विप्लवहरुले प्रचण्डलाई मारेर कस्तो खालको राज्यसत्ता ल्याउन खोजेको हो ? : विश्वप्रकाश शर्मा

विप्लवहरुले प्रचण्डलाई मारेर कस्तो खालको राज्यसत्ता ल्याउन खोजेको हो ? : विश्वप्रकाश शर्मा

bishwo prakash shrama

बुटवल– नेपाली काँग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव नेतृत्वको नेकपालाई मारकाटको विद्रोह छाडेर शान्तिपूर्ण मुलधारको राजनीतिमा आउन सुझाव दिएका छन् । नेपाली काँग्रेस गुल्मीको राष्ट्रिय जागरण अभियान अन्तर्गत सदरमुकाम तम्घासमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ गुल्मीले आयोजना गरेको  विशाल आमसभामा  नेता शर्माले विप्लवलाई यस्तो सुझाव दिएका हुन् ।

‘विप्लवहरुले प्रचण्डलाई मार्ने  लिस्टमा राखेको बताइन्छ’ उनले भने, ‘अहिलेको प्रचण्ड हिजोको प्रचण्ड होइन । हिजोको प्रचण्ड बुलेट्बाट  शक्ति आउँछ भन्ने प्रचण्ड हुनुहुन्थ्यो, अहिलेको प्रचण्ड ब्यालेटबाट शक्ति आउँछ भन्ने हुनुहुन्छ  । शान्ति प्रक्रियामा प्रचण्डलाई पनि बाँच्ने अधिकार छ  । अखिर विप्लवहरुले प्रचण्डलाई मारेर कस्तो खालको राज्यसत्ता ल्याउन खोजेको हो ?’

उनले प्रधानमन्त्री केपी ओलीसहित सत्तारुढहरु र विप्लवहरु एउटै कम्युनिष्ट भएको बताउँदै प्रधानमन्त्री ओलीलाई विप्लव समूहको बलि नचढाउन समेत सुझाव दिए । ‘तपाईहरु पनि कम्युनिष्ट नै हो विप्लवहरु पनि कम्युनिष्ट नै हो । यसरी जात थर गोत्रा सबै एउटै भएका विप्लवहलाई बलि चढाउने र रगतको खोला बगाउने काम नगर्नुहोस् ।’

उनले गुल्मीका सहिद शम्शेरबहादुर खत्रीको वलिदानीको स्मरण गर्दै भने – ‘अहिले सम्मको परिवर्तनका लागि काँग्रेसका पनि तमाम सपुतहरुले रगतको खोला बगाएका थिए  । यसरी हजारौंको ठुलो बलिदानीबाट ल्याइएको लोकतन्त्र त्यति सजिलै कसैले खोस्न सक्दैन ।’

उनले  ओली  सरकारको  भने खोइरो खनेका थिए । कार्यक्रममा  नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, तरुण दल केन्द्रिय समितिका अध्यक्ष  जितजङ्ग बस्नेत , केन्द्रिय प्रशिक्षण विभागका नेता माधव नेपाल, नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुदर्शन खनाल, महिला संघ गुल्मीकी अध्यक्ष लक्ष्मी पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रवक्ता शर्मा लगायतका नेताहरुले नेकपाबाट काँग्रेसमा प्रवेश गरेका दर्जन भन्दा बढी कार्यकर्ताहरुलाई स्वागत गरेका थिए ।  नेपाल तरुण दल गुल्मीका जिल्ला अध्यक्ष भरत भलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तरुण दलका क्षेत्रीय  अध्यक्ष झविन्द्र अर्यालको स्वागत मन्तव्य र नेपाल विद्यार्थी संघका अध्यक्ष झविन्द्र पाण्डेको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ