रोकाया, मनाङ एयरको हेलिकप्टरका पाइलट सीबी गुरुङ गम्भिर घाइते छन्। उक्त समिटकी एयर होस्टेज रश्मी लामा सामान्य घाइते छिन्। घाइते दुवै पाइलटलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

नागरिक उड्ययन प्राधिकरणका प्रमुख राजकुमार क्षेत्रीका अनुसार आइतबार बिहान ९ बजेर ६ मिनेटमा दुर्घटना भएको हो। दुर्घटनालगत्तै हवाई जहाज र हेलिकोप्टर पल्टिएका थिए । त्यसपछि लागेको आगो सुरक्षाकर्मीहरुले निभाएका थिए । मनाङ एयरको हेलिकप्टर पुरै क्षतिग्रस्त भएको छ । श्रीएयरको हेलिकप्टरमा समेत क्षति पुगेको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाका अनुसार दुर्घटना लगत्तै आगो लागेको थियो ।

तस्बिर सौजन्यः लुक्ला विमानस्थल, सोलु एफएम र सुगत तामाङको फेसबुक

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ