आफैले दिएको पैसा फिर्ता माग्दा खुर्सानीको धुलो छर्केर हत्या गर्न खोज्ने ३ युवा पक्राउ

आफैले दिएको पैसा फिर्ता माग्दा खुर्सानीको धुलो छर्केर हत्या गर्न खोज्ने ३ युवा पक्राउ

pakrau

रुकुम पश्चिम – घटना सुन्दा कुनै चलचित्रमा देखिएको कथा जस्तो लाग्छ । आफूले लिएको पैसा फिर्ता गर्नुको साटो ज्यान मार्ने योजना ।  त्यो पनि आँखामा खुर्सानीको धुलो छर्केर, टाउकोमा सिरानीको खोल छिराएर ढुङ्गा र दाउराले कुटेर !

शुक्रबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पत्रकार सम्मेलनमार्फत त्यस घटनाका आरोपीलाई सार्वजनिक गरेको छ । प्रहरीले रुकुम पूर्वका एक दम्पतीको आँखामा खुर्सानीको धुलो हाली कुटपिट गरेर ज्यान लिन खोजेको आरोपमा ३ जना युवालाई पक्राउ गरेको हो ।

भुमे गाउँपालिका वडा नं. ६ बस्ने डम्बर बुढा र उहाँको श्रीमती सीता घर्तीको आँखाको खुर्सानीको धुलो हालेर कुटपिट गर्ने ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं. १ बस्ने २० वर्षीय टेकबहादुर बुढा, १९ वर्षीय प्रकाश बुढा र २२ वर्षीय कर्णबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घटनामा संलग्न कृष्ण बुढा भनेर फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार, पक्राउ परेकामध्ये टेकबहादुरले डम्बर र उहाँको श्रीमती सीताबाट रातो च्याउ उपलब्ध गराइदिने भन्दै ८५ हजार लिएको र फिर्ता माग्दा ज्यान मार्नेगरी योजना बनाएका थिए ।

टेकबहादुरले ‘बिहान पैसा दिन्छु’ भन्दै आठबिसकोट नगरपालिका वडा नं. ६ स्थित एक होटेलमा बोलाएका थिए । गएको बुधबार बिहानै बास बसेको होटेलबाट बोलाएर वडा नं. ६ मा रहेको ढाडथलको पुल नजिक पुर्‍याएर दुवैको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट समेत गरेका थिए ।

डीएसपी खड्काका अनुसार, पक्राउ परेका टेकबहादुरले प्रकाश, कर्ण र कृष्णसँग बसेर योजना बनाइ घटना गराएका थिए । आँखामा खुर्सानी छर्केर सिरानीको खोल टाउकोमा छिराई दुवै जनालाई दाउरा र ढुङ्गाले हानेका थिए ।

‘डम्बरलाई मर्यो भनेर फालेका रहेछन्’, डीएसपी खड्काले भन्नुभयो, ‘सीतालाई पनि मार्ने योजनाअनुसार पुलबाट नदीमा फाल्न खोज्दा हारगुहार गरेपछि स्थानीयले थाहा पाएको देखिन्छ ।’ पीडित डम्बर र सीताले टेकबहादुरबाट पैसा फिर्ता माग्ने र यार्सागुम्बा खोजीमा त्यतैबाट डोल्पामा जाने याेजनामा त्यहाँ पुगेका थिए ।

त्यसपछि भागेका उनीहरुलाई प्रहरीले बुधबार दिउँसो नै पक्राउ गरेको थियो । फरार रहेका कृष्ण बुढाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।ujyaaloonline.com

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ