खसी भन्दै बाख्रीको मासु बेच्नेलाई ५० हजार जरिवाना !

खसी भन्दै बाख्रीको मासु बेच्नेलाई ५० हजार जरिवाना !

masu-pasal-anugaman-2

नेपालगञ्ज – बुढापाकाहरु अहिले पनि नेपालगञ्जलाई चोर बजार भन्छन् । पहाडबाट हाट गर्न आउने हटारुलाई यहाँका व्यवसायीले विभिन्न प्रकारले लुट्थे, ठग्थे भन्ने किम्बदन्ती नै रहेको छ ।

नेपालगञ्जलाई लागेको यी आरोप भनौँ या किम्वदन्ती धेरै पुराना भइसके । तर बजारमा अहिले पनि विभिन्न प्रकारका ठगीका कुराहरु बाहिर आउदा बुढापाकाले भनेको कुरालाई बल पुग्ने गरेको छ । शुक्रबार संयुक्त बजार अनुगमनका क्रममा खसी भन्दै बाख्रीको मासु बेचेको पाइएपछि पुरानो थेगो चोरबजारको नयाँ रुप बाहिर आएको छ । यद्यपि, खसीको भनेर बाख्रीको मासु बेचेकै भरमा नेपालगञ्जलाई चोर बजार भनिएको होइन ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, पशु क्वारेन्टाइनका डा. शितलबाबु श्रेष्ठ, बाणिज्य कार्यालयका कृष्ण पौडेल, उपमहानगरपालिका र प्रहरीको टोलीले मासु पसल अनुगमन गर्दा रानीतलाउ नजिकको बब्लु फ्रेस हाउसमा बाख्री काट्ने गरेको फेला पारेको हो ।

अनुगमन टोलीले पसल सञ्चालक सवानअलि कुरैसीलाई ५० हजार जरिवाना गरेको छ । नेपालगञ्जमा खसी भन्दै बाख्रा काट्ने कुरा नयाँ भने होइन ।

‘दुई वटा बाख्री काट्न ठिक्क पारेको अवस्थामा भेटियो, बाख्राका छाला पनि भेटिएको थियो । खासमा पसले कुरैसीले खसी र बाख्रीको मूल्य सूची टाँसेका थिएनन्, बाणिज्य कार्यालयका प्रमुख पौडेलले भने, खसीको मूल्यमा बाख्रीको मासु बेचेको पाइएपछि ५० हजार जरिवाना गरेको हौं ।’

अनुगमन टोलीले पहिलो पटक ठाउँका ठाउँ यति ठूलो जरिवाना गरेको थियो । व्यापारी न पर्‍यो केही सहयोग गरिदिन्छन् कि भनेर कुुरैसीले नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यलाई फोन गरेर बोलाए । संघका अध्यक्ष बैश्यले पनि खसी भनेर बाख्री नै काटेको भएपनि अलिकति जरिवाना कम गरिदिन आग्रह गरिरहे ।

अध्यक्ष बैश्य यति हतारमा थिए कि उनलाई हेल्मेट खोल्ने मौकासमेत मिलेको थिएन । अनुगमन टोलीले बैश्यको कुरा मानेन । कुरैसीलाई उपभोक्ता ठगीमा कारबाही गरियो ।

अनुगमन टोलीले दर्ता नभएका चार वटा मासु पसललाई बन्द गरिदिएको छ । दर्ता गरेरमात्रै खोल्न निर्देशन दिएको छ । धम्बोझीमा बाटोमा रहेको मासु पसलका औजारहरु नियन्त्रणमा लिइएको छ । पछिल्लो दिनमा अनुगमन समिति ‘निर्मम’ बन्दै गएको छ । ठाउँका ठाउँ कारबाही गर्न थालेको छ । अनुगमन फितलो हुँदा व्यवसायीले उपभोक्तालाई ठग्ने गरेका थिए ।deshsanchar

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ