कसरी भयो विप्लव समूहबाट पहिलो पटक प्रहरीको मृत्यु हुने घटना ? होटलमा भएको थियो जम्काभेट

कसरी भयो विप्लव समूहबाट पहिलो पटक प्रहरीको मृत्यु हुने घटना ? होटलमा भएको थियो जम्काभेट

Bhojpur Goli

भोजपुरमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच भएको भिडन्तमा पहिलो पटक प्रहरीको ज्यान गयो । भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो । घटनामा प्रहरी जवान सोमनाथ भट्टराई घाइते भएका छन्। कुमको हड्डी भाँचिएका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

शनिबार बिहानै चिया नास्ताका लागि नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका ओखलढुंगा इन्चार्ज निरकुमार राई पाँचधारे होटलमा बसिरहेका थिए। गस्तीमा रहेको प्रहरी टोली त्यही होटलमा पुग्यो। प्रहरी देख्नेबित्तिकै अत्तालिएका विप्लव कार्यकर्ताले सुरुमै प्रहरीमाथि गोली हाने। स्थानीय प्रत्यक्षदर्शीकाअनुसार प्रहरी देख्ने बित्तिकै निरकुमार प्रतिकारमा उत्रिएका थिए। प्रहरीले उनलाई पहिचान गर्न नपाउँदै छातीमा गोली लागेर प्रहरी जवान सञ्जीव राई भुइँमा ढले। लगत्तै प्रहरीको जवाफी फायरिङमा निरकुमारमाथि गोली लाग्यो। होटलमा एकाएक आतंक फैलियो। केही बेरमै भोजपुर बजार आतंकित बन्यो। अहिले बजार प्रायःबन्द जस्तै छ।

अहिले भोजपुर सदरमुकामको सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए। उनकाअनुसार मृतक प्रहरी जवान र विप्लव कार्यकर्ताको शव जिल्ला अस्पतालमा राखिएको छ। एक घाइते प्रहरीको त्यही उपचार भइरहेको छ। प्रहरीको केन्द्रीय स्रोतका अनुसार भोजपुर सदरमुकाममा विप्लव कार्यकर्ता हतियारसहित प्रवेश गरेको सूचनाका आधारमा प्रहरी गस्तीमा खटिएको थियो।

कसरी भयो त दुई जनाको मृत्यु हुने घटना?

हामीले भोजपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाको भनाइ जस्ताको तस्तै:

‘भोजपुरमा नेत्रविक्रम चन्द विप्लव नेृतत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गतिविधि बढेको भन्नेबारे प्रहरी जानकार थियो। भोजपुर बजारमै विप्लव समूहको शंकास्पद गतिविधि बढेपछि प्रहरीले सर्च अपरेसन चलाएको थियो। सोही क्रममा सादा पोसाकमा आज ५ जना प्रहरी गस्तीमा थिए। सदरमुकामको ७ नम्बरस्थित हटिया लाग्ने ठाउँ प्रहरीमा गस्तीमा थिए। आज हाट लाग्न दिने थियो। हटियामा आउने/जाने र किनमेल गर्ने मान्छको बाक्लै भिड थियो।

सोही क्रममा शंकास्पद मान्छे आएको जानकारी पाएपछि सादा पोसाकका प्रहरीले उनलाई पक्राउ गर्न खोजे। त्यसक्रममा लछारपछार भयो। त्यस बेला प्रहरी जवान सोमनाथ भट्टराईको कुमको हड्डी भाँचियो। लछारपछारकै क्रममा विप्लव समूहका ती कार्यकर्ताले पेस्तोलले प्रहरी जवान सञ्जीव राईमाथि गोली प्रहार गरे। सँगै रहेका अर्का प्रहरीले पनि त्यसपछि कार्यकर्तामाथि गोली प्रहार गरेका थिए।

घाइते दुवैको उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले मृत घोषणा गरे। हटियामा आउनेजानेहरुको भिड बढ्दै थियो। त्यसले गर्दा मान्छेको संख्या यति नै थियो भन्न सक्ने अवस्था थिएन।

त्यो ठाउँ अलि कर्नर परेको ओझेलको ठाउँ हो। विप्लवका कार्यकर्ता अरु एक-दुई जना पनि हुन सक्ने अवस्था छ। हटियाको दिन भएकाले पनि ठ्याक्कै यतिको संख्यामा थिए भन्न सक्ने अवस्था भएन। उनीहरुको खोजतलास गर्ने काम भइरहेको। तर फेला परेका छैनन्।

अहिले सामान्य अवस्था छ। सुरक्षाको अवस्थामा सदृढ छ। अन्यथा केही छैन। मृतक विप्लव समूहका राई ओखलढुंगा इन्चार्ज नीरकुमार राई भन्ने बुझिएको छ। उनको घर भने भोजपुर नै हो। भोजपुरमा मुभमेन्ट बढेकाले कुनै घटना घटाउने योजना थियो कि भन्ने आशंका पनि गरिएको छ।’

तस्बिर : प्रदीपचन्द्र राई/अन्नपूर्णपोष्ट

http://gandaknews.com/police-biplove/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds