‘आगलागीको विपतमा मान्छेको जात्रा, सेल्फी र भिडियो खिच्नेको भिड, दमकललाई अवरोध’

‘आगलागीको विपतमा मान्छेको जात्रा, सेल्फी र भिडियो खिच्नेको भिड, दमकललाई अवरोध’

00

तस्विरः ई. सन्तोष पन्थ

भित्री क्षेत्रमा रहेका घरहरुमा आगलागी भएको खण्डमा सानो गल्लीमा दमकल जान गाह्रो हुन्छ, गल्ली गल्लीमा रहेका घरहरु बाधक हुन्छन् । तर, पोखराको न्यूरोड जस्तो फराकिलो सडकमै जोडिएका घरमा आगलागी हुँदा दमकललाई के बाधक होला ? समस्या नहुनुपर्ने हो, तर भयो । मान्छेकै भिडका कारण अग्नी नियन्त्रकलाई गाह्रो भयो ।

मंगलबार अपरान्ह ४ बजेतिर पोखराकै प्रमुख व्यापारिक केन्द्र न्यूरोड स्थित एस मिनि मार्केटमा आगलागी भयो । दमकल पुग्न ७ मिनेट लाग्यो, तर प्रहरी भन्दा मान्छेका भिडहरु पहिले पुगे । केही मनकारीहरु मार्केटमा रहेका सटरहरुबाट फर्निचर तथा इलेक्ट्रिकका सामान सकुशल झिकेर सहयोग पनि गरे तर, त्यो भन्दा बढी भिड सेल्फी खिच्ने र भिडियो खिच्नेको थियो । जुन सार्वजनिक भएका तस्विर तथा भिडियोहरुमा देख्न सकिन्छ ।

त्यस भिडले तस्विर र भिडियो लिन छाडेर आगो निभाउनुपथ्र्यो भन्ने होइन तर त्यही भिडका कारण दमकल समेत छिर्ने बाटो नपाउनु, प्रहरीले सिठ्ठी लगाउँदा समेत भिड छिचोल्न हम्मे हम्मे पर्नु पक्कै पनि स्वभाविक मान्न सकिन्न । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले आज मान्छेको भिडका कारण निकै अफ्ठेरो भएको बताए ।

आगलागीबाट भाटभटेनी अगाडिको सो मिनिमार्केटका सबै २३ सटरमा रहेका सामानहरुमा कामै नलाग्ने गरी क्षति पुगेको छ । व्यवसायी यदुनाथ अधिकारीको सो मिनिमार्केटमा सात जनाले व्यापार गर्दै आएका थिए । झण्डै २ घण्टामा आगो पूर्ण नियन्त्रणमा लिन सकिएको हो । पौने ६ बजे आगो नियन्त्रणमा आएको हो । यसका लागि नेपाली सेना, सशस्त्र प्रहरीका अग्नीनियन्त्रक टोली र नेपाल प्रहरी खटिएका थिए । विद्युत सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

https://www.facebook.com/gandaknews/videos/358063281761772/

http://gandaknews.com/s-mini-market/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ