के हो ‘लक डाउन’ ?

के हो ‘लक डाउन’ ?

Lockdown

काठमाडौं । नेपालमा कोरोना संक्रमण रोक्न ‘लक डाउन’ को तयारीबारे छलफल भएको छ । कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति संयोजक उपप्रधानमन्‍त्री ईश्वर पोखरेलले कुनै पनि बेला ‘लक डाउन’ गर्नुपर्ने अवस्था आउनसक्‍ने बताउँदै आएका छन्।

गत शुक्रबार उच्चस्तरीय समन्वय समितिले कोरोना संक्रमण रोकथामका लागि १५ बुँदे निर्णय गरेको थियो। त्यसलाई ‘लक डाउन’ को रिहर्सलको रुपमा लिइएको थियो। स्कूल, कलेज, सिनेमा हल, क्लब, सभा समारोह, सांस्कृतिक पर्व तथा कार्यक्रमलगायतका सार्वजनिक स्थल र गतिविधिमा सरकारले रोक लगाइसकेको छ।

नागरिकलाई कम असुविधा हुने गरी ‘लक डाउन’ लागु गर्ने तयारी भइरहेको स्रोतले बतायो। ‘लक डाउन’ घोषण गरेका अन्य मुलुकको प्रचलन र अवस्था हेर्दा नेपालमा पनि ‘लक डाउन’ पहिलो चरण अलि सहज हुनेछ। कर्फ्युजस्तो कडा हुँदैन। सार्वजिनक स्थलमा हिडडुल गर्न प्रतिबन्ध लगाइए पनि बिहान तथा बेलुका निश्‍चित अवधि तोकेर बाहिर निस्कन र अति आवश्यक एवं दैनिक उपभोगका समान खरिद गर्न मौका दिइन्छ।

‘लक डाउन’को पहिलो चरणमा नाका सिल गर्ने, आपतकालीन अवस्था बाहेक नियमित सार्वजनिक यातयातको सेवा स्थगित गर्ने, होटल, रेष्टुरेन्ट, बार तथा डिपार्टमेन्टल स्टोर र सपिङ मलहरु बन्द गर्ने, अति आवश्यक सेवाबाहेक सार्वजनिक अड्डा र सेवा निश्चित समयका लागि स्थगित गर्ने, सरकारी अड्डाका जरुरी तथा आपतकालीन काम अनलाइनबाट गर्ने, नागरिकलाई घरमै सावधानी अपनाएर सुरक्षित बस्‍न आग्रह गर्ने, गम्भीर विरामीबाहेक अरुलाई अस्पताल नआउन आग्रह गर्नेलगायतका विषयमा छलफल भइरहेको छ। ‘लक डाउन’को अवधिमा नेपाली सेनालगायतका सुरक्षा निकायहरु परिचालन गरिनेछ।

नेपालका सबै अदालतहरु दुई हप्ताका लागि बन्द भइसकेका छन्।

पहिलो चरणको ‘लक डाउन’ पछि पनि अवस्था सामान्य नभए दोस्रो चरणमा ‘लक डाउन’ कडा हुनेछ। नागरिकलाई घरमै अनिवार्य रुपमा बस्‍न आग्रह होइन, आदेश दिइनेछ। आदेश उलंघन गरे कारबाही गर्ने व्यवस्था हुनेछ। यो महामारीबाट बच्‍न लागि एकान्तवास अथवा ‘आइसोलेशन’ मुख्य उपायका रुपमा लिइएको छ। कोरोनाबाट आक्रान्त भएका चीन तथा युरोपका देशहरुले पनि त्यो उपाय कार्यान्वयन गर्न ‘लकडाउन’ को निर्णय गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ