होमस्टेमा युवाहरु गाँजा तान्न समेत गए, अब महानगरले मापदण्ड बनाउँछः मेयर जिसी

होमस्टेमा युवाहरु गाँजा तान्न समेत गए, अब महानगरले मापदण्ड बनाउँछः मेयर जिसी

man gc

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले नेपाल भ्रमण बर्ष २०२० तयारी विना ल्याइएको भन्दै आलोचना गरेका छन् । पोखरामा शनिवार आयोजित पश्चिमाञ्चल होटलसंघको ३९ औं साधारण सभाका अवसरमा बोल्दै उनले पुर्वाधार र राम्रा सडक नहुँदा पनि भ्रमण बर्ष चुनौतिपूर्ण हुने उनले बताए ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पनि उनले संघ सरकारसँग माग गरे । पोखराको सम्पन्न छैठौ नगर परिषद्ले यस्तो प्रस्ताव पारित गरेको जानकारी पनि उनले दिए । होमस्टेको मापडण्ड महानगरले बनाउन लागेको भन्दै गाँजा तान्न कतिपय युवा होमस्टेमा जाने गरेको आरोप पनि उनले लगाए । सुरक्षा र सूचना प्रविधी पनि होमस्टेमा आबश्यक पर्ने उनले बताए । होमस्टेमा हाइजिनिक र त्यहींको उत्पादन हुनु पर्ने पनि उनले सुझाव राखे ।

पोखरा आउने पर्यटकको तथ्यांक राख्न जरुरी भएको भनाई पनि उनले राखे । सेती खोचलाई पर्यटकीय सम्पदाको रुपमा विकास गर्न खोजेको जानकारी पनि उनले दिए । नक्षत्र पार्कको स्थापना पनि पोखरामा गरिने उनले सुनाए । यसले पोखरामा पर्यटकको बसाई अवधि लम्बिने जीसीले बताए । होटलको ट्यारिफ सबै देशका नागरिकलाई समान भए राम्रो हुने सुझाव उनले राखे ।

फेवा तालको मापदन्ड ६५ मिटर लागू गर्न त्यो क्षेत्र भित्रको जग्गाको मुअब्जा दिन आबश्यक रकम जुटाउने कार्य चुनौतिपूर्ण रहेको बताए । भ्रमण बर्ष सफल पार्ने तर्फ सबैको शोच हुनु पर्ने उनले सुनाए ।  पर्यटक किन आउने भन्ने विषय प्रष्ट हुनु पर्ने भन्दै यहाँको शान्तिसुरक्षा महत्वपूर्ण पाटो भएको प्रमुख जीसीले बताए । पर्यटक स्वास्थ्य केन्द्र खोल्न जग्गा उपलब्ध गराउन प्रमुख जीसीले वडा नम्बर ६ सँग आग्रह गरे ।

यसैबीच, पश्चिमाञ्चल होटल संघ पोखराले प्रबद्र्धनको अभियानलाई थप विस्तारित गर्ने भएको छ । योजना अनुसार गण्डकी प्रदेश र सिंगो नेपाललाई बंगलादेश र कोलकतामा प्रबर्द्धन गर्ने कार्यक्रम अगाडि सारिएको छ । संघले झन्डै १८ बर्षदेखी आन्तरिक बजारमा जाउँ है पोखरा र सन् २०१२ देखि भारतीय बजारमा चलिय पोखरा अभियान पनि संचालन गर्दै आएको छ । तेश्रो मुलुकहरुमा समेत संघले यस्ता प्रबर्द्धन अभियान संचालन गर्दै आएको छ ।

संघ पोखराका अध्यक्ष विकल तुलाचनले पोखरालाई यथाशक्य छिटो पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने भनाई राखे । पर्यटकीय पूर्वाधारको विकासका लागि स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने सुझाव पनि उनले सो अवसरमा बताए । कोरोना जस्तो भाइरसबाट पर्यटन क्षेत्रलाई थप प्रभावित हुन नदिन सरकार र व्यवसायी तथा स्वयं पर्यटक समेत सचेत हुनुपर्ने भनाई उनको थियो ।

सो अवसरमा होटल संघ नेपालका महासचिव साजन शाक्यले जाउँ है पोखरा र चलिय पोखरा अभियानले यहाँको पर्यटनमा सकारात्मक प्रभाव परेको बताए । पोखराको ब्राण्डिङ गर्न सके थप राम्रो हुने भनाई उनको थियो ।

पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पोखराका सबै सडकहरु कालोपत्रे गर्ने तर्फ पोखरा महानगरको ध्यान हुनुपर्ने भनाई राखे । कार्यक्रमहरु गर्दा फरक शैली तथा छोटोछरितो गर्नेतर्फ समेत पश्चिमाञ्चल होटल संघले ध्यान दिन थालेको उनले सो अवसरमा बताए ।

पश्चिमाञ्चल होटल संघ पोखराका महासचिव गणेशराज पहारीले संघले यो बर्ष सम्पन्न गरेका कार्यक्रम र भावी कार्यक्रम प्रस्तुत गरेका थिए । भ्रमण बर्ष सफल पार्न स्थानीय र प्रदेश सरकारसँग समन्वय गरिने भनाई उनले राखे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ