५ लाखको ब्राउन सुगर सहित स्याङ्जा आधिँखोलाका गुरुङ र नेपालगञ्जका चौधरी यसरी पक्रिए (फोटो सहित)

५ लाखको ब्राउन सुगर सहित स्याङ्जा आधिँखोलाका गुरुङ र नेपालगञ्जका चौधरी यसरी पक्रिए (फोटो सहित)

pakrau (1)

पोखरा । बुधबार मध्यान्हको समय । पोखरा ८ सिमलचौर स्थित एक घरको माथिल्लो तल्लामा टीनको कोठा छ । त्यहाँ सादा पोशाकका प्रहरीहरु कसैको प्रतिक्षा गरिरहेका छन् । हप्तादिन अघिदेखिको लागूऔषध सप्लायर र डिलर कब्जामा लिने मिसन खेर नजाने गरी तम्तयार अवस्थामा छन् उनीहरु । बिहानै ४ बजेदेखि नै डेरामा बस्ने युवकसँगै उनीहरु छन् ।

१२ बजेपछि एक युवक माथिल्लो तला उक्ले । हल्का दारी जुङ्गा, लामो लामो कपाल माथि कालो टोपी, फिक्का गुलाबी रङको टिसर्ट, निलो जिन्स पाइन्ट, हरियो जुत्ता लगाएका । टिसर्टमा लेखिएको थियो ‘टाईम नही अप्ना तो जमाना आएगा’ अर्थात् ‘समय होइन आफ्नो जमाना आउँछ’ । ब्राउन सुगर सप्लाई गरेर आफ्नो जमाना ल्याउने लक्ष्य लिएको जस्तो भाव । तर, बाधक बन्यो प्रहरी । यसअघि सजिलै पोखरा भित्रिएर हौसिएका बाँकेका ३८ बर्षीय सत्या चौधरीको जमाना मात्र होइन, समय समेत आफ्नो वशमा रहेन अब ।

सत्या डेरामा बस्ने स्याङ्जा आधिँखोला गाउँपालिका–१ दरौं सिरुबारीका २५ वर्षीय अविन गुरुङलाई ब्राउन सुगर बेच्न ल्याएका थिए । अबिनकै डेरा कब्जामा लिएर सँगै पर्खाईमा बसे ४ जना सिभिल प्रहरी । एक हप्तादेखि अबिनको रेकी गरेर प्रहरी बसेको थियो । सत्या सप्लायर हुन् भने अबिन डिलर । उनको पोखरामा ठूलै डिलर रहेको प्रहरी बताउँछ । १ वर्षदेखि उनी त्यस कोठामा छन् । कोठाका खापाहरुमा भगानका चित्र र पूजापाठका सामाग्री समेत छन् । यसो हेर्दा घरबेटी नवराज गुरुङका परिवारलाई आफू राम्रो मान्छे देखाउन खोजेका हुन सक्छन् अबिनले ।

चौधरीले भारतबाट भित्राएको ब्राउन सुगर नेपालगञ्जबाट किनेर पोखरा ल्याई अबिनलाई बेच्ने गरेको खुल्यो । जब, जिल्ला प्रहरी कार्यायलका प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीको नेतृत्वमा रंगेहाल १३ ग्राम ब्राउन सुगर वेट मेसिन समेत समातियो । सत्याले भारतबाट किन्दा १ ग्रामको ३८ सय र अबिनलाई बेच्दा ७ हजार लिने गरेको खुलेको छ । अबिनले प्रयोगकर्तालाई १ ग्रामकै ४० हजारमा बेच्ने गरेको बुझिन्छ । १३ ग्रामको ५ लाख २० हजार पर्न जान्छ ।

अबिन विगतमा पनि यस्तै क्रियाकलापमा संलग्न रहेको बुझिएको छ । यसपटक दुवै जना समातिए । असई सुवेदी नेतृत्वको टोलीले यस्ता धेरै घटनामा सफलता पाएको छ । गत वर्ष क्षेत्रीय प्रहरी र यसपटक संघीय प्रहरीबाटै उनी उत्कृष्ट कर्मचारीबाट पुरस्कृत समेत भए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ