बंगलादेशका राष्ट्रपति अब्दुल हमिद काठमाडौंमा, बिहिबार पोखरा आउने

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद काठमाडौंमा, बिहिबार पोखरा आउने

Bangladesh-Prez-visit-Nepal1_cv9XO3lTVb

काठमाडौं –  जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौँ आइपुगेका छन्। उनी विशेष विमानबाट मंगलबार दिउँसो काठमाडौं उत्रिएका हुन्। उनी नेपालको चारदिने औपचारिक राजकीय भ्रमणमा आएका हुन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै पुगेर स्वागत गरेकी छन्। राष्ट्रपति भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको राजकीय भ्रमणमा आएका हुन्। राष्ट्रपति हमिद काठमाडौं ओर्लिएपछि उनको सवारी हुने विमानस्थलदेखि नक्सालसम्मको सवारी रुटमा सर्वसाधरणका सवारीमा रोक लगाइएको छ। सडकका दुवैतर्फ ट्राफिक प्रहरी र अन्य सुरक्षाकर्मी तैनाथ गरिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद कात्तिक २६ गतेदेखि २९ गतेसम्म नेपालको औपचारिक भ्रमणमा रहनेछन्। उनको स्वागतमा त्रिभुवन विमानस्थलदेखि राजधानीका विभिन्न सडकलाई झकिझकाउ बनाई सिँगारिएको छ। दुवै देशका राष्ट्रपतिको तस्बिर सडकका पोलहरूमा लाम लगाएर राखिएको छ। ठाउँठाउँमा विभिन्‍न खालका स्वागत झल्कने सामग्री पनि राखिएको छ। उनले भ्रमण गर्ने राजधानीका पर्यटकीय तथा ऐतिहासिक स्थलमा समेत दुई देशको सम्बन्ध झल्काउने गरी सिँगारिएको छ। राजकीय सम्मान दिने गरी भ्रमणको विशेष तयारी रहेको परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार सुदन ज्ञवालीले जानकारी दिए। उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको राजकीय सम्मानका साथ स्वागत गरिनेछ। विशिष्ट भेटवार्ता, स्वागत समारोह, रात्रिभोज लगायतलाई सम्मानित ढङ्गबाट अघि बढाउने गरी शिष्टाचार महाशाखाले तयारी भइसकेको छ। भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र बङ्गलादेशका राष्ट्रपति हमिदबीच उच्चस्तरीय भेटवार्ता हुनेछ। सो क्रममा राष्ट्रपति भण्डारीले समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्नुहुने कार्यक्रम छ।

मन्त्रालयका अनुसार उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बङ्गलादेशका राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ। त्यस्तै उच्च राजनीतिक नेतृत्वले समेत उनीसँग भेटवार्ता गर्नेछन्। भ्रमणमा रहँदा उहाँले राजधानी तथा भक्तपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थल, प्रागऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको भ्रमण गर्नेछन्। त्यस्तै राजधानीबाहिरको पर्यटकीय नगरी पोखरालगायत पर्यटकीय क्षेत्रको समेत उहाँले अवलोकन भ्रमण गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ