Gandak News
Our News Your Views
Aaha Rara 2076
can-2076
Lets

सवा अर्बमा टियूले पोखरामा बनाउने भयो ३०० शय्याको टिचिङ हस्पिटल

गण्डकी प्रदेशको राजधानी पोखरामा ३ सय शैय्याको नर्सिङ अस्पताल खुल्ने भएको छ । पोखरा नर्सिङ क्याम्पसले पोखरा रामघाटमा नर्सिङ शिक्षण अस्पताल खोल्न लागेको हो । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको क्याम्पसले स्थापनाको ३६ वर्षपछि शिक्षण अस्पताल खोल्न लागेको हो ।

३५ रोपनी जग्गामा बन्ने अस्पताल निर्माण सम्पन्न गर्न १ अर्ब २६ करोड रुपैयाँ लागत अनुमान गरिएकोे छ । अस्पताल निर्माण सुरु गर्न गण्डकी प्रदेश सरकारले यो आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । क्याम्पसले गुणस्तरीय नर्सिङ जनशक्ति उत्पादन र सेवा दिने उद्देश्यसहित अस्पताल चलाउन लागेको जनाएको छ । ‘गण्डकी प्रदेश सरकारले छुट्याएको रकमलाई बीऊ पुँजी मानेर अस्पताल निर्माणको थालनी भएको छ । प्रदेशले अर्को वर्ष थप रकम विनियोजन गर्ने छ,’ पोखरा नर्सिङ क्याम्पस प्रमुख निता ताम्राकारले भनिन् ।

विसं २०३९ मा स्थापना भएको क्याम्पसले आगामी पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको अस्पताल भवनको बिहीबार गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरेका हुन् । शिलान्यासपछि अर्थमन्त्री गुरुङले प्रदेश सरकारको सहयोगमा अस्पताल निर्माण हुने बताए ।

‘दक्ष जनशक्ति उत्पादन गरेर गुणस्तरीय नर्सिङ सेवा दिने गरी अस्पताल निर्माण गर्न गण्डकी प्रदेश सरकारले यसै वर्ष पनि १ करोड रुपैयाँ विनियोजन गरेका छौं,’ गुरुङले भने, ‘अर्को आर्थिक वर्षमा अझ बजेट वृद्धि हुने छ भने हामीले समन्वय पनि गर्नेछौं ।’

२०३९ साल फागुनमा सीएमए कार्यक्रमअन्तर्गत ४० जना विद्यार्थी लिएर अध्यापन सुरु भएको पोखरा नर्सिङ क्याम्पसमा अहिले २ सय ३८ नर्सिङ विद्यार्थी अध्ययनरत छन् । २०४१ सालदेखि नर्सिङ कार्यक्रम अन्तर्गतका प्रवीणता प्रमाणपत्र तहका कक्षाहरु सुरु भएको थियो ।

०६२ मा नर्सिङ क्याम्पसले २० जना विद्यार्थीबाट स्नातक तहका कक्षाहरु सञ्चालन थालेको थियो । हाल स्नातक तहमा ४० जनाको कोटा छ । २०७४ सालदेखि चाइल्ड हेल्थ नर्सिङ, एडल्ट नर्सिङ र वुमन्स हेल्थ एन्ड डेभलपमेन्ट गरी ३ विषयमा स्नातकोत्तरको कक्षा सुरु भएको थियो । अहिले १५ जना स्नातकोत्तरमा अध्ययनरत छन् ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको