कास्कीमा एकतिहाइ मतदानस्थल अति संवेदनशील

कास्कीमा एकतिहाइ मतदानस्थल अति संवेदनशील

Kaski-2_GoidEZPAlQ

कास्की  क्षेत्र नं २ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी लगभग पूरा भएको छ । सो क्षेत्रका ८२ वटै मतदानकेन्द्रमा मतपेटिकालगायत निर्वाचनका सम्पूर्ण सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटिसकिएको जिल्ला निर्वाचन कार्यालय,कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी गराए । शनिबार कास्की–२ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका एकतिहाइ मतदानस्थललाई अति संवेदनशील क्षेत्रका रूपमा राखिएको छ ।

सुरक्षाका दृष्टिले कास्की–२ मा रहेका ३२ मतदानस्थलमध्ये करिब एकतिहाइ मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रूपमा राखिएको हो । कास्कीको सुरक्षा निकायहरूको रिपोर्टिङ, भौगोलिक विकटता, दलहरूबीचको प्रतिस्पर्धा र चुनावविरोधी गतिविधि गर्ने समूहहरूको गतिविधिका आधारमा संवेदनशील क्षेत्रका रूपमा हेरिएको सुरक्षा स्राेतले जनाएको छ । पोखरा महानगरपालिकाभित्र पर्ने ग्रामीण क्षेत्रका मौजादेखि अर्मलाकोट र कृस्ती नाच्नेचौरसम्मको क्षेत्रहरूसमेत सुरक्षा दृष्टिले संवेदनशील क्षेत्रमा राखिएको छ । पोखरा महानगरभित्रका ११ वटा वडाहरू क्षेत्र नं. २ मा पर्दछन् ।

सो क्षेत्रका ११ वडामा ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएका छन् । सुरक्षा संवेदनशिलताका आधारमा मतदानस्थललाई तीन भागमा विभाजन गरेर सोहीअनुसार सुरक्षाकर्मी खटाउने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । उनका अनुसार मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र कम संवेदनशीलका रूपमा विभाजन गरिएको छ ।

पोखराको बजारक्षेत्रमा रहेका मतदानस्थललाई कम संवेदनशील क्षेत्र, बजार एरियासँग जोडिएको शहर उन्मुख क्षेत्रमा रहेका मतदान स्थललाई संवेदनशील र ग्रामीण क्षेत्रमा रहेका मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रूपमा परिभाषित गरिएको छ । संवेदनशिलताको आधारमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरिएको प्रजिअ केसीले बताए । मतदानस्थलको सुरक्षाका लागि तीनवटै सुरक्षा निकायलाई परिचालन गरिने भएको छ ।

मतदानस्थलको सुरक्षाका लागि प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई खटाइने प्रजिअ केसीले जानकारी दिए । उनका अनुसार मतदानस्थलको पहिलो घेरामा नेपाल प्रहरी, दोस्राे घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहनेछ । अति संवेदनशील मानिएको प्रत्येक मतदानस्थलमा १५ देखि २० जनासम्म प्रहरी, २५ देखि ३० जनासम्म सशस्त्र प्रहरी र आवश्यक्ताअनुसार नेपाली सेना खटाइने प्रजिअ केसीले बताए । नेपाली सेनाको कास्कीमा रहेको गुल्मका सबै सैनिक खटाइने उनले बताए ।

यसपटक थप भएका मतदाताहरूलाई बिहीबारदेखि सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गर्न सुरु गरिएको निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले बताए । कास्कीमा यस निर्वाचनमा १ हजार २ सय २० जना मतदाता थपिएका छन् । कास्कीका ३२ मतदान स्थल र ८२ मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् । मतदान हुने सबै मतदानस्थलमा निर्वाचन सामग्री पुगिसकेको सुवेदीले जानकारी दिए । निर्वाचनका लागि करिब ८ सय कर्मचारी खटिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि ४५० कर्मचारी र ३२८ स्वयंसेवक खटाइएको हो । प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, सहायक स्तरका २ कर्मचारी र १ जना कार्यालय सहयोगी गरी कम्तिमा पाँच जना कर्मचारी खटाइएको छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकाेप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको कास्की–२ मा ७१ हजार ८ सय ७१ जना मतदाता छन् । उपनिर्वाचनका लागि राप्रपा, राष्टिय जनमोर्चा, विवेकशील पार्टी, साझा पार्टी, संघीय समाजवादी नेपाललगायतका दलहरू चुनावी प्रतिस्पर्धामा छन् ।

कास्की–२ मा गत निर्वाचनमा रवीन्द्र अधिकारीले २७ हजार २ सय ७ मत र प्रत्यासी देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । तत्कालीन विवेकशील साझा पार्टी तेस्राे भएको थियो । विवेकशीलका उम्मेदार श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत पाएका थिए । गण्डकी प्रदेशअन्तर्गत प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह गरी ५ ठाउँमा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ