साग २ दिन बाँकीः अझै तयार भएन स्टेडियम, प्रचार समितिलाई बजेट नै छैन

साग २ दिन बाँकीः अझै तयार भएन स्टेडियम, प्रचार समितिलाई बजेट नै छैन

Pokhara Stadium

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) आउन जम्मा २ दिनमात्रै बाँकी छ । खेल सुरु हुन यति कम समय बाँकी छँदा पोखरा रंगशाला तयार भइसकेको छैन । तर, पुनर्निर्माण तीव्र पारिएको छ । पोखरामा पहिलो पटक साग हुन लागेको हो । यो ऐतिहासिक क्षणमा प्रचारप्रसार पनि सन्तोषजनक छैन । अन्तर्राष्ट्रिय खेल पोखरामा हुँदै गर्दा प्रचारप्रसार किन यस्तो ? भन्ने प्रश्नमा प्रचार प्रसार समितिका संयोजक केशव पाठक भने प्रचार भईरहेको बताउँछन् । ‘हामीले सक्ने प्रचार गरेका छौं । जे जति सामाग्री उपलब्ध छन्, हामीसँग जे क्षमता छ, हामीले गरिरहेका छौं ।’ – पाठकले भने

तर, प्रचार समितिमै रहेका सदस्यहरु भने असन्तोष प्रकट गर्न थालिसकेका छन् । ‘यति ठूलो खेलकुद आयोजना गर्दा जम्मा २ लाख बजेटले के प्रचार गर्ने ?’ भन्दै सदस्यहरु नै चकित छन् । पोखरा स्थित मिडियामा समाचार बाहेक प्रचारप्रसार सामाग्री कमै छन् । बजेट नहुनाले नै पत्रपत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन बजाउनुस् भनेर भन्न नसकेको समितिका सहसंयोजक रञ्जन अधिकारीले बताए ।

‘अरु समितिमा बजेट आएको छ, छैन थाहा भएन तर प्रचार समितिमा २ लाख भन्दा बजेट पाएका छैनौं । हामीले माग गरेको १ करोड ४ लाख प्राप्त भएको भए सम्पूर्ण मिडियामा प्रचार प्रसार सामाग्री निरन्तर आउने थियो । हरेक सवारीमा स्टिकर, ठाउँ ठाउँमा होर्डिङ बोर्ड बन्ने थियो । तर, २ लाख भन्दा आएको छैन । एउटा क्लबले नै सानो कार्यक्रम गर्न पनि प्रचार प्रसारमा ५ लाख छुट्याउँछन्, अन्तर्राष्ट्रिय खेलकुदमा प्रचार गर्न जम्मा २ लाख आएको छ ।’ – अधिकारीले भने – ‘हामीलाई अत्यन्त गाह्रो अवस्था छ । आठ खेलका लागि महिला पुरुष इभेन्टमा धेरै पत्रकार समाचार, फोटो, भिडियोमा खटाउनुपर्ने हुन्छ । पत्रकार तथा मिडिया हाउसबाट आउने प्रश्नको जवाफ पनि दिन नसक्ने अवस्थामा छौं । प्रचार समिति पनि २ वटा जस्तो भएको छ ।’

जाननकारका अनुसार राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ आफै प्रचार टोली गठन गरेर अघि बढेका छन् । ओलम्पिक टर्चको र्याली पोखरा परिक्रमा गर्दा समेत प्रचार समितिलाई थाहै नभएको सदस्यहरु बताउँछन् । राखेप सदस्य गुरुङ प्रचारमा आफ्नै ढंगले अघि बढेका छन् । प्रचार समितिसँग समन्वय नभएको भन्दै पत्रकारहरुले आक्रोश व्यक्त गरेका छन् । पोखराका कुनै पनि पत्रिका, रेडियो, अनलाइन, टेलिभिजनका लागि प्रचार सामाग्री उपलब्ध नगराएको भन्दै मिडिया पनि असन्तुष्ट छन् । ‘पैसा आए लिउँला, नदिए केही छैन सित्तैमा छापिदिन्छु, बजाइदिन्छु’ भन्दा समेत सामाग्री नआएको मिडियाहरुको प्रतिक्रिया छ ।

१३ औं सागका ८ खेल पोखरामा हुने तय छ । त्यसमध्ये महिला फुटबल र क्रिकेट, ह्यान्डबल, आर्चरी र ब्याडमिन्टन पोखरा रंगशालामा हुने तय छ । खेल अवधि नजिकिँदै गएपनि रंगशाला अहिलेसम्म पूर्ण रुपमा तयार भएको छैन ।

महिला फुटबल हुने तय भएको पोखार फुटबल स्टेडियमको निर्माण कार्य अहिले सम्म पूरा भएको छैन । १० हजार सिट क्षमताको प्यारापिट जडान गर्ने लक्ष्यसहित भारतको ग्रेट स्पोर्टस इन्फ्रा ९जिएसआई० र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभी जिम्मा लिएका छन् । तर, अहिलेसम्म जम्मा ५ हजार सिट क्षमताको प्यारापिटमात्रै जडान भएको छ ।

ग्यालरी ए, बि, सि भागमा विभाजन गरेर अहिले प्यारापिट जडान भइरहेको स्टेडियमका प्रोजेक्ट म्यानेजर दीपक बरालले जानकारी दिए । उनले ४ ग्यालरीमध्ये सि ग्यालरीमात्रै जडान कार्य सकिएको सुनाए । उनले भने, ‘सि ग्यालरीको प्यारापिटमात्रै जडान कार्य सकिएको छ । यो करिब ५ हजार सिट क्षमताको हो ।’ सि ग्यालरीको प्यारापिट नेपालको झन्डासँग मेल खाने गरी रातो र निलो रङको सिट जडान गरिएको छ ।

४ वटा ग्यालरीमध्ये साग महिला फुटबलका लागि २ ग्यालरीमामात्रै प्यारापिट जडान गर्न लागिएको बरालले जानकारी दिए । त्यसमध्ये बाँकी ५ हजार सिट क्षमताको प्यारापिट सोमबारबाट जडान सुरु भएको हो । तर, उक्त प्यारापिट जडान हुन अझै ३ दिन लाग्ने प्रोेजेक्ट म्यानेजर बरालले बताए । ‘भर्खरै सि ग्यालरी जडान सक्यौं । बाँकी प्यारापिट जोड्न अझै ३÷४ दिन लाग्छ,’ उनले भने ।

भिआइपी प्यारापिट जडान भइसकेको भएपनि निर्माण कम्पनीले अहिलेसम्म सिट जडान गरेको छैन । भिआइपी र भिभिआइपी प्यारापिटमा खेल सुरु हुनु अगावै सिट जडान गर्दा असुरक्षित हुने भएकाले सिट जडान नगरिएको प्रोजेक्ट म्यानेजर दीपक बरालले सुनाए । उनले भने, ‘भिआइपी र भिभिआइपी प्यारापिटमा सिट जडान पछि गर्छौं । अहिले नै जडान गर्दा जो पनि जाने र फोहोर गर्ने समस्या आउने देखियो ।’

रंगशालाको बाहिरी भागमा भएको सिन्थेटिक एथ्लेटिक ट्र्याकको काम पनि अझै सकिएको छैन । स्टेडियममा बिछ्याइएको दुबो पटकपटक फेर्नु परेकाले पनि रंगशाला निर्माण प्रभावित हुँदै आएको छ । पहिले ल्याएका दुबो भारतीय भन्सारमा रोकिएकाले पोखरा आउन करिब १ हप्ता ढिलाइ भएको थियो । जसका कारण दुबो चाँडै नसर्ने सम्भावना भएपछि थप दुबो कलकत्ताबाट मगाइएको थियो । हाल पहिलो र दोस्रो चरणमा ल्याएका दुबोलाई रंगशाला प्रवेशद्वारा नजिकैको खाली मैदानमा रोप्न सुरु गरिएको छ ।

पोखरामा हुने तय भएको महिला फुटबल मंसिर १७ गतेदेखि सुरु हुँदैछ । पहिलो खेलमा आयोजक राष्ट्र नेपालले श्रीलंकासँग भिड्ने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ