अश्विन दानी, पोखरा । वैशाख १२, २०७२ को विनाशकारी भुकम्पमा ऐतिहासिक गोरखा दरबार बारपाकसँगै ढल्यो । दरबारमा पूर्ण क्षति पुगेको ४ वर्ष भयो । भुकम्प गएको दुई बर्षसम्म त यसलाई ठडाउने कुनै प्रक्रिया नै सुरु भएन ।
अन्ततः २०७४ कार्तिकमा २०७६ मङ्सिर मसान्तसम्ममा दरबारको पुनर्निर्माण सिध्याउने भन्दै कुल ४ करोड ३५ लाख रुपैँयामा पचली सिवाको जेभी कन्सट्रक्सन कम्पनीसँग पुरातात्विक बिभागले २०७४ साल कार्तिकमा ठेक्का सम्झौता गर्याे र काम सुरु भयो । दुई वर्षभित्रै पुनर्निर्माणको काम सम्पन्न गर्ने भन्दै ठेक्का सम्झौता गरेपनि १७ महिना बितिसक्दासम्म निर्माण कम्पनीले जगको काम मात्रै सम्पन्न गरेको छ ।
‘दरबारको पुनर्निर्माण २ बर्ष भित्रै सक्नुपर्ने हो । १७ महिना पनि बढि भैसक्यो, अहिलेसम्म भर्खरै मात्र जगको काम सम्पन्न भएको छ ।’ गोरखा दरबार हेरचाह अड्डाका प्रमुख रामेश्वर कट्टेलले भने, ‘सम्झौता गरेको मिति भित्रै दरबार पुननिर्माण होला जस्तो छैन ।’
दरबार अवलोकन गर्न आउने पर्यटक तथा पूजाआजा गर्न आउने भक्तजनहरुले पुननिर्माणमा ढिलाई भएको भन्दै गुनासो गर्ने गरेको उनी बताउँछन् । ‘भुकम्प गएको ४ बर्ष पूरा भैसक्यो । पुनर्निर्माणमा किन ढिलाई भयो ? भन्दै गुनासोहरु आईराख्छ’ उनले भने, ‘ठेकेदारले निर्माण सामाग्री अभाव भयो भन्छन् । समयमै काम हुन सकेको छैन ।’
मापदण्ड बिपरीत दरबारको जग
ऐेतिहासिक गोरखा दरबारको जग पुरातात्विक बिभागको मापदण्ड बिपरित गरिएको छ । दरबारको जग बलियो बनाउने भन्दै निर्माण कम्पनीले पुरातात्विक बिभागको मापदण्ड बिपरित पुनर्निर्माण गरेको हो । बिभागको मापदण्ड अनुसार कंक्रिट पदार्थ प्रयोग गर्न पाईंदैन ।
‘पुरातात्विक बिभागको मापदण्ड अनुसार कंक्रिट पदार्थ प्रयोग गर्न नपाईने हो’ दरबार हेरचाह अड्डाका प्रमुख कट्टेलले भने, ‘तर, यो दरबार भतकाएर उत्खनन गर्दा जमिन मुनिसम्म खनेका थिए । जमिन भासिएको थियो । त्यसैले बलियो बनाउन जमिन मुनि जगमा बालुवा सिमेन्ट प्रयोग गरिएको हो । तर, अहिले बालुवा सिमेन्ट हालेको भाग पुरिसकिएको भएर देखिँदैन ।’

दरबार पुननिर्माण गर्दा बालुवा सिमेन्ट प्रयोग गर्नु पुरातात्विक बिभागको मापदण्ड बिपरित भएपनि ईन्जिजियर प्रज्ज्वल न्यौपानेले भने केन्द्रकै स्वीकृतिमा त्यसो गरेको जिकिर गरे । ‘दरबारको जग बनाउँदा बालुवा सिमेन्ट प्रयोग गर्न हामिले केन्द्रकै स्वीकृति लिएका हौँ’ न्यौपानेले भने, ‘दरबार बलियो होस् भनेर त्यसो गरेका हौँ । जगको भित्री भागमा कंक्रिट प्रयोग गरेपनि देखिने भागमा प्रयोग गर्दैनौँ ।’
ठेकेदार भन्छन्ः डिजाइन परिवर्तन र स्रोतको अभावले पुनर्निर्माणमा ढिलाई भयो
कम्पनीका ठेकेदार शुशिलबहादुर श्रेष्ठका अनुसार पुनर्निर्माणको डिजाइन परिवर्तन र आवश्यक निर्माण सामाग्रीको अभावका कारणले समयमै दरबारको पुनर्निर्माण ढिलाई भएको हो ।
‘हामीले चाहेर दरबार ढिलो बनाउन खोजेका हैनौँ । जतिसक्दो छिटो सक्नु हाम्रो लागि पनि राम्रो हो’ उनले भने, ‘३÷४ पटक डिजाइन चेन्ज भयो । बत्ती, पानीदेखि ल्याएका निर्माण सामाग्रीको भण्डार गर्ने ठाउँको समेत समस्या छ । भनेको जस्तो काठ पाईन्न । काम गर्ने दक्ष कर्मचारी पाइन्न । समस्या नै समस्या छ ।’ अहिले दरबारको काम करिब २५ प्रतिशत समपन्न भईसकेको बताउँदै श्रेष्ठले निर्धारित समयभित्रै काम सम्पन्न गर्न जोड दिएको बताउँछन् ।
सम्बन्धित खबर
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?