१८ औं आहा ! रारा गोल्ड कप: आयोजकलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

१८ औं आहा ! रारा गोल्ड कप: आयोजकलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

police

विभागीय नेपाल पुलिस क्लबले पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । अन्तिम मिनेट सम्हालिन नसक्दा पुलिसले जीतका लागि पेनाल्टी सुटआउटकै सहयोग लिनुपर्यो ।

पोखरा रंगशालामा शनिबार भएको प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा आयोजक सहारा क्लबलाई टाइब्रेकरमा ४–२ गोलको जित निकाल्दै ५ पटकको विजेता पुलिसले सेमिफाइनल यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीबाट १/१ को बराबरी खेलेपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा पनि दुबै टोलीले कुनै गोल नगरेपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा विभागीय पुलिस क्लबलाई भाग्यले साथ दियो । पुलिसका लागि भरत शाह, सौजन याक्खा राई, हेम तामाङ र सुमन सुवेदीले गोल गर्न सफल रहे । अनुप लिम्बुको सूटलाई सहाराका कीपर अर्पण कार्कीले उत्कृष्ट सेभ गरे ।

त्यस्तै, आयोजक सहाराका लागि आशिष गुरुङ र अजय श्रेष्ठको टाइब्रेकर सूटले मात्रै जाली चुम्यो । सहाराको तर्फबाट विदेशी उलरिच राम्जेको पहिलो टाइब्रेकर सूटलाई पुलिसका कीपर रोशन खड्काले विफल तुल्याए । त्यस्तै, सहाराकै त्रिदेव गुरुङको टाइब्रेकर सूट माथिल्लो क्रसबारमाथिबाट बाहिरियो । यसअघि, खेलको ७५ औं मिनेटमा भरत शाहको गोलबाट पुलिसले अग्रता लिएको थियो । भरतले डी–एरिया बाहिरबाट एक मात्र विपक्षी डिफेन्डर किरण मगरलाई छक्याउँदै उत्कृष्ट गोल गरे । निर्धारित समयमै करिब जित निकालेको पुलिस अन्तिममा सम्हालिन नसक्दा खेल अतिरिक्त समयमा धकेलियो । ईञ्जूरी समयको खेल सकिन केही सेकेन्ड बाँकी रहँदा आयोजक सहाराले गोल फर्काउँदै बराबरीको स्थितिमा पु¥यायो । घरेलु दर्शकको साथ पाएको सहाराका लागि सब्सीच्युट अजय श्रेष्ठले गोल फर्काएका थिए । उनले ९० जोड ४ मिनेटमा गोल फर्काउँदै खेललाई रोमाञ्चक मोडमा पुर्याएका थिए । मानबहादुर तामाङको क्रस बलमा अजयले उत्कृष्ट गोल गरेका थिए । सुमित श्रेष्ठको सट्टा मैदान छिरेका अजयले केही समयपछि नै गोल गर्न सफल बनेका थिए । पुलिसका कीपर रोशन खड्का खेलको ‘म्यान अफ दी म्याच’ बने ।

पुलिसका कप्तान भोला सिलवालले पाएको अवसरलाई टोलीका भरपर्दा खेलाडीले सदुपयोग गर्न नसक्दा आयोजकसँगको जित सहज नभएको प्रतिक्रिया दिए । त्यसमाथि, टोली अन्तिम समयमा सम्हालिन नसक्दा खेल टाइब्रेकरसम्म पुगेको उनको प्रतिक्रिया थियो । यता, उद्घाटन खेलमा दुई पटक पछि परेरपनि रोमाञ्चक जित निकाल्दै क्वार्टरफाइनल खेलेको सहाराका लागि भने टाइब्रेकर सूट अफापसिद्ध बन्यो । विभागीय जस्तो टिमसँग खेल्दा आफूले र आफ्ना खेलाडीले धेरै कुरा सिक्ने अवसर पाएको सहाराका प्रशिक्षक बिष्णु गुरुङले प्रतिक्रिया दिए । टोलीले निर्धारित समयमा बराबरीको नतिजा निकाल्न सक्नु नै टिमको राम्रो पक्ष रहेको उनको प्रतिक्रिया थियो । खेलको ११९ औं मिनेटबाट विभागीय पुलिसको १० खेलाडीले मात्र खेल खेल्यो । पुलिसका कप्तान भोला सिलवालले दोहोरो पहेँलो सहित रेड कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसअघि, मुख्य रेफ्री प्रकाशनाथ श्रेष्ठले ९० जोड २ औं मिनेटमा भोलालाई पहिलो पहेँलो कार्ड देखाएका थिए ।

भोलाले आफ्नो हरेक निर्णयमा बाधक बनेका कारण भोलालाई मैदान बाहिर पठाएको मुख्य रेफ्री श्रेष्ठले प्रतिक्रिया दिए । श्रेष्ठले भने, ‘रेफ्रीको हरेक निर्णयमा भोलाले प्रतिक्रिया र असन्तोष मात्रै जनाएकाले रेडकार्ड देखाएर उसलाई मैदानबाहिर पठाउनुपरेको हो ।’तर, कप्तान भोला सिलवालले भने रेफ्रीको केही निर्णयहरु अलि अपरिपक्व रहेकाले आफूले रेफ्रीसँग आग्रह मात्रै गरेको जनाए । उनले भने, ‘रेफ्रीको निर्णयमा चित्त बुझेन भने क्याप्टेनसीपको हिसावले आग्रह गर्न पाइन्छ । मलाई रेडकार्ड देखाउने कुनै कारण थिएन । पुलिसको टिममा आबद्ध रहेर १५ वर्ष फुटबल खेलें । त्यो भन्दा पहिले ५ वर्ष मोरङ जिल्लाको टिमबाट फुटबल खेलें । मेरो २० वर्षे फुटबल करियरमै यो पहिलो रेड कार्ड हो ।’

पुलिसले सेमिफाइनलमा सोमबार हुने क्वार्टरफाइनलिस्ट थ्री–स्टार र भारतीय सिक्किम गान्तोक सिटी क्लबबीचको विजेतासँग सेमिफाइनल खेल खेल्नेछ । सहिन स्मारक ‘ए’ डिभिजन लिग क्लब थ्री स्टार र सिक्किमको गान्तोक सिटी दुबै टिमले सिधा बाई पाएर प्रतियोगिताको क्वार्टरफाइनल खेल्ने भएका हुन् । आइतबार (भोली) झापा–११ र मनाङ मस्र्याङ्दीले प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेल खेल्नेछ । झापा–११ ले अन्तिम प्रि–क्वार्टरफाइनलमा विभागीय पुलिसलाई टाइब्रेकरमै हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको हो । मनाङ मस्र्याङ्दीले भने सिधा बाई पाएर प्रतियोगिताको क्वार्टरफाइनल खेल्ने भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ