बर्थ डे भोज निवासमा हो, सरकारी कार्यकक्षमा होइन: मुख्यमन्त्री गुरूङ (विज्ञप्ति सहित)

बर्थ डे भोज निवासमा हो, सरकारी कार्यकक्षमा होइन: मुख्यमन्त्री गुरूङ (विज्ञप्ति सहित)

cm bigyapti

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको एउटा भिडिओ शनिबारदेखि सामाजिक सञ्चाजमा चर्चामा छ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश ईञ्चार्जसमेत रहेका मुख्यमन्त्री गुरूङले कार्यकक्षमै मदिरासहितको भोज गरेको भनेर कतिपयले उनको आलोचना गरेका छन्।

सार्वजनिक भएका फोटो/भिडियोमा रक्सीको बोत्तल मुख्यमन्त्रीले हातमा लिएका छन्। उक्त कोठाको भित्तामा राष्ट्रपतिको फोटो र नेपालको राष्ट्रिय झण्डा पनि देखिन्छ। मुख्यमन्त्री गुरूङ सचिवालयले कार्यकक्षमा नभई जन्मदिनमा निवासमा पारिवारिक जमघट भएको उल्लेख गरेको छ।

उनको निजी सचिवालयका डिल्लीराम सिग्देलले आइतबार विज्ञप्ति निकालेर फागुन २ गते मुख्यमन्त्रीको जन्मदिन रहेको र उक्त दिन निवासमा साँझ पारिवारिक जमघट रहेको उल्लेख गरेका छन्।

‘गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई जोडेर सामाजिक सञ्जाल र विभिन्न संचार माध्यममा सार्वजनिक भिडियो, फोटो र समाचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ उनले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘फागुन २ मा मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनुभएको सन्दर्भमा पाहुना खानाको प्रबन्ध गरेको तथा उक्त दिन मुख्यमन्त्रीको जन्म दिनसमेत रहेकोले निवासमा साँझ पारिवारिक जमघटको व्यवस्था गरिएको थियो। सो क्रममा खिचिएका भिडियो र फोटाहरुलाई मुख्यमन्त्रीको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु बिडम्बनापूर्ण छ।’

विज्ञप्तिमा गुरुङ जातिको संस्कार अनुसारको पारिवारिक जमघटको क्रममा कुनै मर्यादा विपरीत कार्य नभएको उल्लेख गरिएको छ। ‘अतिरञ्जित गर्न खोजिएजस्तै त्यस्तो नियत पनि नरहेको स्पष्ट पार्न चाहान्छौ,’ उनले भनेका छन्, ‘कुनै भ्रममा नपर्न हामी आग्रह गर्दछौं।’

उक्त फोटो/भिडिओ पारिवारिक जमघटमा सहभागी आफन्तबाटै सार्वजनिक भएको थियो। मुख्यमन्त्री गुरुङ प्रमुख जिल्ला अधिकारी बस्नका लागि बनाइएको क्वाटरमा बस्दै आएका छन्। ‘तस्बिर राख्ने नातेदारलाई फोन गर्दा गल्ती गरेँ भन्यो,’ सचिवालयका एक सदस्यले भने, ‘निवासमा खाना खाने कार्यक्रमको फोटो राखेर कार्यकक्षको भनेर भ्रम फैलाएका रहेछन्।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ