तनहुँमा ४७३ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

तनहुँमा ४७३ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

RDT Myagde Tanahun

तनहुँको म्याग्दे गाउँपालिकामा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बाट कोरोना परीक्षण गरिदै ।

तनहुँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भारस (कोभिड–१९) को सङ्क्रमण पत्ता लगाउन तनहुँका टोल–टोलमा पुगेर आरडिटी (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) विधिबाट दुर्त परीक्षण गरिएको छ ।

आइतबारदेखि शुरु भएको दुर्त परीक्षणका क्रममा बिहीबारसम्म ४ सय ७३ जनामा परीक्षण गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

विदेशबाट फर्किएर घरमा बसिरहेकाहरुमा कोरोना जाँच गर्नका लागि जिल्लाका दश वटै स्थानीय तहका टोल–टोलमा दुर्त परीक्षण भइरहेको छ ।

परीक्षण गरिएकामध्ये सबैमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार परीक्षण गरिएकामध्ये ४ सय २२ पुरुष र ५१ महिला छन् ।

कोरोना परीक्षणका लागि सम्बन्धित स्थानीय तहबाट तालीमप्राप्त स्वास्थ्यकर्मी खटिएका छन् ।

‘टोल-टोलमा पुगेर कोरोना जाँच गर्ने व्यवस्था मिलाइएका छौ’ प्रमुख अधिकारीले भने, ‘कतिपयको भने घरमै पुगेर पनि कोरोना जाँच गरिएको छ ।’

स्थानीय तहका वडाका अध्यक्षहरुले कोरोना जाँचका लागि सहजीकरण गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तनहुँको व्यास नगरपालिकाका ९१, भानु नगरपालिकाका ४१, शुक्लागण्डकी नगरपालिकाका ६७, भीमाद नगरपालिकाका ७२, म्याग्दे गाउँपालिकाका ३६, बन्दिपुर गाउँपालिकाका १५ र आँबुखैरेनी गाउँपालिकाका १४, देवघाट गाउँपालिकाका ३४, घिरिङ गाउँपालिकाका ४० र ऋषिङ गाउँपालिकाका ६२ जनाको परीक्षण भइसकेको छ ।

गण्डकी प्रदेश सरकारले परीक्षणका लागि आवश्यक किट उपलब्ध गराएपछि जिल्लाका सबै स्थानीय तहमा र्‍यापिड डाइग्नोष्टिक टेष्ट भइरहेको छ ।

गण्डकी प्रदेश सरकारले जिल्लाका लागि ६ सय ४२ थान किट पठाएको छ । स्वास्थ्य कार्यालयले भानु नगरपालिकालाई ६०, व्यास नगरपालिकालाई १ सय २०, शुक्लागण्डकी नगरपालिकालाई १ सय, भीमाद नगरपालिकालाई ८५, म्याग्दे गाउँपालिकालाई ४०, घिरिङ गाउँपालिकालाई ४५, ऋषिङ गाउँपालिकालाई ६५, देवघाट गाउँपालिकालाई ३०, बन्दीपुर गाउँपालिकालाई २५, आँबुखैरेनी गाउँपालिकालाई २५ थान किट उपलब्ध गराएको छ ।

विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गरिने र त्यसका लागि सम्बन्धित स्थानीय तहबाट तालीम प्राप्त स्वास्थ्यकर्मी खटाइएको छ । अधिकारीका अनुसार विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा १४ दिनदेखि २१ दिनसम्म बसेका सर्वसाधारणको द्रुत परीक्षण गरिनेछ ।

गण्डकी प्रदेश सरकारले एक महिनायता नेपाल आएको प्रदेशभित्रका तीन हजार ७५० जनाकै दु्रत परीक्षण गर्ने अभियान सञ्चालन गरेको छ ।

द्रुत परीक्षणमा पोजेटिभ देखिएको अवस्थामा पुनःपरीक्षणका लागि ल्याबमा पठाइनेछ । दु्रत परीक्षणबाट १५ मिनेटमै कोरोना भाइरसको परीक्षण गर्न सकिने भएकाले छोटो अवधिमै धेरै जनामा परीक्षण गरी जोखिमलाई न्यूनीकरण गराउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

कोभिड–१९ को आशङ्कामा जिल्लाका हालसम्म पाँच जनाको स्वाब परीक्षण गरिएको छ । भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका एक÷एक जनाको स्वाब परीक्षण गरिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

विदेशबाट फर्किनेको संख्या ७५४

चैत १ गतेदेखि जिल्लामा विदेशबाट आउनेको सङ्ख्या ७ सय ५४ छ । भारत लगायत तेस्रो मुलुकबाट जिल्ला आउनेमध्ये भानु नगरपालिकामा ८२, व्यास नगरपालिकामा १ सय ६९, म्याग्दे गाउँपालिकामा ४३, शुक्लागण्डकी नगरपालिकामा १ सय २४, भीमाद नगरपालिकामा १ सय १३, घिरिङ गाउँपालिकामा ६२, ऋषिङ गाउँपालिकामा ८५, देवघाट गाउँपालिकामा ३४, बन्दीपुर गाउँपालिकामा १८ र आँबुखैरेनी गाउँपालिकामा २१ जना छन् ।

स्थानीय तहको क्वारेन्टाइन खाली

विदेशबाट फर्किएकालाई राख्न जिल्लाका स्थानीय तहले बनाएको सबै क्वारेन्टाइन खाली छन् । विदेशबाट फर्किएकालाई निगरानीमा राख्नका लागि जिल्लाका दश वटा स्थानीय तहले क्वारेन्टाइन बनाएपनि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या शुन्य छ ।

जिल्लाभर कूल १ सय ७६ शैय्याको क्वारेन्टाइन बनाइएको छ । व्यास नगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा दुई जना बसेपनि उनीहरु हालै स्वास्थ्य परीक्षणपछि घर फर्किएका छन् । हाल उक्त क्वारेन्टाइनमा कोही पनि छैनन् ।

देवघाट गाउँपालिकाले धर्मार्थ अस्पतालमा बनाएको क्वारेन्टाइनमा एक जना मात्रै छन् । भारतबाट तीन दिनमा हिँडेरै देवघाट आइपुगेका ती व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए ।

तनहुँको व्यास नगरपालिकाले १३, भानु नगरपालिकाले २०, शुक्लागण्डकी नगरपालिकाले २३, भीमाद नगरपालिकाले १०, म्याग्दे गाउँपालिकाले ५, बन्दीपुर गाउँपालिकाले २८ र आँबुखैरेनी गाउँपालिकाले १० ऋषिङ गाउँपालिकाले २०, घिरिङ गाउँपालिकाले २५, देवघाट गाउँपालिकाले २० श्ययाको क्वारेन्टाइन निर्माण गरेका छन् ।

४६ श्ययाको आइसोलेसन

जिल्लाका विभिन्न अस्पतालमा ४६ श्ययाको आइसोलेसन कक्ष बनाइएको छ । म्याग्दे गाउँपालिकामा पाँच, व्यास नगरपालिकामा आठ, शुक्लागण्डकी नगरपालिकामा २९ र बन्दीपुर गाउँपालिकामा आठ श्ययाको आइसोलेसन कक्ष तयारी अवस्थामा छ ।

जिल्लामा भारत, दुवई, मलेसिया, माल्दिभ्स, जापान, कतार, श्रीलङ्का, अष्ट्रेलिया लगायतबाट घर फर्किने धेरै रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ