बामदेवले भने : ‘रवीन्द्रको क्षेत्रमा चुनाव लड्दिनँ, ३२ हजार बढी हुँदा त पराजित भएँ, फेरि पराजित हुन’

बामदेवले भने : ‘रवीन्द्रको क्षेत्रमा चुनाव लड्दिनँ, ३२ हजार बढी हुँदा त पराजित भएँ, फेरि पराजित हुन’

bamdev-gautam-speaking

काठमाडौं : नेकपा नेता वामदेव गौतमले मंसिर १४ मा हुने उपनिर्वाचनमा कास्की २ बाट नउठ्ने घोषणा गरेका छन्। गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकमा स्वर्गीय रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा आफूले उम्मेदवारी नदिने घोषणा गरेका हुन्।

ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा अधिकारीको निधिनपछि कास्की २ खाली छ। ‘मलाई कास्कीबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति हार्दिक आभार प्रकट गर्दछु’, उनले भनेका छन्।

उनले उक्त निर्वाचन क्षेत्रमा आफूले उम्मेदवारी दिँदा पराजित हुन सक्ने भय पनि व्यक्त गरे। ‘यसअघि प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया–१ बाट उम्मेदवार भएको यहाँहरुमा विधितै छ। उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो’, उनले भने, ‘तर, म पराजित हुनुपर्यो। त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो। तर मलाई विश्वास छ मभन्दा अरू कोही स्थानीय कमरेड उठ्नु हुँदा सहजै विजय प्राप्त गर्नसक्नु हुनेछ।’

उनले स्थानीय नेतालाई निर्वाचनमा भाग लिन पहिलो हक भएको बताएका छन्। यदी स्थानीय नभए कास्कीलाई कार्यक्षेत्र बनाएर काम गर्ने नेतालाई टिकट दिनुपर्ने अडान लिएका छन्। वामदेव पछि हटेसँगै अब कास्की २ मा रवीन्द्र पत्नी विद्या अधिकारी (भट्टराई) ले उपनिर्वाचनको टिकट पाउने करिब पक्का भएको छ ।

अनेरास्ववियुको सचिवसम्म भएर रवीन्द्रसँग विवाह बन्धनमा बाँधिएपछि विद्याले राजनीतिलाई विश्राम दिएर प्रद्यापनमा लागेकी थिइन्। रवीन्द्रको विरासत थेग्नका लागि विद्याले यसअघि नै आफू फेरि राजनीतिमा फर्किने बताइसकेकी छन्।

वामदेवले यसअघि पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई राजीनामा गर्न लगाएर डोल्पाबाट चुनाव लड्ने कोशिश गरेका थिए। तर त्यहाँबाट बुढाले राजीनामा दिन नमानेपछि वामदेवलाई पहिलो गाँसमै ढुंगा लागेको थियो। त्यसपछि उनले काठमाडौं क्षेत्र नम्बर ७ बाट उपचुनाव लड्न निर्वाचित सांसद रामवीर मानन्धरलाई राजीनामाका लागि मनाएका थिए। मानन्धरले राजीनामाको घोषणा पनि गरेका थिए। तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नै वामदेवको चहाना विपरित उभिएपछि त्यो प्रयास पनि सफल हुन सकेन। त्यसपछि वामदेवका लागि आफू राजीनामा दिन तयार रहेको कुरा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले बताएका थिए।

वामदेवकाे भनाइ जस्ताकाे तस्तै: 

मेरा समस्त शुभचिन्तक महानुभावलाई जानकारीका लागि-

आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।

यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया- १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो । तर मलाई विश्वास छ म भन्दा अरुकोही स्थानीय कमरेड उठनु हुदा सहजै विजय प्राप्त गर्र्न सक्नु हुनेछ। कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।
वामदेव गौतम
४ आश्विन २०७६

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds