प्रधानमन्त्रीले मापदण्ड मिच्नेको साथ छोडे !

प्रधानमन्त्रीले मापदण्ड मिच्नेको साथ छोडे !

man-sarobar

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मापदण्ड विपरीत बनाएको होटल उद्घाटन कार्यक्रम अन्तिम समयमा रद्द गरेका छन् । पोखराको लेकसाइडमा बनाइएको स्विस इन्टरनेसनल होटल सरोवरको उद्घाटन शनिबार प्रधानमन्त्रीबाट गराउने गरी कार्यक्रम तय गरिएको थियो। भ्रष्टचारी ठहर भरत पहारीद्धारा निर्मित मापदण्ड विपरीतको होटल उद्घाटनसहित ३ कार्यक्रमका लागि ओली आज पोखरा पुगेका थिए।

स्थानीय नेताकार्यकर्ता तथा पोखरा नगरपालिकाका मेयर मान बहादुर जिसीले मापदण्डविपरीत बनाएको होटलको प्रधानमन्त्रीले उद्घाटन गर्न नहुने राय व्यक्त गरेका थिए। प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यकमबारे सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सामाजिक सञ्जालमा समेत आलोचना भएको थियो।

शनिबार बिहान १०ः३० मा होटल उद्घाटन गर्ने कार्यतालिकालाई अन्तिम समयमा प्रधानमन्त्रीले रोकेका हुन्। प्रधानमन्त्री ओलीले होटलको निरीक्षण मात्रै गरी अर्को कार्यक्रममा पुगेका थिए। मापदण्डविपरीत बनाइएको होटल भ्रष्टाचारी ठहर भएका व्यक्तिको भएको सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्रधानमन्त्रीले होटलको निरीक्षण मात्रै गरेर फर्किएका हुन्।

पोखरा महानगरमा ३५ मिटरभन्दा अग्लो भवन बनाउन नपाइने पुरानो मापदण्ड थियो। वर्तमान प्रावधानमा भने यसलाई घटाएर १७ मिटर अग्लो मात्रै बनाउन पाइने मापदण्ड तोकिएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिले बताए। प्रधानमन्त्रीले उद्घाटन गर्ने भनिएको स्विस इन्टरनेसनल होटल सरोवर भने १२ तलाको बनाइएको छ।

शनिबार बिहान नेपाल लाइभसँगको कुराकानीमा प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले पोखरामा तीन कार्यक्रममा प्रधानमन्त्री सरिक हुने तय भएको बताएका थिए । पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नाममा स्थापित स्मृति प्रतिष्ठान, होटलको उद्घाटन र नेपाल स्काउटको कार्यक्रम रहेको अधिकारीले जानकारी गराएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ