नेपालको दुर्भाग्य: पाँच खेलमा ४ मा जीत, पानीका कारण १ रनले हार्दा विश्वकप खेल्ने मौका चुक्यो

नेपालको दुर्भाग्य: पाँच खेलमा ४ मा जीत, पानीका कारण १ रनले हार्दा विश्वकप खेल्ने मौका चुक्यो

Nepal Cricket u-19 (1)

नेपाली टिम सन् २०२० मा हुने अन्डर १९ विश्वकप खेल्नबाट वञ्चित भएको छ । उत्कृष्ट प्रदर्शनका बाबजुद नेपालको युवा क्रिकेट टिम भाग्यले साथ नदिँदा विश्वकपमा छनोट हुनबाट चुक्यो । ५ मध्ये ४ खेलमा शानदार जीत हात पारेको नेपाल यूएईविरुद्ध १ रनले पराजित हुँदा यति ठूलो अवसरबाट चुकेको हो । भारी वर्षाका कारण नेपालले प्रस्तुत गरेको लक्ष्य छोट्टिँदा यस्तो अवस्था आएको हो ।

दोस्रो खेलमा बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा यूएईसँग १ रनले पराजित हुनु नै दुर्भाग्य बन्यो ।नेपालले दिएको दुई सय ४८ रनको लक्ष्य पक्ष्याएको युएइको स्कोर एक सय २२ रनमा तीन विकेटको अवस्थामा भारी बर्षा भएको थियो । जसका कारण खेल संभव हुन सकेन ।  त्यसपछि खेलकाे नतिजा डकवर्थ एण्ड लुइसको नियमका आधारमा निकालिएको थियो । जसमा यूएईले जितका लागि एक सय २१ रनको नयाँ लक्ष्य पाएको थियो । तर यूएईले एक सय २२ रन बनाइसकेकाले नेपाल एक रनले पराजित भयो ।

१२२ रनमा ३ विकेट गुमाउँदा यूएईले ३० ओभरको खेल खेलिसकेको थियो । २० ओभर बाँकी हुँदा उसलाई आधाभन्दा बढि रन बनाउनुपर्ने खेल नेपालकै पक्षमा थियो । तर वर्षाले खेल विथोल्यो । प्रतियोगिताका प्रमुख दावेदार नै नेपाल र यूएई थिए । दुई टीमको भिडन्त फाइनल बराबर नै थियो । यदि पूरा ओभर खेल्न पाएको भए पक्कै पनि नेपालको सम्भावना बढि थियो । तर, डीएलएस मेथडमा नेपाल एक रनले पछि पर्‍यो । प्रतियोगिताबाट एउटा मात्रै टिम विश्वकपका लागि छनोट हुने प्रावधान थियो ।

मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा नेपालको प्रदर्शन उत्कृष्ट थियो । नेपालले खेलेका पाँचमध्ये ४ खेलमा विपक्षी टिमलाई कुनै मौका नदिई भारी अन्तरको जित हासिल गरेको थियो । सिंगापुरविरुद्ध नेपालले हासिल गरेको २१७ रनको जित प्रतियोगितामै सबैभन्दा फराकिलो जित हो । दोस्रो ठूलो जित पनि नेपालकै नाममा रह्यो । ओमानविरुद्ध १५० रनको जित । नेपालले मलेसिया र कुवेतलाई समान ८–८ विकेटको हार चखाएको थियो । मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १३ ओभरमा पूरा गरेको थियो भने कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा हासिल गरेको थियो ।

प्रतियोगिताको पहिलो, दोस्रो र चौथो उच्च स्कोर नेपालको नाममा छ । सिंगापुरविरुद्ध नेपालले बनाएको २८५ रन प्रतियोगिताकै उच्च स्कोर हो । यसैगरी यूएईविरुद्ध नेपालले बनाएको २४७ रन दोस्रो र ओमानविरुद्ध बनाएको २२९ रन चौथो उच्च स्कोर हो ।पहिले ब्याटिङ गरेको बखत तीनैपटक खेलमा नेपाल २२० भन्दा कम स्कोरमा समेटिएन । नेट रन रेटमा पनि नेपाल सबैभन्दा अगाडि छ । अंकतालिकाको पहिलो स्थानमा रहेको यूएईको नेट रनरेट २.४२२ रह्यो भने नेपालको नेट रनरेट २.९४८ । प्राय प्रतियोगितामा नेट रनरेट कमजोर हुने नेपालका लागि यो एउटा सुखद समाचार हो ।

तर, नेपालले यूएईविरुद्ध भोगेको १ रनको हारमा कमजोर प्रदर्शनभन्दा पनि वर्षालाई दोष दिन सकिन्छ । किनकी खेलमा फर्किन नेपालसँग पर्याप्त समय बाँकी थियो ।

२००० मा पहिलो पटक १९ वर्ष मुनीको विश्वकप खेलेको नेपालको गर्विलो इतिहास छ । ७ वटा विश्वकप खेलेको नेपालले महाशक्ति राष्ट्रहरुलाई स्तब्ध बनाएको छ । २००२ मा न्यूजिल्यान्डलाई पराजित गर्दै प्लेट च्याम्पियन बनेको थियो भने भारत, साउथ अफ्रिका, पाकिस्तान जस्ता शक्ति राष्ट्रहरुलाई पराजित गरेको छ । यस पटक राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु समेत रहेकाले नेपालले विश्वकपमा स्थान बनाउने अपेक्षा थियो तर, वर्षा बाधक भएको छ ।

नेपालका लागि कप्तान रोहितले यस प्रतियोगितामा प्रेरणादायी प्रदर्शन गरे । दुई म्याचमा धर्मराएको ब्याटिङलाई उनले सम्हालेर नेपाललाई बलियो स्कोरसम्म पु¥याए । यो प्रतियोगितामा नेपालको सम्झनलायक पक्ष ब्याटिङ हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ