जलकुम्भीले फेरी ढाक्यो फेवाताल (फोटोफिचर)

जलकुम्भीले फेरी ढाक्यो फेवाताल (फोटोफिचर)

fewa-7

पोखरा । काठमाडौंबाट पोखरा घुम्न आएका सुदिप गौतम साेमबार बिहान ताल बाराही मन्दिर दर्शनका लागि डुङ्गामा जाँदै थिए । ‘पहिला पहिला आउँदा कहिल्यै यस्तो देखेको थिइन,’ डुङ्गामा सवार उनले जलकुम्भी देखाउँदै भने, ‘अहिले त पुरै रुप नै फेरिएछ ।’ उनी त्यही जलकुम्भी हेर्दै मन्दिर पुगेर फर्किए ।

फेवातालमा धेरैले उनले देखे जस्तै दृश्य देख्ने गरेका छन् । पानी परेसँगै आजभोलि पोखराको गहना फेवातालको रुप फेरिन्छ । तालभर जलकुम्भी नै जलकुम्भी हुन्छ। बेलुका केही नभएको तालमा बिहान पुग्दा जलकुम्भी नै जलकुम्भी हुन्छ । तालमा रहेका डुङ्गा त्यही जलकुम्भीले ढाक्छ । जलकुम्भी झारलाई पाखा लगाउँदै डुङ्गा खियाउनेले डुङ्गा झिक्छन् । एक महिना हुन लाग्यो ताल बाराही मन्दिर र फेवाताल अवलोकन गर्न पुग्ने जो कोहिले यस्तै दृश्य देख्छन् । भदौ अन्तिमको अविरल वर्षा पछि फेवा जलकुम्भीमय बनेको छ ।

भदौ ३१ गते राती परेको पानीले त्यसयता पिरोली रहेको छ । राती परेको त्यो पानीले भोलिपल्ट बिहान फेवाको रुप जलकुम्भीले हरियै बन्यो । त्यसपछि पोखरा महानगरपालिका र सरसफाइ अभियान्ताको पहलमा तालको जलकुम्भी निकालियो । दुई सय ट्रक जलकुम्भी १० दिन बढी लगाएर निकालिएको थियो । १५ दिनपछि पुरानै रुप पाएको फेवा अहिले फेरि उस्तै बनेको छ । अहिले फेरि देखिएको जलकुम्भी दशैं पछि निकाल्ने महानगरको तयारी छ । गएको शनिबार (असोज १८) गते साँझ पोखरामा भीषण वर्षा भयो । दशैंको बेला ताल बाराही दर्शन गर्न आउनेलाई जलकुम्भी समस्या बन्ने भयो । भोलिपल्ट समस्या हुने भएपछी डुङ्गावालाले रातारात तालसम्म पुग्न बाधक बनेका जलकुम्भी झार अबेरसम्मै बसेर किनारामा थोपारे । अहिले मन्दिरसम्म पुग्न समस्या छैन् ।

भोलि अमेरिकाको फ्लाइट आज सफाइ

बुधबार बिहान घडीमा बिहानको ८ बजेको थियो । फेवातालको बीचमा रहेको ताल बाराही मन्दिर दर्शन गर्न जानेको भीड देखिन्थ्यो । टिकट काउन्टर नजिकै डोजरले जलकुम्भी ट्रिपरमा हाल्दै थियो ।

 टिकट काटेर मन्दिर जानेहरुको भीडमा महानगरका कर्मचारी जलकुम्भी व्यवस्थापनमा जुटेका थिए । ६ जनाले बिहानभर लगाएर दुई ट्रिपर जलकुम्भी कोमागाने पार्कसम्म पु¥याए ।

जलकुम्भी सफा गर्न त्यहाँ कर्मचारी मात्र थिएनन् । पोखरा महानगरपालिका ६ का वडा सदस्य हरी पहारी पनि त्यहीँ खटिएका थिए । उनी भोलि बेलुका अमेरिका उड्दैछन् । भोलि बेलुका ९ बजेको फ्लाइट भएका उनी बिहानैदेखि तालको जलकुम्भी सफाइमा जुटेका थिए ।

‘म यही तालको पानी खाएर हुर्किएँ, अहिले यस्तो देख्दा मनले मानेन,’ उनले भने । फेवासँग नजिकको साइनो भएका उनी महानगर र प्रदेशको मात्र नभई फेवा संरक्षण सबैको दायित्व भएको बताउँछन् । ‘फेवाताल पोखरावासीका लागि गौरव गर्ने माध्यम बनेको छ,’ उनी भन्छन्, यसलाई संरक्षण गर्नु पनि सबै पोख्रेलीको दायित्व हो ।’ दशैंको बेला सबै दशैं मनाउन गएकाले अब तालको जलकुम्भी दशैंपछि मात्र निकालिने उनले जानकारी दिए । फेवाताल संरक्षणमा महानगर र प्रदेश सबैको ध्यानाकर्षण भएको उनले सुनाए ।

आइतबार साँझ ताल किनारको आरतीमा पुगेका महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीको पहलमा बिहानैदेखि जलकुम्भी व्यवस्थापन गरिएको उनले बताए ।

अहिले खहरे क्षेत्रमा महानगरले जलारीलाई जलकुम्भी झिक्ने जिम्मा दिएको छ । अरु बेलामा पनि दर्शनार्थीको घुईचो लाग्ने गरेको मन्दिरमा साेमबार महानवमीका दिन बेग्लै रौनक थियो । मन्दिरमा दैनिक १५ सय बढी दर्शनार्थी पुग्ने गरेको तथ्यांक छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ