पोखरामा भारतीयले ज्यानै लिने गरी ठग्न खोजे, होटलको पैसा नतिर्न साहुकै अपहरण (घटना विवरण)

पोखरामा भारतीयले ज्यानै लिने गरी ठग्न खोजे, होटलको पैसा नतिर्न साहुकै अपहरण (घटना विवरण)

apaharan

पोखरा । आफ्नै होटलमा बसेका तीन जना बिहारीहरुले झण्डै ज्यान लिएन शालिग्राम पौडेलको । पोखराको पृथ्वीचोकस्थित होटल निलकमलका सञ्चालक शालिग्राम पौडेललाई अपहरण गरी ज्यान लिन खोज्ने तीन जना भारतीयहरु अहिले कास्की प्रहरी खोरमा छन् ।

भारत विहार बनारपुरका ३९ वर्षीय सुनिल कुमार तिवारी, सोही ठाउँका सुन्दरम तिवारी र अविजित राय प्रहरी नियन्त्रणमा छन् । वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको इन्स्पेक्टर विजय भण्डारीको नेतृत्वको टोलीले उनीहरुलाई स्याङ्जाको फेदीखोलाबाट बुधबार बिहान पक्राउ गरेका थिए । कार्यालय प्रमुख डिएसपी कोमल शाहका अनुसार स्याङ्जा प्रहरीसँग समन्वय गरी अपहरणकारीलाई फेदीखोलाबाटै नियन्त्रणमा लिइएको थियो ।
यस्तो छ घटना विवरणः

स्याङ्जा पुतलीबजार १३ मुसिडाँडा स्थायी घर भएका २९ वर्षीय शालिग्राम पौडेलले कतारमा दुःख गरे । केही रकम जोडजाम गरेर फर्किए । पोखरामै केही व्यवसाय सुरु गर्ने योजना बनाए । नयाँ वर्षको दिनदेखि पृथ्वीचोक स्थित होटल निलकमल सञ्चालन गरे ।

उनको यसै होटलमा गत मंगलबार साँझ तीन जना भारतीयहरु आइपुगे । भारतको विहारबाट पोखरा आएका सुनिलकुमार तिवारी, सुन्दरम तिवारी र अविजित राय मंगलबार साँझ ५ बजे होटल निलकमल छिरेका थिए । त्यस रात होटलमै बसे । झण्डै २५ हजार बराबर खाना र बस्नका लागि खर्च भयो । बुधबार बिहान ८ बजेतिर होटल छाड्न लागे । तर आफुहरुसँग पैसा नभएकोले एटिएमबाट पैसा निकालेर दिने भन्दै उनीहरुले पौडेललाई आफैले ल्याएको गाडिमा राखेर सृजना चोकतर्फ लागे ।

उनीहरुसँग बी आर १ सी डब्लू ५२७४ नम्बरको कार पनि थियो । सो कारमा पौडेललाई चढाएर राष्ट्र बैंक चोक हुँदै ड्यामसाईड पुगेर एक होटलमा चिया पनि पिलाए । पृथ्वीचोकबाट ड्यामसाईडसम्म पुग्दा आफुलाई शंका लागेकोले पौडेलले तिमीहरुले के गर्न खोजेको ? भन्दै प्रश्न गरे । पौडेलले प्रहरी र आफन्तलाई फोन गर्न खोज्दा उनीहरुले मोबाईल नियन्त्रणमा लिएर मुख थुनेर कुट्दै घाँटी अठ्याएका थिए ।

गुडिरहेको गाडिबाट चिच्याउँदै उनले खुट्टाले कारको ढोकामा हान्दा ढोका खुलेर ग १ ज १८८९ नंम्बरको ट्याक्सिसँग ठोकिएको थियो । ट्याक्सिका चालक तोयनाराण ढकालले ‘मलाई बचाउ’ भन्ने आवाज सुनेपछि अपहरणकारीले गुडिरहेको गाडीबाट पौडेललाई बाहिर हुत्याईदिएका थिए ।

सडकमा बजारिएका पौडेललार्ई स्थानीयले उद्धार गरी छोरेपाटन प्रहरी चौकी पु¥याइ बैदाम प्रहरीलाई खबर गरेका थिए । तत्कालै केही युवाले उक्त गाडिको पिछा गरेका थिए । पौडेललाई अपहरण गरेर भागेको कार भोटे क्याम्प हुँदै प्रहरी चौकी छलेर स्याङ्जाको फेदीखोला पुगेको थियो । फेदीखोलामा स्याङ्जा प्रहरीको समन्वयमा कार र अपहरणकारी समातिए । भइरहेको छ । अपहरणमा परेका पौडेलको अहिले पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । उनको दुवै हात र खुट्टामा चोट लागेको छ ।

अपहरणकारी तीन जनालाई मुद्धा थप

अपहरणमा संलग्न ३ भारतीय नागरिकमाथि म्याद थप गरी अनुसन्धान थालिएको छ । उनीहरुलाई कास्की प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान गरेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा बैंक खाता र उनीहरुको सम्बन्धबारे अनुसन्धान गर्न बाँकी रहेको अनुसन्धान अधिकृत बताउँछन् । उनीहरुलाई शरीर बन्धक र अपहरणसम्बन्धीको मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ