‘बनकी चरी’ टिकटकमा मनकी चरी [भिडियो]

‘बनकी चरी’ टिकटकमा मनकी चरी [भिडियो]

banki chari

‘जुन पनि रातिमा रुँदो हो, त्यही भएर पातमा शित हुँदो हो’

‘फलाम बाङ्गो बनायो आरनले, मन बांगियो मयाकै कारनले’

‘पहिल्यै तिम्रो भन्याभा बन्दिन, किन तयार हुन्थेँ र मन दिन’

‘पहिला पछि लाइरन्थ्यो काले, अहिले देख्दा बोल्दैन मयाले’

नेपाली टिकटक युजरको होम पेज ‘फर यु’ मा अझै पनि यस गीतमा भिडियोहरु देख्न सकिन्छ । सदावहार गायिका देवी घर्ती र नवगायक अर्जुन सापकोटाको आवाजमा रहेको यी टुक्काहरु लोकगीत प्रेमी टिकटक पारखीका लागि प्रिय बनेको छ । युवा गायक अर्जुन सापकोटाले केही समयअघि मात्र बजारमा ल्याएको ‘बनकी चरी’ शीर्षकको गीतमा हजारौं भिडियोहरु बने । यस गीतबाट चर्चित बनेपछि अहिले अर्जुनलाई पहिले भनदा पनि मेला महोत्सवमा भ्याई नभ्याई छ ।

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्

शब्दसँगै भाका पनि कर्णप्रिय बनेर नै टिकटकमा बनकी चरी गीत भाइरल बनेको हो । उसो त, यस गीतमा जोडिएका सबै टिकटक सेलिब्रेटी भएर पनि हुनसक्छ । सर्जक अर्जुन सापकोटा मात्र होइन, उनलाई आवाजमा साथ दिने लोकप्रिय गायिका देवी घर्ती आफै एक्टिभ टिकटक युजर हुन् । देवीको ७५ हजार फलोअर्स छ । आवाजसँगै भिडियोमा मोडलका रुपमा देखिएका चर्चित गायक राजु ढकाल पनि टिकटक प्रेमी हुन् । ढकाललाई ४५ हजार बढीले पछ्याएका छन् । ‘बनकी चरी’ गीतको लय, स्वर स्वयं अर्जुनको हो । उनको पनि ६० हजार बढी फलोअर्स पुगेको छ । भिडियोमा अपोजिट रोलमा देखिएकी चुलबुले मोडल करिश्मा ढकालले पनि टिकटकमा ‘बनकी चरी’ गीतमै दुई भिडियो बनाएकी छन् । एक जनालाई पनि फलो नगरेकी करिश्मालाई टिकटकमा चिहाउने भने लाख बढी छन् ।

‘बनकी चरी’ गाउनेदेखि नाच्नेसम्मका सबै टिकटक प्रयोगकर्ता भएकाले पनि, टिकटकमा छाएका लोकदोहोरीमा पछिल्लो समय ‘बनकी चरी’ गीतले नै चर्चा बटुलेको छ ।कलाकर्मीहरुले अहिले युट्युबमा भ्यूजसँगै टिकटकमा कतिको भाइरल भयो ? भन्दै गफिन्छन् । सायदै कलाकारलाई टिकटकले नछोएको होला । युट्युबमा पनि बनकी चरी गीतले राम्रो भ्यूज बटुलेको छ । डिसेम्बर ७ मा अपलोड गरिएको भिडियोले २० लाख भ्यूज बटुलेको छ । सर्जक अर्जुनकै व्यक्तिगत युट्युब च्यानलबाट अपलोड गरिएको भिडियोले सुरुवातमै यतिको मन जित्नु भनेको असाध्यै सन्तोषजनक हो ।

माया प्रेमको कथा बोकेको गीतमा विछोडको क्षणलाई समावेश गरिएको छ । कृष्ण बस्यालको शब्द रहेको गीतमा गहिरो प्रेममा परेर अन्तिममा विछोडिएका जोडी एक अर्कालाई दोष थुपार्दैमा ठिक्क छन् । भिडियो पनि रुचाइएको छ । स्मृति तिमल्सिना ‘गुरुआमा’ को निर्देशनमा रहेको भिडयोलाई करन चैसिरले खिचेका हुन् । विकास ज्ञवालीले भिडियोलाई राम्रो देखाएका छन् । मारुनी डिजिटल स्टुडियोमा रेकर्ड भएको गीतको एरेञ्ज कृष्ण बिक ‘भाञ्जा’ ले गरेका हुन् ।

उदयीमान अर्जुन

सर्जक अर्जुन सापकोटालाइे नेपाली लोकसंगीत क्षेत्रमा राम्रो सम्भावना बोकेका उदयीमान गायकका रुपमा लिन सकिन्छ । समयसापेक्ष आफूलाई प्रस्तुत गर्नुका साथै प्रविधि पोख्त रहेकाले पनि सापकोटाबाट आश गर्ने ठाउँ धेरै छ । अग्रज कलाकर्मीहरु नआत्तिने र नमात्तिने हो भने अर्जुनको भविष्य राम्रो देख्छन् ।

ठूलालाई आदर र सानासँगको मित्रवत् व्यवहार नै सफलताका आधार हुन् भन्ने मन्त्रलाई आत्मसात गरे अर्जुनले पछि फर्केर हेर्नुपर्दैन । टिकटकमा युवती फ्यानले घेरिएका अर्जुनलाई फेसबुकमा पछ्याउने पनि उत्तिकै छन् । सञ्चारकर्मी रहेकाले पनि आफूलाई पब्लिकमाझ प्रस्तुत गर्न उनलाई सहज भएको छ । स्टेज पर्फमेन्समा पनि अब्बल भएकाले स्थानीय मेला महोत्सवमा उनलाई आयोजकले निम्त्याउन छुटाउँदैनन् । अहिले त उनलाई जिल्ला जिल्लाबाट बोलाउन थालिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ