पोखरामा चिनियाँको सक्रियता ! एक दिनमै बन्यो विजयपुर खोलामा डाइभर्सन (भिडियो)

पोखरामा चिनियाँको सक्रियता ! एक दिनमै बन्यो विजयपुर खोलामा डाइभर्सन (भिडियो)

bijaypur pul

पोखरा । विजयपुर खोलामा मंगलबार नै डाइभर्सन बनेको छ । पोखरा विमानस्थल निर्माण गरिरहेका चिनियाँ कामदारहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकोआग्रहमा १ दिनमै डाइभर्सन बनाएका हुन् । चिनियाँ सिएएमसी इञ्जिनियरिङ कम्पनी र सडक डिभिजन कार्यालय पोखराले संयुक्त रुपमा २४ घण्टा भित्रै पुनर्निमाणको काम सम्पन्न गरेको हो ।

आइतबार राति भत्किएको डाइभर्सन भएकै ठाउँमा मंगलबार साँझसम्ममा डाइभर्सन बनेको हो । सोमबार रातिदेखि नै सामान झार्न सुरु गर्ने चिनियाँ अधिकारीले मुख्यमन्त्रीलाई बचन दिएका छन् । मुख्यमन्त्रीले सोमबार साँझ विजयपुर पुगी बगेको डाइभर्सनसमेत अवलोकन गरेर चिनियाँहरुसँग कुराकानी गरेका थिए ।

https://www.facebook.com/gandaknews/videos/406614673378047/

भिडियोः नारायण आचार्य

मुख्यमन्त्री गुरुङले बेलिब्रिज बन्न सोचेभन्दा अझै समय लाग्ने देखिएको हुँदा तुरुन्तै डाइभर्सन बनाउन आग्रह गरेका थिए । सेती नहरबाट विजयपुर खोलामा मिसिएको पानी घटाएर काम सुरु भएको थियो । ठूलो पानी नपर्दै खोलामा आएको बाढीका कारण डाइभर्सन नै बगाएपछि अब बेलिब्रिजकै काम छिटो गर्न ठेकेदारलाई भनिएको सडक डिभिजन पोखराका प्रमुख हरिकुमार पोखरेलले बताए । असारसम्म बन्ने भनिएको बेलिब्रिज भदौसम्म पनि नबन्ने देखिएको छ । बेलिब्रिज निर्माणको जिम्मा सगरमाथा-जेजे (जेभी) ले पाएको हो । सडक र ठेकेदार कम्पनीसँग वैशाख २२ गते सम्झौता भएर काम धमाधम भइरहेको छ । आउँदो असार मसान्तभित्रमा नै निर्माण सक्ने गरी ठेकेदार कम्पनीले जिम्मा पाएको थियो ।

तर निरन्तर वर्षाका कारण समयमै बेलिब्रिज निर्माण भइसक्ने लक्ष्य भने पूरा हुने देखिँदैन । हाल बेलिब्रिज राख्ने बेसमेन्ट तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ । बेलिब्रिजका सामग्री भने पूर्वको इटहरीबाट ढुवानी भइरहेको छ । अझै १ साता ढुवानीमै समय लाग्ने डिभिजनका इन्जिनियर बताउँछन् । कम्तीमा १५ दिन फिटिङ गर्न समय लाग्ने उनीहरुको भनाइ छ । २ करोड २० लाख रुपैयाँ लागतमा उक्त कम्पनीले बेलिब्रिजको निर्माण ठेक्का पाएको थियो ।

Pic. Sudarshan Ranjit

डाइभर्सन नै पानीको बहावले बगाउदा निर्माण हुँदै गरेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको काम समेत दुई दिन प्रभावित भयो । सामानहरु धमाधम भित्रिरहेका बेला अवरोध आएको हो । १० टन भारवान क्षमताका मालवाहक सवारी साधनहरु गगनगौंडासम्मै लाईन लागेका थिए । गाडीका मजदुरहरुलाई समस्या भएको थियो । ७ टनसम्मका सवारी पोखरा ३३, बागमारा हुँदै पोखरा भित्रिएका थिए ।

विजयपुर पुल ठाउँ ठाउँमा चर्किएका कारण जीर्ण हुँदा १० टन माथि भार भएका सवारीलाई सोही डाईभर्सनबाट आवतजावत गराउँदै आइएको थियो । बाढीले गर्दा यसअघि चर्किएर जोखिमयुक्त बनेको विजयपुरको पक्की पुलमा लगाएको फलामको सपोर्ट समेत बगायो ।

विकल्पका रूपमा लेखनाथबाट सेती नदिको लामगादी, पटनेरी लगायतका स्थानमा रहेका पुलबाट हलुका सवारी साधन चढाउन सकिने भए पनि दोबिल्लामा रहेको पुल समेत जोखिमपूर्ण रहेकाले लोड गाडीहरु आवतजावतमा कठिन छ । पोखरा २६ र पोखरा १४ जोड्ने विजयपुर पुलबाट दैनिक पोखरामा ६ हजार भन्दा बढि सवारी आवत जावत गर्ने गर्दछन् । अहिले भएको पुल २०५९ सालमा निर्माण शुरु गरेर २०६४ सालमा सञ्चालनमा आएको थियो । पुलको लम्बाइ ७४ दशमलव २ मिटर रहेको छ । गत माघमा पुलको नियमित मर्मत सम्भारका क्रममा पुलको सपोर्टमा रहेका फलाम ठाउँ ठाउँमा चर्केको देखिएको थियो । त्यसपछि मालबाहक गाडी सञ्चालनमा रोक लगाइ डाइभर्सन बनाइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ