शिक्षिकाले पिट्दा भाँचियो पाँच बालिकाको हात

शिक्षिकाले पिट्दा भाँचियो पाँच बालिकाको हात

ghaite student

विद्यालयमा विद्यार्थीलाई पढाउँदा सजाय दिन पाइँदैन। कुटपिट गर्नु त झन् बालबालिकाको अधिकारविपरित हो। तर रोल्पामा भने एक शिक्षिकाले विद्यार्थीलाई कुटपिटमात्र गरेकी छैनन्, हातै भाँचिदिएकी छन्। एकजनामात्र हो र पाँच जना विद्यार्थीको! रोल्पामा रुम्टीगढी गाउँपालिका-८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले १४ विद्यार्थीलाई कुटपिट गरेकी छन्। घाइतेमध्ये पाँच छात्राको हात भाँचिएको छ।

प्रधानाध्यापक झगबहादुर भण्डारीले गत जेठ १२ गते पुनलाई निमित्त प्रअको जिम्मेवारी लक्ष्मी पुनलाई दिएर होलेरी गएका थिए। त्यहाँ प्रअहरूको  दुई दिने तालिम थियो। सोही दिन पुनले ढिला आएको भन्दै विद्यार्थीलाई कुटपिट गरेकी थिइन्।

उनको कुटाइले  विमला रोका,भिमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती र १शान्ता नेपालीको हात भाँचिएको छ। शिक्षिकाको कुटाइले हात भाँचिएपछि उनीहरू उपचारका लागि दाङ आएका थिए। आइतबार तुलसीपुरस्थित साहारा पोलिक्लिनिकमा उनीहरूको प्लाष्टर गरिएको सञ्चालक विष्णु शर्माले बताए। उपचारमा संलग्न डा. घनश्याम शर्माका अनुसार घाइते बालिकाहरूको जोर्नी, नाडी, कुइनो र काँधमा  चोटपटक लागेको छ।  उनीहरूको हात तथा अनुहार समेत सुन्निएको छ। सबैलाई १५ दिनपछि फेरि फलोअप चेकअपका लागि डाकिएको डा.शर्माले बताए।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसपी दीपक खड्काले शिक्षिका पुनले उक्त दिन १४ जना बालबालिकालाई कुटपिट गरेकोमध्ये पाँच जना छात्राको हात फ्र्याक्चर भएको बताए। घटनाबारे थाहा भएपछि शिक्षिकालाई पक्रन प्रहरी टोली पठाइएको छ। ‘मैले पनि खबर सार्वजनिक भएपछि मात्रै थाहा पाए र तुरुन्तै इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख तथा प्रहरी निरीक्षक मेघनाथ चौलागाईंलाई कुटपिट गर्ने शिक्षिकालाई पक्राउ गर्न आदेश दिएर पठाएको छु,’ डिएसपी खड्काले भने।

घाइतेमध्ये कक्षा ८ मा अध्ययनरत १४ वर्षीया गौरी घर्तीले कपाल राम्रोसँग किन नबाटेको, किन लिपिष्टिक लगाएको, गालामा कोठी किन बनाएको?  भन्दै सालको काठको पटरी (चिरपट)ले शिक्षिकाले कुटेको जानकारी दिइन्। ‘मैले लिपिष्टिक लगाएकै थिइनँ,कपाल पनि दुई चुल्ठी बाटेकी थिएँ,’ घर्तीले भनिन्, ‘मेरो गालाको जन्मजातको कोठीलाई किन कोठी बनाइस् भनेर सालको चिरपटले हान्नु भयो।’ घाइते छात्रा घर्तीका अनुसार विद्यालयको बिहानी प्राथर्ना सुरू हुनुभन्दा ५ मिनेट ढिला गरी पुगेका कक्षा ८ मा अध्ययनरत भीमकुमारी बाँठा र कक्षा ६ मा अध्ययनरत  निर्मला पुनलाई शिक्षिका पुनले पनि सार्वजनिक रूपमै विद्यालयको प्राङ्गणमै लाइन लगाएर चिरपटले कुटेकी थिइन्।

‘कसैलाई किन ढिला आइस् र कसैलाई किन कपाल राम्रो बाटिनस् भनेर कुट्नु भयो,’ घाइते छात्रा गौरी घर्तीले भनिन्, ‘जहाँ हाम्रो कुनै गल्ती नै थिएन।’ उक्त दिन फर्केर आउँदा विद्यालय छुट्टी भइसकेको हुँदा अर्को दिन सामूहिक रूपमा सोध्दा ‘लक्ष्मी म्याडमले ढिला आएको हुँदा सबैलाई एक/एक लठ्ठी हानेको’ बताएको प्रअ भण्डारीले बताए। वडा अध्यक्ष लगायतको रोहवरमा त्यो उपचार खर्च व्यहोर्ने गरी कुरा मिलेकोको बाहेक अन्य केही थाहा नभएको उनले बताए।विद्यार्थीमाथि कुटपिट भएपछि वडा नं. ८ का वडा अध्यक्ष भीमबहादुर घर्तीको रोहबरमा औषधि उपचार गर्ने सहमति गरिएको थियो।अर्का अभिभावक जीतबहादुर रोकाले घटनालाई स्थानीयस्तरमै मिलाएर ढाकछोप गर्न खोजिएको आरोप लगाए।

वडा अध्यक्ष भीमबहादुर घर्तीको रोहवरमा घटना सार्वजनिक हुन नदिन र स्थानीयस्तरमा मिलाउन धेरै प्रयास भए पनि त्यो सम्भव नभएपछि मात्रै घटना सार्वजनिक हुन पुगेको हो। ‘सामान्य घटना हो, तपाईंहरू मिल्नु पर्छ भन्ने निरन्तर दबाब थियो। हामीले पनि त्यसमा अन्यथा मानेका थिएनौं। तर हात सञ्चो नभएपछि हामी बाध्य भयौं र मिडियाले हामीलाई थाहा पाएर पछ्याउँदै आएको हो,’ रोकाले भने। पुनले कक्षा १ मा पढ्नेदेखि ८ कक्षासम्म पढ्ने विद्यार्थीलाई कुटेकी हुन्। कक्षा १ मा अध्ययनरत प्रेम पुन, सन्तोष बुढामगर, दीपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशिला बिक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली घर्तीलगायतमाथि शिक्षिका पुनले कुटपिट गरेकी थिइन्।

अनुशासन सिकाउन खोजेकी हुँ :  शिक्षिका लक्ष्मी

शिक्षिका लक्ष्मी पुनले आफूले गल्ती गरेको अस्वीकार गरेकी छन् । ‘मैले कुनै रिसराग र बदलाको भावनाले बालबालिकालाई कुटेकी हैन,’ शिक्षिका लक्ष्मीले भनिन्,‘उनीहरूलाई अनुशासन सिकाउन खोजेको मात्रै हो, तर त्यो अलिकति बढी भएको मात्रै हो।’

गाउँघरकै भाइ बहिनीहरू नबिग्रिउन, गलत बाटोमा नलागून् भनेर आफूले सबैलाई विद्यालयको प्रांगणमा एक/ एक लठ्ठी मात्रै हिर्काएको उनले दाबी गरिन् । ‘मैले माफी मागिसकेकी छु। कुरा मिलिसकेको छ’, पुनले भनिन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ