पोखरा विजयपुर चेकिङमा घुस मागेको आरोपमा दुई ट्राफिक हिरासतमा

पोखरा विजयपुर चेकिङमा घुस मागेको आरोपमा दुई ट्राफिक हिरासतमा

Traffic

रञ्जन अधिकारी, पोखरा । दुई ट्राफिक जवान आफै प्रहरी हिरासतमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कार्यरत ट्राफिक जवानहरु हरिश्चन्द्र रिमाल र मोहनसिंह बिकमाथि घुस मागेको आरोप लागेको छ ।

चेकिङका क्रममा घुस मागेपछि चालकको उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको कास्की ट्राफिकले जनाएको छ । रिमाल र बिक समेतको ड्युटी आइतबार दिउँसो पोखराको विजयपुर खोला पुलमा थियो । पुलको अवस्थाका कारण हेभीवेट गाडीहरु त्यहाँ आवतजावत गर्न मिल्दैन । त्यसैले, ट्राफिक प्रहरी पुलमा बस्ने गर्छ । चेकिङ प्रयोजन भन्दा पनि त्यहाँ गाडी आवतजावत सामान्य बनाउन ट्राफिक खटाइने गरेको छ । उनीहरुले चेकिङमै उत्रेर पैसा मागेको आरोप लागेको हो ।

विहान १० देखि दिउँसो २ बजेसम्म ड्युटी परेका जवानद्वयले कलेज पढ्ने विद्यार्थीसँग पैसा लिन खोजेको उजुरी परेको हो । त्यसबारे गुनासो भएपछि उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाम लगिएको हो । ‘उनीहरुसँग बयान भएको छैन । पैसा लिए नलिएको बारे भोलि उनीहरुले भन्लान् ।’ कास्की ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्रले भने – ‘यदि घुस मागेकै प्रमाणित भए नियमानुसार कारबाही हुन्छ । अहिले वडा कार्यालय बैदामकै हिरासतमा छन् ।’

वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक विजय भण्डारीले दुई जनालाई नियन्त्रणमा राख्न वडा पठाएको पुष्टि गर्दै अहिले आफ्नो कार्यालयमा रहेको र उनीहरुसँगको बयान तथा अनुसन्धानपछि घुस लिए नलिएको बारे पुष्टि हुने बताए ।

यसैबीच, अहिले कास्की ट्राफिक घुस काण्डले तातेको छ । लाइसेन्स बितरणमा यातायात कार्यालय र ट्राफिक प्रहरीको सेटिङ हुने गरेको समाचार टाउको दुखाइ बनेको छ । ट्राफिक प्रहरी प्रमुख मिश्रले आफ्नो चरित्र हत्या गरिएको गुनासो गरे । कुनै पनि लाइसेन्स सेटिङमा आफ्नो संलग्नता नरहेको उनको जिकिर छ । यातायात कार्यालयसँग कास्की ट्राफिक कार्यालयको सेटिङमा फेल हुनेलाई पनि लाइसेन्स दिनेबारेको समाचार आएको र त्यसमा आफूलाई मुछेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले गुनासो गरेका छन् ।

कास्की ट्राफिकका प्रमुख इन्स्पेक्टर मुरारी मिश्रको संरक्षणमा असई केशर मल्लले लाइसेन्समा सेटिङ गर्दै आएको समाचार सार्वजनिक भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले लाइसेन्स बनाउँदा लिखित परीक्षा र ट्रायल पास गराइदिने भन्दै ४० हजार घुस लिंदालिंदै २०७६ जेठ १३ मा हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरा, कास्कीका द्वितीय अपरेटर कुमार लामिछाने र मेट्रो ड्राइभिङ इस्न्टिच्युट, पोखराका सञ्चालक खगेन्द्रप्रसाद काफ्लेलाई पक्राउ गरेको थियो । उनीहरुको बयान मार्फत नै यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरीको सेटिङमा लिखित र ट्रायलमा फेल हुनेहरुले पनि घुस दिएपछि लाइसेन्स पाउने गरेको समाचार प्रकाशित भएको थियो । पैसा खाने आरोप लागेका असई केशर मल्ल बिदामा बसेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ