जापानबाट आएर ताकानाशीले पोखरा म्याराथन जिते, जनसागर उर्लिए (फोटोफिचर)

जापानबाट आएर ताकानाशीले पोखरा म्याराथन जिते, जनसागर उर्लिए (फोटोफिचर)

Pokhara Marathon (3)

भुतपुर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधी जापानका ताकानाशी युसुकीले जितेका छन । ४२.१९५ किमीको दौडमा नेपालका १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता किरण सिंह वोगटीलाई पछि पार्दै ताकानाशीले उपाधी जापान पुर्याएका हुन । एक सय ५ जना धावकहरुलाई पछि पार्दै ताकानासीले आफ्नो दौड २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा पार गर्दै उपाधि सहित नगद दुई लाख पुरस्कार हात पार्न सफल भएका छन ।

जापानका ताकानासी भन्दा एक मिनेट ५७ सेकेण्ड ढिलो उक्त दुरी पार गरेका नेपाली धावक शसस्त्र प्रहरी बलका किरणसिंह वोगटी दोश्रो हुन सफल भए । गत मंसिरमा सम्पन्न नेपाललाई सागमा स्वर्ण पदक दिलाएका वोगटीले २ घण्टा २८ मिनेट ८ सेकेण्डमा दुरी पार गरी नगद एक लाख पुरस्कार हात पारे ।

करिब ४० किलोटिरसम्म अग्रता कायम गरेका वोगटी पछिल्लो करिब दुई किलोमिटर दौडमा जापानका ताकानासीसंग पछि पारेका थिए । गण्डकी प्रदेशका अनिस थापा मगर तेश्रो भए । उनले निर्धारित दुरी २ घण्टा २९ मिनेटमा पार गरे भने एपिएफका गणेशसिंह ठकुरीले उक्त दुरी २ घण्टा ४१ मिनेट ६ सेकेण्डमा पार गर्दै चौथो स्थान हासिल गरेका थिए । तेश्रो भएका मगरले ७५ हजार र शान्त्वना भएका ठकुरीले १५ हजार पुरस्कार प्राप्त गरे ।

नेपालमा सहभागि भई पहिलो पटक म्याराथनको उपाधि हात पार्दा आफू निकै हर्षित भएको ताकानासीले बताए । पोखरासंग भगिनी सम्वन्ध रहेको जापानको कोमागाने शहरबाट प्रतिनिधित्व गर्दै २३ बर्षीय ताकानासीले उक्त उपाधि हात पारेका हुन् । सागमा सहभागि भएको ३ महिना पुरा नहुदै पुनः म्याराथनमा सहभागि भएको हुदा उपविजेतामा सिमित हुनु परेको एपिएफका वोगटीले जनाए । । दोस्रो भएका वोगटी अब वेलायत समेत जानेछन । पोखरेली मञ्च युकेले पोखरा म्याराथनमा पहिलो हुने नेपाली धावकलाई बेलायतको कुनै पनि म्याराथनमा सहाभागिता गराउने घोषणा गरिसकेको छ ।

१० किलोमिटर सडक दौडमा स्याङजाका पुर्ण बहादुर कार्की प्रथम भएकाछन । उनले निर्धारित दुरी ४० मिनेट ४२ सेकेण्डमा पार गर्दै प्रथम भए । मोरङका याङदेव राई दोश्रो र पर्वतका आशिष कुवंर तेश्रो भए । राईले निर्धारित दुरी ४१ मिनेट ३१ सेकेण्डमा र कुवंरले ४१ मिनेट ४० सेकेण्डमा पार गरेका थिए ।

१० किलोमिटर दौड प्रतियोगितामा महिला तर्फ धरानकी इन्द्रकला नेम्वाङ प्रथम भइन । उनले निर्धारित दुरी ५१ मिनेट २० सेकेण्डमा पार गरिन । सोलुखोम्बुकी अनिता राई दोश्रो र विदेशी धावक अमेरीकाकी विण्डी तेश्रो भईन । राईले ५३ मिनेट २७ सेकेण्डमा उक्त दुरी पार गर्दा विण्डिले भने ५४ मिनेट ४७ सेकेण्डमा पार गरेकी थिइन । पोखराका ७३ बर्षका टंक बहादुर श्रेष्ठले १० किलोमिटर सडक दौड पुरा गरेका थिए ।

५ किलोमिटर छात्र सडक दौडमा कुमुदिनी होम्सका विनोद गुरुङ प्रथम भएकाछन । उनले निर्धारित दुरी १७ मिनेट ५३ सेकेण्डमा पार गरे । उक्त दुरी १८ मिनेट ३७ सेकेण्डमा पार गर्दै माछापुच्छ्रे गाउँपालिकाको ज्ञान ज्योति माविका विवेक भुजेल दोश्रो भए भने न्यू लाइट बोर्डिङ स्कुलका प्रदीप भुजेल तेश्रो भए । उनले १९ मिनेट ४० सेकेण्डमा उक्त दुरी पार गरे ।

त्यसै गरी ५ किलोमिटर छात्रा तर्फको दौडमा घम्पुस उदय माविकी विनु विक प्रथम भएकीछन । उनले २३ मिनेट ६० सेकेण्डमा उक्त दुरी पार गरेकी थिइन । उक्त दुरी २५ मिनेट ३० सेकेण्डमा पार गर्दै प्रतिक्षा सुवेदी दोश्रो भईन भने २६ मिनेट ३१ सेकेण्डमा उक्त दुरी पार गर्दै माधुरी देवि कुर्मी तेश्रो भइन । महिला र पुरुष दुवैतर्फका १० किलो मिटर दौडका विजेताले १५ हजार रुपैयाँ, ५ किलोमिटर दौड छात्र र छात्राका विजेताले समान १० हजार, दृष्टी विहिन पुरुष महिला विजेताले ५ हजार, ह्विल चियरका विजेताले ५ हजार रुपैयाँ प्राप्त गरेकाछन ।

ह्विल चियर प्रतियोगिता पुरुष तर्फ सुरेस गौली प्रथम भएकाछन । त्यसै गरी भरत अधिकारी दोश्रो र खुमबहादुर पाण्डे तेश्रो भए । महिला ह्विल चियर प्रतियोगितामा पुनम विक प्रथम, धना मगर दोश्रो र लक्ष्मी सुनार तेश्रो भए । दृष्टी विहिनको एक सय मिटर दौडमा पुरुष तर्फ प्रमोद दाहाल प्रथम, आसिस खड्की दोश्रो र प्रेम क्षेत्री तेश्रो भए भने महिला तर्फ विनित सुनार प्रथम, सृजना परियार दोश्रो र सुक माया विक तेश्रो भए ।

यसपालीको पोखरा म्याराथनको अवसरमा करिब ७० भन्दा बढी स्थानमा मेडिकल सेवा प्रदान गरिएको मेडिकल संयोजक सम्मर बहादुर श्रेष्ठले बताए । नियमित अभ्यास नहुदा धेरै बिद्यार्थीहरुमा केही समस्या देखिएको डा.खड्कसिंह गुरुङको भनाई थियो ।

१४ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल पार्न पिस रनका १२ देशका २१ जना विदेशी धावकहरु सहभागि भएको मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले बताए । टोलीको नेतृत्व युनेस्कोका पूर्व अध्यक्ष डेभिडसन हेप्वर्नले गरेका थिए ।

इता बेलायत बाट पोखरेली पोखरा म्याराथनको अन्तर्राष्ट्रिय सहयोगी संस्थाको तर्फ बाट ५० जना भन्दा वढी बेलायतका गैर आवाशिय नेपालीहरु पोखरा म्याराथनमा सहभागिता जनाए । पोखरा म्याराथनका लागि संयोजक समेत रहेकी भलिवलकी पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ राइले १० किलो मिटर दौड पुरा गरिन । क्यान्सर जास्तो प्राणघातक रोग बाट निको भएर समाजसेवा र खेलकुदमा सक्रिय जिवन विताएकी मञ्जुले दौड पछि स्वास्थ्य रहन दौडन पर्छ भन्ने सन्देश दिन आफू पोखरा आएको वताइन ।

यसै गरि वेलायत बाट आएका धावक पाण्डब महतोले ३ घन्टा ३१ मिनेट ४२.१९५ किलोमिटर दौड पुरा गरे । उनी पनि क्यान्सर पिडित हुन । खेलकुदले नै रोगलाई जित्न सक्छ भन्ने सन्देश लिएर आएका महतोले पोखरा म्याराथनको व्यवस्थापन बाट आफूलाई निकै खुसी लागेको बताए । उनी संगै धरान रनका सन्तोष राईले पनि १० किलोमिटर दौड पुरा गरेका थिए ।

पोखरा म्याराथनमा गैर आवाशिय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङ समेत दौडेकी थिइन । पोखरा म्याराथनको व्यवस्थित कार्यक्रम बाट आफू निकै प्रभावित भएको उनले बताइन । उनले संघका तर्फ बाट पोखरा म्याराथनका लागि नगद १ लाख सहयोग समेत गरिन । गैर आवाशिय नेपाली संघ हङकङकी अध्यक्ष टिका गुरुङले पोखरा म्याराथनका लागि २५ हजार नगद प्रदान गरेकी थिइन ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले शुभारम्भ गरेको उक्त प्रतियोगितामा ओलम्पियन बैकुण्ठ मानन्धरले विश्व शान्तिको कामना सहित पिस टर्च लियर दौडिएका थिए । मुख्यमन्त्री गुरुङ, प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश सांसद राजिव पहारी, पोखराका व्यवसायी अशोक पालिखेले लगायतले ५ किलोमिटर दौड पुरा गरेका थिए । पोखरा म्याराथनका लागि तमु धिं एसोसियसन युके, सहारा युके, वगर भाइ खलक युके लगाएतका संस्थाहरु बाट समेत सहभागिता जनाएका थिए ।

विजयी खेलाडीहरुलाई लक्ष्मी हाउसका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङ, संयोजक मञ्जु गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

विभिन्न दौड सहित रन फर फनमा पोखरा महानगरका मेयर मानबहादुर जिसी, गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ सहितका विभिन्न व्यक्तिहरु दौडमा सहभागि भएका थिए । धावकहरुलाई पोखरेलीहरुले विभिन्न ठाउँमा स्वागत गरेका थिए । उक्त प्रतियोगितामा प्रतिष्ठित औधोगिक प्रतिष्ठान लक्ष्मी गु्रप अन्तर्गत सुजल डेरीको उत्पादन सफल दुधले मुख्य प्रायोजन गरेको छ ।

समाचार श्रोतः पोखरा स्पोर्टस्, तस्विरः सुदर्शन रञ्जित

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ