म्याग्दीस्थित अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण भएको छ । पर्यटन कार्यालय पोखराको सहयोगमा अन्नपूर्ण खोलामा थप दुई झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छन् । पदमार्गअन्तर्गत फुतफुते झरनामा ३० मिटर र गुराँसे ओढारमा २५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।
कार्यालयको रु १० लाख अनुदान र स्थानीयवासीको श्रमदानमा झोलुङ्गे पुल निर्माण गरिएको गाउँ संरक्षण व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए । यस वर्ष घोरल खसेको भिरको फेदीमा ३६ मिटर र भुसकेतको जङ्गलस्थित अन्नपूर्ण खोलामा ३४ मिटर लामो झोलुङ्गे पुल निर्माण शुरु भएको छ ।
प्रदेशको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले झोलुङ्गे पुल बनाउन रु १५ लाख विनियोजन गरेको छ । यसअघि छोटेपामा विसं २०६४ मा निर्माण भएको झोलुङ्गे पुल बाढीले बगाएको थियो । अन्नपूर्ण आधार शिविर जाने पदमार्गलाई सुरक्षित र व्यवस्थित बनाउन झोलुङ्गे पुल निर्माण गरिएको उपभोक्ता समितिका चन्द्रजित पुनले बताए ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गमा पर्ने अन्नपूर्ण र निलगिरिखोलामा हाल काठका अस्थायी पुल (फट्के) आवतजावत गरिँदै आएको छ । केही ठाउँमा रुख ढलाएर खोलामाथि राखेर आवतजावत गर्ने बाटो बनाइएको छ ।
विसं २०६८ मा नारच्याङका बासिन्दाले आधार शिविर पुग्ने पदमार्ग पहिचान गरेका थिए । यसअघि हिमाल आरोहीहरु मुस्ताङको ताक्लुङ हुँदै करीब पाँच दिन भिर र जङ्गलमा जोखिमपूर्ण यात्रा गरेर आधार शिविर पुग्ने गर्दथे । नारच्याङ गाउँदेखि तीन दिनको पैदलयात्रापछि आधार शिविर पुग्न सकिन्छ । पदमार्ग पहिचान भएपछि सरकारी निकाय र स्थानीयवासीको सक्रियतामा पूर्वाधार निर्माणले तीव्रता पाएको छ ।
यस वर्ष हुमखोलादेखि आधार शिविर जोड्ने पदमार्ग स्तरोन्नतिको काम भइरहेको छ । नारच्याङका करीब ३० मजदुर एक महीनायता जङ्गलमै बास बसेर पदमार्ग स्तरोन्नतिको काममा जुटेका छन् । गत वर्ष मिस्त्रीखोला आधार शिविरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को रु १० लाख सहयोगमा २० जना क्षमताको आश्रयस्थल निर्माण गरिएको थियो । यस वर्ष एक्यापको रु १५ लाख सहयोगमा छोटेपा र आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा १५/१५ जना क्षमताको आश्रयस्थल बनाउन लागिएको छ ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर नजिकबाट हिमालको अवलोकन, हिमताल, वन्यजन्तु, पक्षी, वनस्पतिको अवलोकन गर्न सकिन्छ ।रासस
सम्बन्धित खबर
म्याग्दीमा विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
प्रकृति र संस्कृतिको संगम तीनचुले : पूर्वाधार थपिँदै, पर्यटक पर्खिंदै
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?