पोखराका कांग्रेसनिकट जनप्रतिनिधि आन्दोलित, महानगरमा लगाए ताला

पोखराका कांग्रेसनिकट जनप्रतिनिधि आन्दोलित, महानगरमा लगाए ताला

congress-andolan-750×375

पोखरा । पोखरा महानगरभित्रका कांग्रेसनिकट जनप्रतिनिधिहरु आन्दोलित भएका छन् । महानगरले पाँचौ नगरसभामा प्रस्तुत गरेको रेडबुक र महानगरका मेयरको अभिव्यक्ति सच्याउनु पर्ने माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले बिहीबार महानगरपालिकाको मुलगेटमै ताला लगाएका छन् । बुधबारको बैठकमा कांग्रेसनिकट वडाध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रेडबुक च्यातेका थिए । कांग्रेसको विरोधकैबीच महानगरको बजेट बहुमतले पारित भइसकेको छ । तर महानगरले प्रस्तुत गरेको रेडबुक छलफल नै नभई पारित गरिएको पोखरा–९ का वडाध्यक्ष रामराज लामिछानको भनाई छ । पछि छलफल नै नभई पारित गरिएको भनेर कुरा राख्दा मेयर जीसीबाट धम्कीपूर्ण अभिव्यक्ति आएको लामिछाने बताउँछन् ।

महानगरले ल्याएको बजेट समानुपातिक नभई भेदभावपूर्ण रहेको लामिछानले आरोप लगाए । रेडबुकबारे छलफलका लागि कुरा राख्न समय नदिएको भन्दै आक्रोशित वडा-४ का अध्यक्ष शंकर बास्तोलाले कुर्ची र सोफा फाल्नुका साथै नगरसभामा राखिएको एअर कुलरसमेत लडाएका थिए । यता महानगरपालिकाले भने बजेटमा कुनै विभेद नगरिएको बताएको छ ।

महानगरका मेयर मानबहादुर जिसीले बजेट समानुपातिक भएको बताएका हुन् । आन्दोलित भएपनि कार्यालयको दैनिक कामकाज प्रभावित नहुने लामिछानेले स्पष्ट पारे । आफ्ना माग पूरा नभए आन्दोलन चर्काएर लैजाने उनको भनाई छ । महानगरले गएको मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको थियो । बजेटको ३६ प्रतिशत रकम भौतिक पूर्वाधार निर्माणमा केन्द्रित छ । १ सय ७० सदस्य रहेको पोखराको नगरसभामा ४८ जना सदस्य कांग्रेसका छन् भने बाँकी सबै नेकपाका सदस्य छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ