फेवा किनारामा तालबाराही सन्ध्याकालीन आरती

फेवा किनारामा तालबाराही सन्ध्याकालीन आरती

aarati

पोखरा । प्रकृति र संस्कृतिले सम्पन्न पर्यटकीय नगरी पोखरामा रमाउने पर्यटक साँझमा फेवाताल किनारास्थित तालबाराही मन्दिर प्रवेशद्वार बाराहीघाटमा प्रत्येक दिन हुने आरतीमा सहभागी हुने गरेका छन् । पछिल्ला दिनमा तालबाराहीको आरती सबै धर्मावलम्बी र विभिन्न उमेर समूहका पर्यटक एवं स्थानीय बासिन्दाको लागिे अर्को पर्यटकीय गन्तव्य बन्ने गरेको छ ।

पशुपतिनाथको महाआरतीको झ-झल्को दिने गरी संगीतमयरुपमा आरती यहाँ सञ्चालन हुने गर्दछ । तीन जना पण्डितद्वारा सन्ध्याआरतीमा विशेष गरी धुप, घ्यू, ल्वाङदानी, कपुर, पुलपाती, मयूर पङ्ख, सेतो चमर, अलैँचीदाना, लाछी धागोलगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिने युवा पण्डित रामप्रसाद सिग्देलले जानकारी दिए ।

शङ्खउद्घोषबाट शुरु र अन्त्य गरिने आरतीमा ५४ वटा वत्ती रहने उनले जानकारी दिए ।हालसम्म ४५७ दिन सञ्चालन भइसकेको माता तालबाराही आरती सेवा समितिका अध्यक्ष गिरीराज अधिकारीले जानकारी दिए । उनका अनुसार २०७५ साल असोज २४ गते घटस्थापनाका दिनेदेखि सञ्चालन गरिएको आरती निरन्तर चलिरहेको छ ।

मुलुकका विभिन्न स्थानबाट पोखरा भ्रमणमा आउने आन्तरिक पर्यटक आरतीको दर्शन र ताप्नको लागिनै पटकपटक आउने गरेका छन् । आरती सञ्चालनमा गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट ७० हजार र पोखरा–६ का जनप्रतिनिधिबाट १५ हजार सहयोग प्राप्त भएको जनाइएको छ । तालबाराही मन्दिरलगायत आसपासमा बलेका बत्ती तालको पानीमा देखिने मनोरम दृश्यबाट पर्यटकले छुट्टै आनन्द लिने गरेका छन् ।

तालबाराहीबाट शुरु भएको आरती अहिले पोखराको प्रसिद्ध धार्मिक क्षेत्र विन्ध्यवासिनी मन्दिर, गुप्तेश्वर गुफा, सदाशिव हरिहर मन्दिर, नर्वदेश्वर मन्दिर र बेगनासतालमा समेत गरिँदै आइएको छ ।

समाचार श्रोतः रासस, तस्विरः दिपेन्द्र श्रेष्ठ

सदाशिव हरिहर मन्दिर आरती

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds