तनहुँको कमलबारीमा दुई बस ठोक्किदा ४३ घाइते, चालकसहित ५ जनाको अवस्था गम्भीर

तनहुँको कमलबारीमा दुई बस ठोक्किदा ४३ घाइते, चालकसहित ५ जनाको अवस्था गम्भीर

Accident Kamalbari Tanahun

तनहुँ । तनहुँको व्यास १२ कमलबारीमा दुई बस ठोक्किदा दुर्घटना भएको छ । दमौलिबाट मुग्लिङ्ग तर्फ जादै गरेको ना ७ ख २०६ नम्बरको बस र डुम्रेबाट दमौली आउदै गरेको ना ५ ख २८५६ नम्बरको बस एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परि दुई बसको ४३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पृथ्वी राजमार्गमा भएको उक्त दुर्घटना घाइते भएकाहरुको दमौलि स्थित रत्नहरि अस्पतालमा २२ जना, एपोलो अस्पतालमा १३ र दमौली अस्पतालमा ३ जनाको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

ना ५ ख २८५६ नम्बरको बस चालक भरतपुर उपनगरपालिका १४ का ४६ वर्षीय ढकमणि महतो सहित ५ गम्भीर घाइतेलाई पोखरा र चितवन रिफर गरिएको छ ।

३ जना घाइतेलाई चितवन मेडिकल कलेज र २ जनालाई पोखरा स्थित मणिपाल अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

अहिले एकतर्फी सडक संचालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सडकमा भएको दुर्घटनाग्रस्त सवारी हटाउने काम भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँमा प्रमुख एसपी विनोद सिलवालले बताए ।

शनिबार मात्रै सोहि स्थानमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको थियो । मृत्यु हुनेमा व्यास-१२ को देउराली खानीगैह्राकी ५५ वर्षीय विष्णुमाया घर्ती रहेकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ