१८ औं आहा ! रारा गोल्डकप: साविक विजेता थ्रीस्टार सेमिफाइनलमा, गान्तोक ३-० ले पराजित

१८ औं आहा ! रारा गोल्डकप: साविक विजेता थ्रीस्टार सेमिफाइनलमा, गान्तोक ३-० ले पराजित

three star

Photo: Goalnepal.com

पोखरा । खेलको उत्तरार्धमा आएर मात्र गोलको खडेरी तोड्दै डिफेण्डिङ च्याम्पियन रुस्लान थ्री स्टार क्लब १८ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । नेपालमै पहिलो पटक पोखरा रंगशालामा फुटबल खेल्न आएको पाहुना टोली भारतको गान्तोक सिटी फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै थ्री स्टारले विजयी यात्रा सुरु गरेको हो ।

पोखरा रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा थ्री स्टारका युवा खेलाडी सुशान श्रेष्ठले २ र सन्जोक राईले १ गोलको योगदान दिएका हुन् । सञ्जोक श्रेष्ठले खेलको ७९ औं मिनेटमा मैदानको मध्यभागबाट निशान खड्काको पास सदुपयोग गर्दै एक्लै अग्रता बढाउँदै विपक्षी पोष्टको जाली चुमाएका हुन् । कीपर निम्डुप लेप्चालाई बिट गर्दै गरेको प्रहारबाट उनले टिमलाई अग्रता दिलाए ।

थी्रस्टारले अग्रता लिएपछि लगातार उसको पक्षमा थप २ गोल निस्कियो । १४ मिनेटभित्रै उसले ३ गोल गर्न सक्यो । दोस्रो हाफको इञ्जुरी टाइममा अर्का युवा खेलाडी सुशान श्रेष्ठले २ गोल थपे । थप ३ मिनेटको दोस्रो मिनेटमा सुशानले २ डिफेन्डर छलाउँदै डि एरियाबाट गोल गरेका हुन् । तेस्रो मिनेटमा उनले थप अर्को गोल गरे । प्रतियोगितामा सुशान नै म्यान अफ दी म्याच घोषित भए ।

आहारारामा पाँचौ पटकको विजेता थ्रीस्टारले अब फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिष्पर्धा गर्नेछ । यो सिजनमा थ्रीस्टारले २ वटा खेलमा उपविजेतामै चित्त बुझाएको छ । पोखरामा भने उसले उपाधि रक्षा गर्ने दाउमा रहेको प्रशिक्षक मेघराज केसीले बताए । उनले विपक्षी खेल स्टामिना बुझ्ने क्रममा गोल निकाल्न कठिन बनेको प्रतिक्रिया दिए ।

विपक्षीको खेल कौशललाई पनि उनले प्रशंसा गरे । गोल चाहेकै अवस्थामा कहाँ हुन्छ र, अन्तिम मिनेटसम्म कुर्नु नै फुटबलको विशेषता हो, उनले भने ।आफ्नो टिममा युवा खेलाडीको बाहुल्यता रहेको उल्लेख गर्दै उनले दर्शकले ठूलो आशा गर्न नमिल्ने बताए । थी्रस्टारका कीपर विक्रम लामा, अनन्त तामाङ र मिक्छेन तामाङ मात्र पुराना खेलाडी हुन् ।

यता, पाहुना टोलीका प्रशिक्षक मायाल डोक लेप्चाले अफ्साइड भएको अवस्थामा भएको गोललाई रेफ्री प्रकाशनाथ श्रेष्ठले मान्यता दिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

मंगलबार हुने चौथो क्वाटरफाइनलमा संकटा क्लब र साविक उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।यसअघि, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब प्रतियोगिताको अन्तिम चारमा आफूलाई सुरक्षित पारिसकेका छन् । प्रतियोगिताको फाइनल १ चैतमा हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ